coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

तीजको बदलिँदो ट्रेन्ड

तीज हिन्दू नारीहरूको मुख्य पर्व हो । तीजमा नारीहरू शीरदेखि पाउसम्म रातै भएर शृंगारिने चलनमा फरकपन आएको पाइन्छ । तीज मनाउने तौरतरिकामा परिवर्तन आएको बताउँछिन्, तुनाज फेसन इन्सिट्युट एन्ड बुटिकमार्टकी सञ्चालिका हुन्, कविता पोखरेल । कुपन्डोलमा रहेको तुनाज फेसन इन्स्च्यिुट एन्ड बुटिकमार्टमा फेसन डिजाइनको ट्रेनिङसँगै नयाँ–नयाँ डिजाइनको कपडा तयार गरिन्छ । फेसन डिजाइनर कविता भन्छिन्, ‘तीज भन्नेबित्तिकै रातो साडी नै लगाउनुपर्छ भन्ने मान्यता हराउँदै गएको छ, रातोको विकल्पमा आफूलाई मनपर्ने रङ सुहाउदो पोसाक लगाउने ट्रेन्ड बढेको पाइन्छ ।’ साडीमा पनि निकै चमकधमक भन्दा सालीन रंगको फल साडी विशेष चलेको उनी बताउँछिन् । तीजमा महिलाले साडी नै लगाउनुपर्छ भन्ने मान्यता परिवर्तन भएको उनी अनुभव सुनाउँछिन् । ‘समयसँगै फेसनमा पनि ठूलो फेरबदल आएको छ, लगाउने तरिकामा पनि परिवर्तन भएको छ, फेसनमा आरामदायी र अरुभन्दा फरकपन खोज्ने ट्रेन चलेको छ,’ उनले भनिन्।

तीज सबै उमेरका महिलाहरूले मनाउने गर्छन् । विवाहित र अविवाहित सबै उमेरका महिलाले कपडा रोजाइमा निकै फरक आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘यसपाली तीजमा साडी बाहेक लङ अम्ब्रेला कुर्ती, लेहेंगा र ड्रेसको माग राम्रो रहेको छ ।’ विवाहित महिलाले रातोको सट्टामा सुन्तला रङ, कलेजी रङ, रानी रङ, हल्का गुलाफी रङ रुचाउने उनी अनुभव सुनाउँछिन्।

रोयल ब्लु, ब्याक, लाइट ब्लु, पिंक, डार्क ब्राउन रङ अविवाहित महिलाको रोजाइमा पर्ने उनी बताउँछिन्।

बदलिँदो समयसँगै महिलाहरूको रोजाइमा पनि फरकपन देख्न सकिन्छ । तीजमा साडी नै लगाउनुपर्छ भन्ने मान्यताको अन्य भएको मान्न सकिन्छ । लङ वानपिस, लेहेंगा, अम्ब्रेला कुर्ती, साडी समाल्न असहज मान्ने महिलाहरूको रोजाइमा परेको बताउँछिन्, आरभ कलेक्सनकी सञ्चालिका अनिला श्रेष्ठ । तीजमा विशेष उपहार स्वरूप साडी नै दिने प्रचलनमा केही फरकपन आएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘साडीको फेसनमा परिवर्तन आएको पाइन्छ, हलुका खालको साडीहरूको माग बढी रहेको छ ।’ रातो रङको साडी मात्र नभएर अन्य रङका साडीमा आकर्षण बढेको उनी बताउँछिन् । साडीको डिजाइन, रङ र कपडा रोजाइमा निकै परिवर्तन आएको उनले बताइन् । अघिपछि साडी लगाउने अवसर नजुरेका महिला भने तीजको बेलामा साडी लगाउने रहर भएका महिलाहरूको जमात पनि कम नरहेको उनी बताउँछिन् । ‘दैनिक कामकाजी महिलाहरू चाडपर्वमा फरक लुक्समा सजिन चाहनेहरू भने साडी लगाउन रुचाउँछन्,’ उनले भनिन्।

