८ वैशाख २०८१ शनिबार
विचार

बिपीको धार्मिक (अ)विश्वास

“त्यतिबेला शैलजा बाबा अवधूतरामबाट मन्त्रणा लिएर उनकी भक्त र चेली भइसकेकी थिइन् । उनले बाबाको विभूति लगाउँथिन् । उनको गलामा बाबाको मेखला पनि थियो । त्यसबेला बिपीको औँलामा बाबाको औँठी थियो ।” बिपी पनि निराश हुनुहुन्थ्यो, निराश भएको मानिसले सहाराका लागि यस्ता बाबाहरूलाई विश्वास गर्छ । अन्यथा बिपी जस्तो नास्तिक मानिस, भौतिकवादी मानिस, जसले आफ्ना बाबु आमाको किरियासमेत गरेका थिएनन् । उहाँले एउटा बाबाको औँठी लगाउनु स्वाभाविक कुरा थिएन।

उल्लिखित वाक्यांश हालैमात्र सार्वजनिक भएको ‘विमान विद्रोह’ नामक दुर्गा सुवेदीको पुस्तकका अंश हुन् । लेखकको यो निजात्मक अभिव्यक्ति र बुझाइले बिपीको धार्मिक विश्वास र मान्यता के थिए भन्ने स्वाभाविक कौतूहल र जिज्ञासा उत्पन्न भयो । आस्तिक र नास्तिकको अर्थमा कोही धार्मिक छ वा छैन भन्ने कुराको निक्र्योल हुन्छ भन्ने हुँदैन । धर्मको बृहत्तर परिभाषा छ । आस्तिकता र नास्तिकता भन्दा धर्म धेरै माथि छ । आस्तिक अधर्मी हुन सक्छ भने नास्तिक सबैभन्दा धार्मिक कार्यकाण्डको बाहिरी आवरणमा रमाउने पाखण्डपनले धार्मिकपन उजागर हुँदैन । फेरि आस्तिक र नास्तिकबीच झिनो पर्दा हुन्छ । कुनै बेलाको आस्तिक नास्तिक बन्ने र नास्तिक आस्तिक बन्ने प्रबल सम्भावना हुन्छ । व्यवहारमा त्यस्ता घटना धेरै घटित भएका छन्।

पशुपन्छी उनीहरूको प्रकृति र स्वभावबाट माथि उठ्ने र तल झर्ने भन्ने हुँदैन । जस्तो प्राकृतिक गुण लिएर जन्मेका हुन्छन्, त्यसैसँग उनीहरूको अन्त्य पनि हुन्छ । विवेकशील मानिएको मानिस पशुपन्छीभन्दा भिन्न छ । उसमा मनुष्यता भन्दा धेरै माथि उठ्ने र गिर्ने दुवै सम्भावना हुन्छ । विश्वमा जति पनि प्रचलित धर्म छन् । तिनको मूल ध्येय मानिसलाई आफ्नो मनुष्यताबाट तल झर्न नदिनका लागि हो भन्ने लाग्छ । विश्वका सबै धर्मले हिंसालाई निषेध गरेको छ । तर हिंसा रोकिएको छैन । तीनहजार वर्षको कालखण्डमा पाँचहजारभन्दा बढी युद्ध भएका छन् । पशुपन्छीमा स्वभावतः हिंसात्मक गुण भएकाहरूले पनि आफ्नो स्ववन्धुप्रति निर्मम हिंसा प्रदर्शन गर्दैन । त्यसैले बिपी आस्तिक वा नास्तिक के थिए ? भन्ने प्रश्न गौण हुन्छ । कुनै बेला सशस्त्र संघर्षको नीति लिएको नेपाली कांग्रेसले गरेको ओखलढुङ्गा काण्डमा राम, लक्ष्मण जस्ता थुप्रै युवाले अनाहकमा ज्यान गुमाएका थिए । त्यसपछि हिंसाको नीति बिपीले त्यागेको देखिन्छ।

