७ वैशाख २०८१ शुक्रबार
अर्थ

टुरिस्ट गाइडको पारिश्रमिक बढाउने निर्णय

काठमाडौं – टुरिस्ट गाइडहरुको छाता संगठन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले आगामी जनवरीबाट लागू हुने गरी टुरिस्ट गाइडको पारिश्रामिक बढाउने निर्णय गरेको छ।

शुक्रबार बसेको टुर्गान पदाधिकारी बैठकले टुरिस्ट गाइडले हाल पाइरहेको पारिश्रमिकमा औसत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो । पर्यटकलाई दिने सुविधा र टुरिस्ट गाइडले पाउने पारिश्रमिकबीच तालमेल मिल्ने गरी निर्णय गरेको टुर्गानका अध्यक्ष केदार तामाङले बताए।

पारिश्रमिक वृद्धिको निर्णय कडाइका साथ लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने उनले बताए । टुर्गानका अनुसार विगत ५ वर्षदेखि गाइडको पारिश्रमिक बढेको छैन।

टुर्गानले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)सँग पटकपटक वार्ता हुँदा पनि पारिश्रमिक वृद्धि गर्न संस्थाको नेतृत्व सकारात्मक नदेखिएको र टुर्गानप्रति हेपाहा प्रवृत्ति देखाई एकपक्षीय रुपमा पारिश्रमिक बढाएको भन्दै पत्राचार गरेको जनाएको छ । ‘तर त्यसमा टुर्गानको आपत्ति छ,’ संस्थाको विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि टुर्गान र नाट्टाबीच आपसी समझदारीमै पारिश्रमिक वृद्धि गर्ने सम्झौता हुँदै आए पनि वर्तमान नेतृत्वले गरेको निर्णय हैकमवादी, अव्यवहारिक, अपरिपक्व र खेदजनक छ ।’ टुरगाइडको पारिश्रमिक यसअघि सन् २०१४ मा बढेको थियो ।
यसैबीच, पर्यटन श्रमिकको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स, -याफ्टिङ–एयरलाइन्स–सांस्कृतिक–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर युनियन (युनिट्राभ)ले असोज १ गतेदेखि नै ४० प्रतिशत बढाएर पारिश्रमिक लिन सदस्यहरुलाई परिपत्र गरेको जनाएको छ।

बढेको तलब नदिए प्रतिवाद गर्न पनि उसले टुरगाइडलाई निर्देशन दिएको छ । युनिट्राभले गत माघ १२ गते नाट्टामा चार सूत्रीय माग राखी ज्ञापनपत्र बुझाएकोमा हालसम्म सुनुवाइ नभएको गुनासो पनि गरेको छ।

टुरगाइडको ज्याला ४० प्रतिशत बढाउन, फर्जी टुरगाइडको छानबिन गर्न, दुर्घटना र मेडिकल बिमा गर्न, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न पनि युनिट्राभले माग गरेको छ । आफूहरुको गुनासो सम्बन्धित निकायमा राख्दा सुनुवाइ नभएकोले बाध्य भएर असोज १ देखि टुरगाइडको ज्याला ४० प्रतिशत बढाउने घोषणा गरेको संस्थाले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App