coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गोरखा फुजेल काण्डका १२ आरोपीलाई सफाई

चितवन - गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त प्रतिवादीहरूले सफाइ पाएका छन्। हत्याको अभियोग लागेका १३ जना प्रतिवादीमध्ये अदालतमा हाजिर भएका १२ जनाले हत्याको कानुनतः स्वीकार्य प्रमाण (लिगल एड्मिसेबल इभिडेन्स) अभावमा सफाइ पाएका हुन्। चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उनीहरूलाई सफाइ दिने फैसला गरेको हो।

अदालतबाट सफाइ पाएका अभियुक्तहरूमा छविलाल पौडेल, भीमसेन पौडेल, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, भीमलाल अधिकारी, सीता अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी, रामप्रसाद अधिकारीलगायत छन्। ‘प्रतिवादीहरूले कृष्णप्रसादलाई कर्तव्य गरी मारेको भन्ने शंकारहित प्रमाणबाट अभियोग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसुरबाट सफाइ पाउने ठहर छ’, फैसलामा उल्लेख छ।

गोरखास्थित घरबाट चितवन रत्ननगरको जयमंगलामा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न गएका बेला तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले कृष्णप्रसादलाई सुराकीको आरोपमा २०६१ साल जेठ २४ गते रत्ननगरमा हत्या गरेका थिए। हत्यालगत्तै कृष्णप्रसादका बाबु नन्दप्रसादले जेठ २६ मा चितवन प्रहरीमा उजुरी दिएका थिए। २०६२ मंसिर २६ मा कृष्णप्रसादका दाजु नूरप्रसादले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए।

२०६९ पुस ३ मा महान्यायाधिवक्ता कार्यालयले कृष्णप्रसाद अधिकारी हत्याको मुद्दा प्रक्रिया बन्द गर्ने निर्णय गरेको थियो । अधिकारकर्मीको दबाबपछि सरकारले मुद्दाबारे अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन दिएपछि मुद्दा दर्ता भएर अदालती कारबाही प्रक्रिया अघि बढेको हो। अधिकारी हत्याको कर्तव्यज्यान मुद्दा ०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दर्ता गरिएको थियो।

लामो समयदेखि अदालतमा चलिरहेको मुद्दामा वादी तथा प्रतिवादीका अधिवक्ताहरूको बहसपछि फैसला गरिएको हो । ‘लिगल एड्मिसेबल इभिडेन्स अभाव देखिँदा दाबी स्थापित हुन सक्ने कुनै आधार एवम् कारण देखिएन’, फैसलामा भनिएको छ, ‘अभियोग लगाउँदैमा, मुदा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने देखिँदैन ।’ प्रतिवादीहरूलाई जन्मकैदको माग राखेर मुद्दा दर्ता गरिएको थियो । ‘आरोपित प्रतिवादीउपरको जन्मकैद गरिपाऊँ भन्ने वादी दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन’, फैसलामा भनिएको छ।

मुद्दाका प्रतिवादीमध्येका एक रुद्र आचार्य अझै अदालतमा हाजिर भएका छैनन् । ‘गोली प्रहार गर्ने भनिएका प्रतिवादी आचार्य अदालतमा पछि हाजिर भए वा पक्राउ परेका बखत यसै मिसिलबाट कानुनबमोजिम कारबाही हुने’ फैसलामा भनिएको छ । साबिकको मुलुकी ऐन अदालती बन्दोबस्तको १९० नम्बर र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को कानुनी व्यवस्थाबमोजिम मुद्दा मुल्तबीमा राख्ने फैसला गरिएको हो।

आइतबार भएको बहसमा वादीका दर्फबाट जिल्ला न्यायाधिवक्ता प्रमेश्वर पराजुली, जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू पुष्प पौडेल, इन्दु अर्याल र आशिकराम कार्कीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, धर्मराज आचार्य, अधिवक्ताहरु रुद्र नेपाल, दीनमणि पोख्रेल, गोपीलाल देवकोटा, कमलराज पाठक, रामचन्द्र देवकोटा, खगराज कँडेल र लक्ष्मण अधिकारीले बहस गरेका थिए।

जाहेरवाला नूरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालत हाजिर हुन अदालतले दुईपटक पत्र काटे पनि उनी अदालत उपस्थित भएनन्।

छोराको हत्यापछि हत्यारालाई कारबाहीको माग गर्दै बाबु नन्दप्रसाद र आमा गंगामायाले अनशन सुरु गरेका थिए। नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भयो भने गंगामायाले केही समयअघि मात्र अनशन तोडेकी थिइन्।

प्रकाशित: २४ भाद्र २०७५ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App