८ वैशाख २०८१ शनिबार
अन्य

थालियो निर्माण प्रक्रिया

काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने घोषणा गरेको साढे दुई वर्षपछि पार्किङ निर्माणको आशयपत्र खुलाएको छ। महानगरपालिकाले आर्थिक वर्ष २०७३–७४ को नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ बनाउने योजना अघि सारेको थियो।

महानगरपालिकाले योजना अघि सारेको झण्डै साढे दुई वर्षपछि सार्वजनिक सूचना जारी गरेर स्मार्ट पार्किङ निर्माणको लागि एकल वा संयुक्त कम्पनीले आशयपत्र दर्ता गर्न अनुरोध गरेको छ। महानगरपालिकाले न्युरोडको धर्मपथमा रहेको जग्गामा पार्किङस्थल बनाउन लागेको हो।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङ डिएफबिओटी मोडेलमा निर्माण गर्न लागेको बताए । ‘सार्वजनिक निजी साझेदारीमार्फत् स्मार्ट पार्किङ निर्माण गर्न लागेका हौं,’ उनले भने, ‘निर्माण कम्पनीले डिजाइन तय गरेर महानगरपालिकामा पेश गर्नेछ। महानगरपालिकाले आवश्यक पर्ने सम्पूर्ण मापदण्ड पूरा गरेको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।’

महानगरपालिकाले असोज १ गतेसम्म एकल तथा जोइन्ट भेन्चर कम्पनीलाई पार्किङ निर्माणको आशयपत्र बुझाउन आह्वान गरेको छ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाई प्रमुख महेश काफ्लेले न्युरोडस्थित धर्मपथमा अत्याधुनिक स्मार्ट पार्किङ निर्माण गर्न लागिएको बताए । ‘स्मार्ट पार्किङ बनेसँगै न्युरोड क्षेत्रमा भद्रगोल पार्किङ हट्नेछ,’ उनले भने, ‘स्मार्ट पार्किङमा पाँच सय वटा सवारीसाधन पार्किङ गर्न सकिनेछ।’

स्मार्ट पार्किङ बनाउन धर्मपथमा एक रोपनी ११ आना र टेकुमा सात रोपनी जग्गा उपलब्ध गराउने महानगरले जनाएको छ। महानगरपालिकाले आर्थिक वर्ष ०७४–७५ को नीति तथा कार्यक्रममा ‘भर्टिकल कार पार्किङ र अन्डरग्राउन्ड पार्किङ’ समावेश गरिएको छ।

महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले स्मार्ट पार्किङ उच्च प्राथमिकतामा राखेको बताए। ‘उपत्यकामा जताततै अव्यवस्थित पार्किङले सवारीसाधन अस्तव्यस्त देखिएको छ,’ उनले भने।

इकाई प्रमुख काफ्लेका अनुसार पार्किङको प्रवेशद्वारमा ३० प्रतिशत हरियाली र सौन्दर्यकरण गर्नुपर्नेछ। पार्किङ स्थलमा पहुँचयुक्त, पैदलयात्रीमैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेसन, कार सफाइ तथा मर्मत सुविधा, पार्किङ सेन्सर, विद्युतीय टिकट संकलन तथा भुक्तानी पद्धति, गतिविधिलाई रियल टाइममा मोनिटरिङ गर्ने लगायत सुविधा हुनेछन्।

काठमाडौं महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्मार्ट पार्किङ र सार्वजनिक शौचालय तथा इ–ट्वाइलेट बनाउने योजना सार्वजनिक गरेको थियो। तर, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको दुई वर्ष एक वर्ष बित्न लाग्दा पनि काम सुरु हुन सकेको छैन।

‘स्मार्ट शौचालय निर्माणका लागि दुई पटक टेन्डर गरिसक्यौं। तर, काम गर्न सक्ने ठेकेदार कम्पनी आएकै छैनन्,’  इकाई प्रमुख काफ्लेले भने, ‘इ–ट्वाइलेटको योजना अघि बढिसक्यो । अबको केही समयभित्रै टेन्डर प्रक्रिया अघि बढाउनेछौं।’

महानगरका सार्वजनिक स्थानहरूमा ५०–५० स्मार्ट सार्वजनिक शौचालय र इ–ट्वाइलेट निर्माण गर्ने उल्लेख छ।

यस्तो छ महानगरले प्रस्ताव गरेको शौचालय
काठमाडौं महानगरपालिकाले प्रस्तावित गरेको आधुनिक शौचालय रोटोमोल्डिङ प्रविधिमा आधरित हुनेछ । सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख काफ्लेका अनुसार अत्याधुनिक शौचालय टिकाउ र मजबुत हुनुका साथै सूर्यबाट आउने हानिकार यूभी विकिरणहरूबाट सुरक्षित छ। ‘आधुनिक प्रविधिमा आधारित शौचालय एक सय १० किलोग्रामको हुनेछ।

जुनसुकै सार्वजनिक स्थलमा समेत राख्न सकिनेछ,’ उनले भने, ‘शौचालयमा पानीको ट्यांकीको साथसाथै फोहोर संकलन गर्ने टयांकी समेत हुनेछ।’ उक्त शौचालय एक सय १० किलोग्रामको हुनेछ। त्यसैगरी फोहोर ट्यांकीको क्षमता दुई सय ९० लिटरको हुनेछ । उक्त शौचालयमा सौर्य ऊर्जाबाट चल्ने बत्ती तथा भेन्टिलेसन पुरुषहरूको लागि युनिरल पनि जडान गरिएको हुन्छ। हात हुने, बेसिन ट्वाइलेट पेपर स्टयान्ड ऐना लगायतका सामग्री हुनेछ। काठमाडौं महानगरपालिकासँग भने अनधिकृत रूपमा पार्क गरेका मोटरसाइकल उठाउने दुईवटा गाडी छन्। महाशाखासँग चारपांग्रे सवारी उठाउने एउटा -याकर मात्रै छ। ट्राफिक प्रहरीसँग अनधिकृत रूपमा पार्किङ गरिएका चारपांग्रे सवारी उठाउने -याकर नभएकाले ‘ह्विल लक’ गर्दै आइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०७५ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App