कतिपय महिलाहरू रातै साडी, चुरा पोतेले शृंगारिएर दर खान व्यस्त छन् । पाटनकी गीता थापा व्यापारी हुन् । अन्य समयमा यता–उता जाने समय नपाउने गीता भने हिजोआज दर खान व्यस्त छिन् । गीताको टेलर छ, उनी लुगा सिलाउँछिन् । दिनभर लुगा सिलाउन व्यस्त भए पनि साँझ भने आफन्त, साथीभाइकहाँ दर खान जाने उनी बताउँछिन्।

‘चाडको समय छ, लुगा सिलाउनेको पनि त्यस्तै घुइँचो छ । तर, के गर्नु आफुले पनि चाड त मान्नैपर्यो यसो साँझको समय मिलाएर दर खान जान्छु,’ उनले भनिन् । अरुबेलामा पनि खानका परिकारहरू खान जाने आउने गरे पनि तीजको बेला खाँदा छुट्टै रमाइलो अनुभव हुने उनी बताउँछिन् । तीजको लागि भनेर कुर्ता, सुरवाल, ब्लाउजका डिजाइन बनाउनेदेखि साडीमा फल्स हाल्लेको भीड हुने उनी बताउँछिन् । साना नानीदेखि पाका उमेरका महिलाहरू तीजका लागि नयाँ लुगा सिलाउन आउने गरेको उनले सुनाइन्।

अघिपछिको समय भन्दा तीजमा महिलाहरू सजिएको देख्न सकिन्छ । त्यति मात्र होइन, विभिन्न डिजाइनका साडीका सेट, कुर्ता सुरवाल, वान पिस, लेहेंगाले बजारका बुटिक, कपडा पसलहरू झपक्कै भएको देख्न सकिन्छ । अन्य समयभन्दा तीजको बेलामा रातो रङको कपडाको माग हुने बताउँछिन्, असनकी व्यापारी सरु खड्का।

काभ्रेकी सरुले काठमाडौंमा व्यापार गर्न थालेको पाँच वर्ष भइसक्यो । उनी कुर्तीका फरक–फरक डिजाइनको व्यापार गर्छिन् । उनका अनुसार कुर्तीको मूल्य आठ सय ९० रूपैयाँदेखि सुरु हुन्छ । पछिल्लो समय कुर्तीको निकै राम्रो व्यापार हुने उनी बताउँछिन् । नयाँ डिजाइनको कुर्तीले बजार ढाकेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘विवाहित÷अविवाहित सबैको रोजाइमा छ कुर्ती । प्लाजो, जिन्स, लेडिज हरेकसँग लगाउन मिल्ने भएकाले निकै राम्रो माग रहेको छ ।’ रातो, सुन्तला, रानी, पहेलो र हरियो कुर्ती हरेक उमेरका महिलाले किन्ने गरेको उनी बताउँछिन्।

‘कटन र सिल्क मिक्स भएको लामो कुर्ती, चिकेन कडाई र तुने कुर्ती विशेष रोजाइमा परेको छ,’ उनले भनिन् । कुर्ती रोजाइमा निकै परिवर्तन आएको उनी अनुभव सुनाउँछिन् । छोटो कुर्ता सुरवालभन्दा लाम्रो अम्रेला डिजाइनको कुर्ती लगाउन रुचाउनेको जमात बढेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘छोटो कुर्ताहरू त यसपाली हराएरै गइसक्यो, लामो नै लगाउने फेसन चलेको छ।

पाटनकी सोनी मालाकार यसपालीको तीजमा लंग कुर्ती र ग्रञ्ज पेन्ट लगाउने योजनामा रहेको बताउँछिन् । निजी संस्थामा कार्यरत उनी अफिसको कार्यक्रममा प्रायः साडी लगाउने बताउँछिन् । ‘यसपालीको तीजमा भने चिकेन कडाईको सुन्तला रंगको कुर्ती लगाउँछु,’ उनले भनीन् । नेवारी समुदायमा भएकाले खान मनाउने चलन नभए पनि फुपू, दिदी, बहिनीहरूसँग नाचगान र खानपान गरेर मनाउने उनको योजना छ।

प्रकाशित: २५ भाद्र २०७५ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App