coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

बिमस्टेकः गति र मति

प्रधानमन्त्री केपी ओलीले भनेका छन्– ‘बिमस्टेक सार्कको विकल्प हैन। सुरुमा सात राष्ट्र (अफगानिस्तान पछि थपिएपछि अाठ) मिलेर गठन भएको सार्क अनि हिमालय पर्वत शृंखलादेखि हिन्द महासागरबीचका सातै राष्ट्र मिलेर बनेको बिम्स्टेक ‘उस्तै’ ठानिनु अस्वाभाविक पनि हैन। तर उद्देश्य, संलग्न राष्ट्र, तिनका भूगोल तथा कार्यशैलीहरूका आधारमा विश्लेषण गर्ने हो भने बिमस्टेक प्रधानमन्त्रीले भनेजस्तै सार्कको सट्टा आएको पनि देखिन्न। अर्कोतर्फ केपी ओली जतिबेला यो भनिरहेका थिए, त्यतिबेला बिमस्टेकको अध्यक्ष राष्ट्र तथा सम्मेलन आयोजक राष्ट्रको सरकार प्रमुखका हैसियतले बोलिरहेका थिए। त्यसैले पनि उनको भनाइमा विमति राख्नुपर्ने ठाउँ देखिन्न।

मुलुक केही समयदेखि बलात्कार, हत्या जस्ता घटनाले वाक्कदिक्क छ। समाजमा कुकर्मीहरूको क्रियाकलाप एकपछि अर्को बढ्दै गएका कारण खासगरी छोरीहरूको दिनचर्या कष्टकर बनिरहेको छ। कुनै नेपाली छैन, जो मुलुकमा केही समयदेखि लगातार वृद्धि भइरहेका महिला हिंसाबाट नविरक्तिएका हुन्। एकप्रकारले भन्दा मुलुक शोक मनाइरहेको अवस्था थियो। यस्तो प्रतिकूल अवस्थामा पनि नेपालले बिमस्टेक सम्मेलन आयोजना गर्नु हामी सबैका लागि गौरवको विषय बन्नुपर्छ।

यसरी ७ राष्ट्रका सरकार प्रमुख सहभागी हुने बिमस्टेक सम्मेलन आयोजना हुनुमा प्रधानमन्त्री केपी ओलीले देखाउँदै आएको सपना र त्यो पूरा भइछाड्छ भनेर देशबासीलाई हौस्याउने कारण नै प्रमुख मान्न सकिन्छ। जनतालाई लगातार सपना देखाउने र निराश हुन नदिने अर्थात आशावादी हुन प्रेरित गर्ने उनको बानी नै यो सम्मेलन हुन सक्नुको एक कारण हो। जब मान्छेसँग सपना हुँदैन, महत्वाकांक्षा हुँदैन, उसले केही गर्ने सम्भावना पनि निकै न्यून हुन्छ। यस अर्थमा अहिले नेपालका प्रधानमन्त्रीको सबैभन्दा ठूलो पुँजी भनेकै सपना देखाउन सक्ने खुबी हो जसलाई पूरा गरेरै छाड्छु भन्ने आँटले होस्टेमा हैँसे थपिरहेको छ। बिमस्टेक सम्मेलन आयोजना यही कारण ओलीको सपनासँग पनि सम्बन्धित छ भन्दा फरक पर्दैन।

सम्मेलनको उपलब्धि  
अघिल्लो बिहीबार र शुक्रबार चलेको दुईदिने बिमस्टेक सम्मेलनको सबैभन्दा उत्तम पक्ष यसका सदस्य राष्ट्र मिलेर अघि बढ्यौँ भने संसारकै लागि नमुना बन्न सक्छौँ भन्ने स्वीकारोक्ति हो। जसलाई सम्मेलनका क्रममा सबैजसो राष्ट्र प्रमुखले उल्लेख गरे। भौगोलिक स्थिति, संस्कृति, रहनसहन, परम्परा, हिमाल, पहाड, तराई, समुन्द्र आदि मिलाएर वृद्धि गरिने भाइचारा सम्बन्ध सबै सदस्यका लागि मजबुत हुन्छ र सबैको कल्याण पनि त्यसैमा छ भन्ने सम्मेलनको बुझाइ पनि अनुशरणीय छ।

