coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विज्ञ टोलीद्वारा बोइङको अवस्था अध्ययन

काठमाडौं – स्विजरल्यान्डको विज्ञ टोलीले नेपाल वायुसेवा निगमले बेच्न खोजेको ३० वर्ष पुरानो बोइङ जहाज (गण्डकी) को अवस्था अध्ययन गरेको छ । जहाज मूल्यांकनका लागि अवस्था अध्ययन गर्न आएको फिन्टेक कम्पनीको टोली काम सकेर स्वदेश फर्किसकेको निगमले जनाएको छ। 

टोलीले तीन सातापछि प्रारम्भिक प्रतिवेदन दिने निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । ‘टोलीले बोइङ इन्जिनको अवस्था अध्ययन गरेर फर्किसकेको छ,’ कंसाकारले भने, ‘आधिकारिक प्रतिवेदनपछि मात्रै त्यसलाई कति मूल्यमा बेच्न सकिन्छ भन्ने प्रस्ट हुन्छ।’

अध्ययन टोली फर्केको दुई महिनाभित्र निगमले आधिकारिक मूल्यांकन प्रतिवेदन पाउने कंसाकारले जानकारी दिए । ‘प्रतिवेदनकै आधारमा जहाज लिलामी गर्न ग्लोबल टेन्डर आह्वान गर्छौं,’ महाप्रबन्धक कंसाकारले भने, ‘यसअघि बेचेको बोइङभन्दा बढीमा बिक्री हुने अपेक्षा छ । सकभर सन् २०१८ को डिसेम्बरभित्र बोइङ बिक्री गरी सक्छौं।’

१ सय ९० सिट क्षमताको ३० वर्ष पुरानो कलसाइन ९ एन–एसिबी भएको बोइङ अहिले पनि सञ्चालनमा छ । यसमा आरबी २११–५३५ ई ४ मोडेलका दुई थान इन्जिन छन् । बोइङले बैंकक, दोहा, दुबई, क्वालालम्पुर, दिल्ली, हङकङ, मुम्बई र बैंगलोर उडान गरिरहेको निगमका महाप्रबन्धक कंसाकारको भनाइ छ।

‘निगमले बोइङ मूल्यांकनका लागि सार्वजनिक रुपमा वैशाख २६ गते प्रस्ताव आह्वान गरेको थियो । यसमा बेलायतको इन्टरनेसनल एभिएसन ग्रुप, सिंगापुरको फ्लाइट ग्लोबल, स्विजरल्यान्डको फिन्टेकले प्रस्ताव पेस ग¥यो,’ महाप्रबन्धक कंसकारले भने, ‘स्विजरल्यान्डको फिन्टेक छानियो।’

इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङ (आइएसटिएटी) बाट मान्यताप्राप्त कम्पनीले मात्र प्रस्ताव पेस गर्न पाउने भएकाले थोरै प्रस्ताव गरेको कंसाकारको भनाइ छ । निगमले ३० वर्ष पुरानो अर्को जहाज कर्णाली ९ एन–एससए बोइङ गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टको बिबी एयरवेजलाई बेचेका छ । उक्त विमान बिबीलाई १४ करोड ७४ लाख रुपैयाँमा बिक्री गरेको थियो।  

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा ‘न्यारो बडी’ एयरबस ३२०–२०० र दुईवटै ‘बाइड बडी’ एयरबस ३३०–२०० छन् । एयरबसलाई निगमले जापान, कोरिया, साउदी लगायत गन्तव्यमा उडाउने लक्ष्य राखेको छ। 

निगमको काठमाडौं–बैंकक–कोलम्बो उडान 
नेपाल वायुसेवा निगमले काठमाडौं–बैंकक–कोलम्बो उडान गर्ने भएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले काठमाडौंबाट बैंकक हुँदै कोलम्बोसम्म उडान गर्ने निर्णय गरेको हो । उक्त जहाज कोलम्बोबाट बैंकक हुँदै काठमाडौं फर्कने महाप्रबन्धक कंसाकारले जानकारी दिए। 

उक्त रुटमा सेवा सुरु गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्न टोली गठन गरेको कंसाकारले जानकारी दिए । टोलीले धार्मिक पर्यटक, सार्क राष्ट्रका पर्यटकलाई कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । सम्भाव्यता अध्ययनको प्रतिवेदन आएपछि काठमाडौं–बैंकका–कोलम्बो उडान गर्ने कंसाकारको भनाइ छ । प्रतिवेदन आउन दुई महिना लाग्ने बताइएको छ। 

अल्टिच्युडको हेलिकप्टर दुर्घटना छानबिन गर्न आयोग
अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाको विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा आइतबार ३ सदस्यीय समिति गठन गरेको हो। 

आयोगका सदस्यहरुमा वरिष्ठ क्याप्टेन सिद्धार्थजङ गुरुङ (सिम्रिक एयर) र वरिष्ठ इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ (समिट एयर) रहेका छन् । सदस्य सचिव भने आयोगले नै तोक्ने मन्त्रालयले जनाएको छ। 

शनिबार नाइनएन–अल्फा लिमासेरा कलसाइन नामको उक्त हेलिकप्टर दुर्घटनामा क्याप्टेन निश्चल केसीसहित ६ जनाको मृत्यु भएको थियो । मन्त्रालयले आइकाको अनुसूची १३ को दुर्घटना अनुसन्धानमा रहेको व्यवस्था तथा गैरसैनिक हवाई उडान नियमावली २०७१ को नियम १० बमोजिम उक्त दुर्घटनाको छानबिन गरी सुरक्षा सिफारिस सहितको प्रतिवेदन तत्काल बुझाउन  निर्देशन दिएको छ। 

प्रकाशित: २५ भाद्र २०७५ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App