coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न माग

चितवन - भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ। उपचार नपाएर बालकको मृत्यु हुनु खेदजनक भएको भन्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। घटनाको अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्ती र दोषीलाई कारबाही हुनुपर्ने माग मञ्चले राखेको छ।

अस्पताल नै अस्पताल भएको महानगरमै सर्पले टोकेको बिरामीको उपचार हुन नसकेर मृत्यु हुनु जनस्वास्थ्यप्रति चरम लापरबाही भएको मञ्चका कार्यवाहक अध्यक्ष विष्णु भुसालले बताए। सलिनलाई यही भदौ २१ गते राति दुई बजे घरमै सर्पले टोकेको थियो । दाइको नाति सलिन राति बेस्सरी रोएपछि बलराम विक हेर्न गएका थिए। साढे २ बजे हेर्दा औंला सुन्निएको देखे । पोलेर सुन्निएछ कि भन्ने उनले अड्कल गरे। तर, ओच्छ्यानमा करेंत सर्प देखेपछि बच्चालाई लिएर अस्पताल आएको बलराम बताउँछन्।

‘मेडिकल सिटी भन्ने, यस्तो घटना हुने?’ चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, यो घटना गम्भीर र खेदजनक छ। अस्पतालसँग स्पष्टीकरण लिन्छौं र कारबाही अगाडि बढाउने सम्बन्धमा विचार गर्छौं।’

साढे ३ बजे भरतपुर अस्पताल आइपुगेका उनलाई इमरजेन्सी टिकट काट्न भनेपछि उनी टिकट लिन गए । टिकट लिएर आउँदासम्म बच्चालाई चिकित्सकले नहेरेको उनको आरोप छ। ‘बच्चाल सिरियस् हुन लागिसक्यो, किन नहेरेको भनेपछि मात्र अर्को डाक्टरलाई बोलाए,’ उनी सुनाउँछन्, ‘आएका डाक्टरले बच्चालाई छुँदै छोएनन्, भेन्टिलेटर छैन, पुरानो मेडिकल कलेज लैजानु भने ।’

त्यसपछि बिरामी बालक लिएर पुरानो मेडिकल कलेज पुगेका उनलाई सर्पले टोकेको उपचार यहाँ नहुने भन्दै सरकारी नै लैजान भनियो। सरकारी अस्पतालले नै पठाएर आएको कागज देखाएपछि नारायणी सामुदायिक अस्पताल लैजान भनिएको बलराम बताउँछन्।

नारायणी अस्पताल पुगेपछि त्यहाँबाट पनि फेरि सरकारी अस्पताल जान भनियो। सरकारी अस्पतालबाटै पठाएको भनेपछि निको बाल अस्पताल जान भनियो । उनी हत्तार–हत्तार निको अस्पताल पुगे । तर, त्यहाँका डाक्टरले पनि यसको उपचार सरकारी अस्पतालमै हुने हो भने भन्दै त्यहाँ नभए नयाँ मेडिकल कलेज (सिएमसी) मा लैजानु भनेको उनी बताउँछन् । निको अस्पताल पारिपट्टि रहेको सिएमसीले पनि सर्पदंशको उपचार सरकारी अस्पतालमा मात्रै हुने भन्दै फर्काएको बलरामले सुनाए।

जहाँ लगेपनि केको बिरामी भनेर सोध्ने, सर्पले टोकेको भनेपछि हुँदैन भन्दै फर्काउने गरेको उनी सुनाउँछन् । उनले भने, ‘पाँचवटा अस्पतालमा कुँदे, फेरि सरकारी अस्पताल नै आएँ।’ उपचारका लागि यता र उता कुदाउँदा–कुदाउँदै बच्चा सिकिस्त भएको उनी बताउँछन् । ‘राम्रोसँग बोल्दै थियो, फेरि सरकारीमा ल्याइपु¥याउने बेला उल्टी गर्न थाल्यो,’ उनले सुनाए, ‘सबैतिर लगें कसैले उपचार गरेनन्, अब उपचार गर्नुस् भनेपछि मात्र बल्ला नातिलाई हेरे।’

तर, अक्सिजन लगाएर, सलाइन दिन खोज्दा बच्चाको मृत्यु भइसक्यो भनेको बलरामले बताए । मृत घोषणा गरिएको बच्चालाई भरतपुर अस्पतालबाट निकालेर घर लगिसकेपछि त्रिवेणीमा सर्पले टोकेको बिरामीको उपचार हुन्छ भन्ने सुनाए। त्रिवेणीमा रहेको सर्पदंश उपचार केन्द्रमा फोन गरेर बुझेपछि उनी बच्चालाई लिएर त्रिवेणी लागे। समयमा ल्याइएको भए उपचार हुन्थ्यो, दुई घण्टा ढिलो भयो भनेपछि उनी फर्किए।

‘यो सबै अल्छीपना, लापरबाही हो,’ नाति गुमाएका बलराम भन्छन्, ‘सुरुमा अस्पताल ल्याउनेबित्तिकै उपचार भएको भए, बाबु बाँच्थ्यो।’ सलिनका बाबु रोजगारीका लागि कतारमा छन् । आइतबार बलरामले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टडा. रविन खड्का र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटे। उहाँहरूबाट अनुसन्धान र छानबिन गरेर दोषीलाई कारबाही गरिने प्रतिबद्धता पाएको बलराम बताउँछन्।

सुरुमा भरतपुर अस्पताल ल्याउँदा अस्पतालमा आइसीयु नभएको भन्दै अन्यन्त्र लैजान भनिएको थियो। ४ बजेर ४३ मिनेट जाँदा बच्चालाई अस्पतालले मृत घोषणा गरेको थियो। आइसियुका २० बेडमध्ये एक बेड सर्पदंश बिरामीका उपचारका लागि छुट्याएर राख्ने गरिएको छ। तर, त्यस दिन सबै आइसियु बेडमा बिरामी भरिएका कारण रिफर गर्नुपरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. खड्काको दाबी छ । अन्य अस्पतालले उपचार गर्न नमानेपछि फेरि भरतपुर अस्पतालमै फिर्ता ल्याएपछि उपचार गर्दागर्दै बालकको मृत्यु भएको उनले बताए। ‘उपचारमा ढिलाइ भएकै हो,’ उनले भने, ‘यसमा सिस्टमकै दोष छ ।’ भदौ १ गतेबाट लागू भएको नयाँ कानुनका कारण चिकित्सकले सकभर गम्भीर बिरामीको उपचार गर्न नचाहने क्रम सुरु भएको उनको तर्क छ।

सेवा प्रदायक संस्थाले सेवा दिन आनाकानी गर्नु गलत भएको चितवनका प्रमुख जिल्ला अधिकारी बस्नेत बताउँछन् । ‘मेडिकल सिटी भन्ने, यस्तो घटना हुने?’ उनले भने, यो घटना गम्भीर र खेदजनक छ। अस्पतालसँग स्पष्टीकरण लिन्छौं र कारबाही अगाडि बढाउने सम्बन्धमा विचार गर्छौं।’

प्रकाशित: २५ भाद्र २०७५ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App