बिमस्टेक सम्मेलनपछि अब सदस्य राष्ट्रबीच विद्युत् आदान–प्रदानको बाटो खुलेको छ। यसबाट धेरै विद्युत् निकाल्ने लक्ष्यसाथ काम गरिरहेको नेपालले निकै फाइदा लिन सक्छ। त्यसैगरी गरिबीलाई मुख्य चुनौतीका रूपमा स्वीकार्दै दिगो विकास अजेन्डा २०३० को लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता यो सम्मेलनको अर्को आशलाग्दो कदम मान्न सकिन्छ।

आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। ‘शान्त, समृद्ध र दिगो बंगालको खाडीतर्फ’ नारासाथ अघि बढेको यो मञ्च सन् १९९७ मा स्थापना भए पनि त्यसपछिका समयमा अपेक्षाकृत प्रभावकारी हुन सकेको थियो। तर काठमाडौँ सम्मेलनमा व्यक्त सरकार प्रमुखहरूको विचार तथा जारी घोषणापत्रले भने विगतको अवस्थामा क्रमभंगता गर्दै नयाँ आशा जगाउन सफल भएको देखिन्छ।

यो सम्मेलनले जारी गरेको १८ बुँदे काठमाडौँ घोषणापत्र हेर्दा निकै आशलाग्दा विषय समेटिएका छन्। जस्तो– यो क्षेत्रकै शक्तिशाली नेता भारतीय प्रधानमन्त्री मोदीले व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्नुपर्ने विषयमा जोड दिए। उनले हिमालय पर्वत शृंखला र हिन्द महासागरबीचको भूभागको प्रगति र विकास सबैका लागि महत्वको भएको बताएर आफूले अरु सदस्य राष्ट्रको पनि हित चाहेको स्पष्ट सन्देश दिए। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने भएकाले यस पक्षमा जोड दिइन भने भुटानको अन्तरिम सरकारका प्रमुखले जलवायु परिवर्तनको समस्याले पारेको प्रभावविरुद्ध मिलेर लड्नुपर्ने आवश्यकता औंल्याए। अरु देशका सरकार प्रमुखले पनि यसरी नै आफूले देखेका प्राथमिकता उल्लेख गरेका छन्।

यी सबैको निष्कर्षका आधारमा घोषणापत्र तयार पारिएको मान्न सकिन्छ। जसअनुसार विद्युत् प्रशारण लाइन सञ्जाल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसको मतलव अब सदस्य राष्ट्रबीच विद्युत् आदान–प्रदानको बाटो खुलेको छ। जसबाट धेरै विद्युत् निकाल्ने लक्ष्यसाथ काम गरिरहेको नेपालले निकै फाइदा लिन सक्छ। जबकि यसअघि यस्तो सम्झौता भारत र बंगलादेशसँगमात्र भएको थियो। त्यसैगरी गरिबीलाई मुख्य चुनौतीका रूपमा स्वीकार्दै दिगो विकास अजेन्डा २०३० को लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता यो सम्मेलनको अर्को आशलाग्दो कदम मान्न सकिन्छ।

