न्युयोर्क – सेरेना विलियम्सलाई हराउँदै शनिबार युएस ओपनको उपाधि उचालेकी नाओमी ओसाका ग्रान्ड स्लामको उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी छिन्। २४औं ग्रान्ड स्लाम उपाधिबाट वञ्चित भएकी सेरेनाले चेयर अम्पायरलाई ‘चोर’ को आरोप लगाएकी छिन्।
२०औं वरीयताप्राप्त ओसाकाले अमेरिकाकी सेरेनालाई ६–२, ६–४ को सेटमा हराएकी हुन् । कोर्टबाट प्रशिक्षकसँग कुरा गरेपछि अम्पायर कार्लोस रामोसले सेरेनालाई चेतावनी दिएका थिए । त्यसपछि उनी अम्पायरसँग क्रुद्ध बनेकी थिइन्।
-याकेट फालेका कारण रेफ्रीले पेनाल्टी दिँदै अंक खोसेपछि सेरेना रिसले आगो भएकी थिइन्। आँखाभरि आँसु बनाएकी सेरेनाले ‘चोर’ भनेर आरोप लागएकी थिइन्। ‘तपाई मेरो चरित्रमाथि खनिनुभएको छ,’ सेरेनाले थपिन्, ‘अर्को कोर्टमा कहिल्यै हेर्दिनँ । तपार्इं ढटुवा हो।’
सेरेनाले गाली गर्न थालेपछि तेस्रो पटक खेलभावनाको उल्लङ्घन गरेको भन्दै पेनाल्टी दिइएको थियो। त्यसपछि ओसाका दोस्रो सेटमा ५–३ को अवस्था पुगिन् । गहभरि आँसु बनाउँदै अर्को अंक बटुलेकी सेरेनाले सुपरभाइजरसँग दुखेसो पोखेकी थिइन् । तर, जितनजिक रहेकी ओसाकाले अर्को एक अंक थप्दै आफ्नो देशका लागि ऐतिहासिक जित निकालिन्।
‘मलाई अझै पनि यो साँचो हो जस्तो महसुस भएको छैन । सम्भवत केही दिनपछि मात्र मैले हासिल गरेको उपलब्धिको महसुस हुनेछ,’ विवादित अंकबारे ओसाकाले भनिन्, ‘जब मैले बोर्डमा हेर्दा ५–३ को स्कोर थियो । म आफैं दोधारमा परेकी थिएँ । त्यसपछि मैले खेलमा ध्यान केन्द्रित गरें । किनकि उनी उत्कृष्ट खेलाडी हुन् र जति बेला पनि पुनरागमन गर्न सक्थिन्।’
२०१७ सेप्टेम्बर १ मा छोरी ओलम्पियालाई जन्म दिएपछि सेरेना पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा थिइन् । तर मार्गरेट कोर्टको कीर्तिमान (२४ ग्रान्ड स्लाम उपाधि) सँग बराबरी गर्नबाट उनी चुकिन्।
उद्घोषिकाले ट्रफी लिनका लागि ओसाकाको नाम लिएपछि समर्थकले रंगशाला गुुञ्जायमान बनाएका थिए । ओसाकाले खुसीको सीमालाई रोक्न सकिनन्, जुन आँसु बनेर बाहिर आएको थियो । सेरेनाले पनि युवा खेलाडीको जितमा सम्मान व्यक्त गरिन् । ‘उनले उत्कृष्ट खेलिन्,’ ओसाकाको प्रशंसा गर्दै सेरेनाले भनिन्, ‘यो उनको पहिलो ग्रान्ड स्लाम उपाधि हो । यस क्षणलाई हामी सक्दो विशेष बनाऔं।’
ओसाका बोल्ने बेलामा उनी आफैंभित्र हराएकी थिइन् । सेरेनातिर हेर्दै उनले भनिन्, ‘सधैं मेरो युएस ओपनको फाइनलमा सेरेना विलियम्सविरुद्ध खेल्ने सपना हुन्थ्यो । उनीविरुद्ध खेल्न पाउँदा साँच्चिकै गर्व लागेको छ।’
सेरेनाको व्यवहारले ओसाकाको उत्कृष्ट प्रदर्शनलाई छायामा पारिदियो । मार्चमा इन्डियन वेल्सको उपाधि जितेकी ओसाकाको करियरमा यो दोस्रो उपाधि हो । ओसाकाको जितसँगै जापानमा खुसी छाएको छ । प्रधानमन्त्री सिन्जो अवेले बधाई दिएका छन् । प्रधानमन्त्रीले ट्विटरमा लेखेका छन्, ‘युएस ओपन जितेकोमा बधाई छ । ग्रान्ड स्लामको उपाधि जित्ने पहिलो जापानी खेलाडी बनेकी ओसाकाले सम्पूर्ण जापानलाई ऊर्जा र प्रेरणा प्रदान गरेकी छिन्।’
प्रकाशित: २५ भाद्र २०७५ ०३:१८ सोमबार