coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

११ वर्षदेखि निरन्तर दूधालु गाई

११ वर्षदेखि निरन्तर दूध दिइरहेको गाई दुउँदै भुवन बराल। तस्बिर : टंक/नागरिक

सर्लाही - सामान्यतया ब्याएको गाईले बढीमा एकदेखि डेढ वर्षसम्म दूध दिन्छ। ब्याएको ६ महिनापछि साढे खोज्ने र गर्भाधान भएको एक सय ८० दिनपछि गाई पुनः ब्याउने गर्छ। ब्याउने समय नजिकिँदै गएपछि दूध दिन छोड्दछ।

तर सर्लाहीको हरिवनस्थित एक गाईले भने निरन्तर ११ वर्षदेखि दूध दिइरहेको छ । हरिवन नगरपालिका–८ पुरानोबजार निवासी फणिन्द्रराज बरालको गाईले २०६४ सालदेखि निरन्तर दूध दिइरहेको हो । ‘२०६४ भदौमा तेस्रो बेत ब्याएपछि हालसम्म निरन्तर दूध दिइरहेको छ,’ फणिन्द्रका छोरा भुवनले भने, ‘पटक–पटक कृत्रिम गर्भधारण गराउँदा पनि ब्याउन सकेन, दूध भने दिइरहेको छ।’

सुरुमा दिनको दुईपटकमा आठ लिटर दिने गरेको उक्त गाईले ६ लिटर हुँदै पछिल्लो केही वर्षयता चार लिटर दूध दिने गरेको बरालले जानकारी दिए । कृत्रिम गर्भधारण (एआई) गराउँदा गराउँदा आफूहरु थाकेको बरालले बताए । ‘२०–२२ पटक नै पशु स्वास्थ्यकर्मी बोलाएर एआई गरायौं,’ भुवनले भने, ‘तर ब्याउनै सकेन, दूध भने दिइरह्यो ।’ एक वर्षयता भने गर्भधारणसमेत नगराएको उनले बताए । ‘दुई–तीनजना स्वास्थ्यकर्मीलाई देखाएर कृत्रिम गर्भधारण गराइसक्यौं, तर ब्याउन सकेन,’ भुवनले भने, ‘अब थाकिसक्यौं, दूध दिउञ्जेल दुईरहन्छौं।’

ठूलो शरीरको गाई भएकाले गाउँमा पाइने स–साना गोरुले नहुने भएपछि कृत्रिम गर्भधारण गराउने गरिएको उनले बताए । ‘पहिला पनि दुई बेत कृत्रिम गर्भधारणबाटै ब्याएको थियो,’ भुवनले भने, ‘अबचाँही नब्याउला जस्तो छ।’

हरियाणा जातमा क्रस गरिएको जर्सी गाईको व्यवहार देखेर पशु स्वास्थ्यकर्मी समेत आश्चर्यचकित भएका छन् । यति लामो समयसम्म नब्याइकन दूध मात्र दिइरहेको देख्दा आफूलाई समेत अचम्मित भएको पशु स्वास्थ्यकर्मी बताउँछन् । उक्त गाईलाई पटक–पटक कृत्रिम गर्भधारण गराएका बागमती नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख प्रभुकान्त झाले बताए । ‘यो गाईको व्यवहारले त हामी पनि अचम्म परेका छौं,’ ३५ वर्षदेखि पशु स्वास्थ्य क्षेत्रमा क्रियाशील झाले भने, ‘जति प्रयास गरे पनि कृत्रिम गर्भधारण भएको छैन अनि दूध भने दिइरहेको छ।’

हरिवन बजारस्थित भेटनरी पसल सञ्चालक तथा पशु स्वास्थ्यकर्मी रामप्रसाद घिमिरे पनि उक्त गाईले दूध मात्र दिइरहेको घटनाले आश्चर्यचकित भएको बताउँछन् । ‘मैले नै १५–२० पटक कृत्रिम गर्भधारणका लागि एआई गरेको थिएँ,’ उनले भने, ‘तर ब्याउनै सकेन तर दूध भने दिइरहेको छ ।’ पुरानोबजारमै कविदत्त उप्रेतीको जर्सी गाईले समेत विगत सात वर्षदेखि निरन्तर दूध दिइरहेको उनले बताए।

प्रकाशित: २४ भाद्र २०७५ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App