अति कम विकसित तथा भूपरिवेष्ठित राष्ट्रको मूलभूत आवश्यकता पहिचान गर्दै उनीहरूको विकास प्रक्रियामा अर्थपूर्ण सहयोग गर्ने, आतंकवाद न्यूनीकरणका लागि मिलेर अघि बढ्ने, साझेदारीका प्राथमिक क्षेत्ररूको समीक्षा आदि पनि यो सम्मेलनले समेटेको उल्लेख्य पक्ष हुन्। त्यसबाहेक हाइस्पिड इन्टरनेट तथा मोबाइल सुविधा उपलब्ध गराउन सम्मेलनले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कार्यटोली गठन गर्ने निर्णय गर्नु र व्यापार तथा लगानीका लागि फ्रि ट्रेड एरिया कार्यान्वयन तथा भिसा सहजताको मोडालिटी तयार गर्ने सहमति पनि सम्मेलनले हासिल गरेका थप उपलब्धि हुन्। यस्तो उपलब्धि अरु पनि छन् ।

आशा गर्ने ठाउँ
धेरैले आलोचना गर्ने गरेका छन्– ‘बिमस्टेक खासै प्रभावकारी छैन। यसले अघिल्ला ३ वटा सम्मेलनमा गरेका प्रतिबद्धता र वाचा पनि कार्यान्वयनमा ल्याएको छैन।’ यसमा विमति राख्नुपर्ने कुनै कारण छैन तर यस सम्मेलनपछिको वातावरण भने फेरिने संकेत देखिएको छ। किनकि यस्तै आलोचनालाई सम्मान गरेर होला, काठमाडौँमा भएको बिमस्टेकको चौथो सम्मेलनले स्थायी कार्यसमिति गठन गर्ने र निर्देशकहरूको संख्या वृद्धि गर्ने निर्णय गरेको छ। जसले सम्मेलनले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनका लागि सचिवालयका रूपमा काम गर्नेछ।

त्यतिमात्र हैन, इन्टरनेट र मोबाइल सुविधाबारे कार्यटोली नै गठन गर्ने, भिसाका लागि विज्ञ टोली गठन जस्ता धेरै विषयमा भएको निर्णयले पनि काम तत्काल अघि बढ्ने देखिन्छ। पछिल्लो समय बिमस्टेकलाई सार्कको विकल्पमा खडा गरिएको, पाकिस्तानलाई अलग्याउने भारतीय रणनीति आदिका रूपमा अथ्र्याइन थालिएको छ। अनि सार्कमा रहेर पनि बिमस्टेकमा नरहेका अफगानिस्तान र माल्दिभ्स तथा पाकिस्तान जस्ता देशमाथि पक्षपात गर्न खोजिएको आरोप पनि लाग्दै आएका छन् । त्यसैले यी आरोप चिर्न पनि अब बिमस्टेक नेतृत्वले आफ्नै सम्मेलनले प्रतिबद्धता जनाएका तथा निर्णय गरेका विषय व्यवहारमा उतार्नु बाध्यकारी जस्तै हुन सक्छ।

सफलताको मापन
दक्षिण एशियाली देशहरू आतंकवादी गतिविधिबाट ग्रस्त छन्। यस्तो अवस्थामा यी देशको सुरक्षा प्रमुख चुनौतीका रूपमा देखा पर्दै आएका छन्। नेपालमा पनि विखण्डनको आवाज उठाउने तथा विद्रोहका नाममा अराजक गतिविधि गरिरहेका केही समूह सुरक्षाका दृष्टिकोणले चुनौतीकै रूपमा थिए। तर ७ राष्ट्रका सरकार प्रमुख उपस्थित रहेका बेला पनि खासै अप्रिय घटना नहुनु बिम्स्टेक सम्मेलन सफलताको सबैभन्दा ठूलो मापक हो।

