८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवामा स्याउ उत्पादन घट्यो

रसुवा - रसुवामा यस वर्ष स्याउ उत्पादनमा कमी आएको छ । जिल्लामा स्याउ उत्पादन गर्ने कृषककोे संख्यामा वृद्धि हुँदै गए पनि स्याउ उत्पादन भने बर्सेनि घट्दै गएकाले स्याउ किसान चिन्तामा परेका छन्।

स्याउ उत्पादनका लागि जिल्ला कृषि विकास कार्यालय रसुवाले बिरुवा वितरण गर्दै आए पनि स्याउ उत्पादन हुने क्षेत्रमा प्राविधिक नपुग्दा समस्या आएको हो । फूल फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ।

स्याउ फुल्ने समयमा पानी बढी पर्नुका साथै असिना परेका कारण उत्पादन घटेको स्याउ कृषक तथा संकलक थारक्याप तामाङले बताए । ‘स्याउ उत्पादन गर्ने कृषकलाई कुनै पनि निकायले हेरेको छैन,’ उनले भने, ‘कृषि शाखाले स्याउ उत्पादनका लागि नयाँ कार्यक्रम ल्याउनुपर्छ।’

‘गत वर्ष गाउँबाट तीन हजार किलो स्याउ संकलन भएको थियो,’ उनले भने, ‘यो वर्ष १५ सय किलो स्याउ मात्रै उत्पादन भएको छ ।’ स्याउ उत्पादन घटेका कारण मूल्य वृद्धि भएको उनको भनाइ छ । गत वर्ष प्रतिकेजी स्याउको मूल्य ७० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकेजी एक सय २० रुपैयाँ पुगेको छ।

वन क्षेत्र तथा निकुञ्ज क्षेत्रमा रोपिएका स्याउका बिरुवा मृगले खाएर क्षति पु-याउने गरेको गोल्जुङका व्यावसायिक कृषक मिलन तामाङले बताए । ‘रोपिएका स्याउको बिरुवा जंगली जनावरले सखाप पार्छ,’ तामाङले भने, ‘बारबन्देज लगाउने कार्य हुन नसक्दा स्याउ उत्पादन बढ्न सकेको छैन।’

जिल्लाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको छ । गाउँपालिकाको ब्राबल, ठूलोस्याफ्रु, बृद्धिम, टिमुरे, गोल्जुङ, हाकु, गत्लाङ, लाङटाङ र चिलिमेको एक सय २३ हेक्टर क्षेत्रमा स्याउ खेती हुन्छ।

गत वर्ष जिल्लामा ६ सय ३९ मेट्रिकटन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ । यो वर्ष करिब पाँच मेट्रिक टन स्याउ उत्पादन हुने कार्यालयको अनुमान छ । जिल्लामा उत्पादन हुने स्थानीय जातका स्याउ स्थानीय बजारमा नै बिक्री हुने गरेको छ।

जिल्लामा अहिले कस्मरी, गोल्डेन र असारे जातका स्याउ खेती गरिएको छ । ‘रसुवामा ओखर, खुर्पानी लगायत फलपूmल उत्पादन राम्रो हुन्छ,’ वरिष्ठ कृषि विकास अधिकृत दिनेश बाबु तिवारीले भने, ‘स्याउ उत्पादन जिल्लामा खासै राम्रो देखिँदैन।’

प्रकाशित: २४ भाद्र २०७५ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App