यसबाहेक आयोजक तथा अध्यक्ष राष्ट्रका हिसावले नेपाललाई पनि बिम्स्टेकले राम्रै उपलब्धि हात परेको मान्न सकिन्छ। जस्तो– सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्रीसँग रक्सौल–काठमाडौँ रेलको इन्जिनियरिङ अध्ययन गर्ने सम्झौता भएको छ। थाइल्यान्डले करिब १७ करोड रुपियाँको औषधि उपलब्ध गराउने वचन दिएको छ। नेपालले भ्रमण वर्षका रूपमा मनाउन लागेको सन् २०२० का क्रममा बिम्स्टेक पर्यटन इन्क्लब आयोजना गर्ने नेपालको प्रस्तावको सदस्य राष्ट्ररूले स्वागत गरेका छन्। भुटानका सरकार प्रमुखलाई ‘नयाँ सरकारसँग भुटानी शरणार्थीबारे कुरा गर्ने’ अग्रिम जानकारी दिइनु पनि नेपालको सन्दर्भमा राम्रै उपलब्धि मान्नुपर्छ।

अझ सबैभन्दा महत्वपूर्ण कुरा त प्रधानमन्त्री केपी ओलीले कनेक्टिभिटी सुधार गर्न बुद्धिष्ट सर्किट आवश्यक भएको बताउनु र क्षेत्रीय सहकार्यलाई यातायात र पर्यटनका माध्यमबाट नजिक ल्याउन यस्तो सर्किट अपरिहार्य भएको भन्दै यसको महत्व बुझाउन सक्नु हो । त्यतिमात्र हैन, यो कार्यको नेतृत्व लिन नेपाल तयार रहेको बताएर उनले आफ्नो मुलुकको हिम्मत पनि दर्शाउनु निकै राम्रो पक्ष हो।

यो सम्मेलनलाई लिएर विभिन्न चर्चा÷समीक्षा पनि भइरहेका छन्। बिम्स्टेक शिखर सम्मेलन तयारी तथा व्यवस्थापन मूल समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘बिमस्टेक सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताए। त्यसैगरी बिमस्टेक राष्ट्रबीच भदौ २५ देखि ३१ सम्म भारतको पुणेमा हुने भनिएको संयुक्त सैन्य अभ्यासबारे विवाद भएपछि नेपाल त्यसमा सहभागी नहुने भएको छ। अर्कोतर्फ बिमस्टेक तयारीका सिलसिलामा हतारमा असरल्ल तार मिलाउनेदेखि खाल्डा पुर्ने हुँदै जे÷जति काम गरिए, ती सबै अगाडिदेखि नै गर्न सकिएको भए धेरै रकम जोगिने धारणा स्वयं अर्थमन्त्रीबाट समेत आइसकेको छ। जे होस्, यो सम्मेलनको चर्चा र समीक्षा अर्को सम्मेलन अर्थात आगामी ३ वर्षसम्म पनि चलि नै रहनेछ।

अन्त्यमा,
सम्मेलनस्थल काठमाडौ हिलाम्मे थियो। खाल्डाखुल्डीले इतिहास रचेका थिए। सरकार यही कारण निकै आलोच्यसमेत बनेको थियो। तर हेर्दाहेर्दै केही दिनमा सहरका दृश्य फेरिए। सिस्नो र गन्हाउने फूल अनि काँडाले छोपिएका पर्खालहरू हेर्दाहेर्दै बिमस्टेक सम्मेलनमा आउने सरकार प्रमुखका तस्बिर र स्वागत द्वारमा रूपान्तरण भए। थांग्रो नपाएर कता जाउँ कता हालतका लहराझैँ असरल्ल तारहरू कोरीबाटी मिलाइएको कपालझैँ चिटिक्क देखिए। सडक रातारात बु्रमरले बढारिए।

यसले सिकायो कि गरे त हुने रहेछ नि। हामी गर्न त सक्षम रहेछौँ नि? मात्र नगरेर पो फोहोर, कुरूप भएको रहेछ। त्यसैले हामीमा इच्छाशक्ति हुने हो र यसैगरी साँच्चै लागिपर्ने हो भने प्रधानमन्त्रीले सधैँ भन्ने÷देखाउने गरेको समृद्ध नेपालको सपना पनि विपनामै परिणत नहोला भन्न सकिन्न। aakriti72@gmail.com

प्रकाशित: २४ भाद्र २०७५ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App