गीताको १६ औँ अध्यायमा दैवी र असुरी स्वभावको कुरा गरेको छ । मानिसले अवलम्बन गर्नुपर्ने २६ दैवी गुणहरूमा सत्य, अहिंसा, क्षमा, दया, तितिक्षा, स्थिर चरित्र, समभाव आदि छन् । क्षमाशीलता बिपीमा थियो भनेर अनुमान गर्न सकिन्छ । उनले राजाबाट जति दुःख पाए पनि आफ्नो सैद्धान्तिक निष्ठालाई कहिल्यै पनि त्यागेनन् । गीताको भावसँग पारसीधर्मका प्रवर्तक जरथुस्दका उपदेशले पनि तादम्य राख्छ । जरथुस्दले भनेका छन् संसारमा दुइटा शक्ति छ ‘अहुरमज्दा’ र ‘अहिरमन’ अहुरमज्दाले असल तत्वको प्रतिनिधित्व गर्छ भने, अहिरमन खराब तत्वको । यी दुई शक्तिको बीचमा संघर्ष चलिरहन्छ । अन्तमा विजय अहुरमज्दाको हुन्छ भन्ने विश्वास राख्ने उनले मानिसले असल गुणहरू पैदा गर्नुपर्छ, त्यसले गर्दा असलशक्ति अहुरमज्दालाई बल मिल्न सकोस् । धर्मको अर्थमा गीता र जरथुस्दले मानवीय असल गुणहरूको बढोत्तरीलाई जोड दिएका छन् । कर्मकाण्डमा होइन । यसै मानकमा भन्ने हो भने बिपी आस्तिक वा नास्तिक जे भए पनि अधर्मी भन्ने पक्कै थिएनन् भनेर अनुमान गर्न सकिन्छ । त्यसैले उनी अत्यधिक पढिने, सम्झिने, मानिने, गनिने राजनीतिमा परेका छन् । राम, कृष्ण, माहाविर, बुद्ध, लाउत्से, कन्फ्युसियस आदि धार्मिक थिए र नै सधैँ आदरणीय, वन्दनीय, स्मरणीय र पुजनीय बनेका छन् । त्यसैले आस्तिक नास्तिकताको आधारमा होइन ऊ कति धर्मिक छ भनेर हेरिनुपर्छ।

जहासम्म बिपीको सन्त संगतको कुरा छ, भगवान् अवधूतरामसँग मात्र होइन, अन्य सन्तहरूको सामीप्य बालककालदेखि नै पाएका थिए उनले, बिपीले लेखेका छन् । “कलकत्ताकै मेरो प्रवासमा एउटा महात्माको पनि सान्निध्यमा पुगे । जो पछिसम्म हाम्रो परिवारको सम्मानित सदस्य जस्तो भएर हामीसँग जोडिरहनु भयो । उहाँलाई हामी बाबुसाहेब भन्थ्यौँ । आजकाल उहाँ विन्ध्याचल पर्वतको एउटा गुफामा सर्ववन्ध्या महात्मा भएर निवास गर्नुहुन्छ रे । मानिसको स्वभावमा देवत्वको लक्षण उहाँमा जति असंदिग्ध रूपले प्रकट हुन्थ्यो, त्यति मैले कसैमा पाइनँ ।” यिनै महात्माको सहयोगबाट बिपीका पिता कृष्णप्रसाद कोइरालाको परिवारले कुनै बेला ओत पाएको थियो।

१४ वर्षको उमेर हुँदा बिपीमा भारतका सन्त रामतीर्थको जीवनले अत्यधिक प्रभाव परेको कुरा पनि ‘आफ्नो कथामा’ उल्लेख छ । उनले भनेका छन्, ‘मेरो त्यस उमेरको भावनात्मक रुचिको झल्को यस कुरामा पनि पाइन्छ कि धार्मिक, आध्यात्मिक क्षेत्रमा त्यस समय स्वामी तीर्थले खुब प्रभावित पारेका थिए । आर्यसमाजले होइन, जो वाक चातुर्य र क्षुद्र तर्कको कर्कश हल्लाको वातावरणले घेरिएको आन्दोलन जस्तो लाग्थ्यो।’

अझ अगाडि लेखेका छन्, “आध्यात्मिकताको भावनात्मक पक्ष त्यसको हार्दिकता मैले रामतीर्थमा पाए । अध्यात्मको त्यो कवित्वपूर्ण अनुभूति रामतीर्थमा पाएँ । अध्यात्मको त्यो कवित्वपूर्ण अनुमति जसलाई व्यक्तिले अवसर विशेषमा या त्यसै अकारण नै आफ्नो हृदयमा प्राप्त गर्छ । चराचर विश्वको स्पन्दित प्राणवन्त रहस्यमयताको व्यक्तिगत अनुभूति जसलाई विराट अनुमति महासागरिक संवेदनशीलताका संज्ञा दिइएको छ।” (आफ्नो कथा, पृष्ठ १६१–१६२)

रामतीर्थप्रति उनको मानसिक लगाव र आस्था यति बढेको हुन्छ कि रामतीर्थ जस्तै बन्नका लागि उनको किशोरावस्थाको हर्कत अझ उद्धृत गर्न लायक छ । उनी लेख्छन्, “स्वामी रामतीर्थका साना साना किताब बादशाहका हुकुमना जस्ता पढेर एकचोटि यत्रो आनन्दको सञ्चार ममा भयो कि लाग्यो, जीवनको क्षुद्र किनारामा आफूलाई सीमित नराखेर, त्यहाँ कुप्रिएर तुच्छ ढुङ्गाहरूको संकलन गर्नपट्टि नलागेर सामुन्ने आन्दोलन उर्लिंदो महासागरमा आफ्नो नौका बगाइदिऊँ । त्यस महासागरमा आफ्नो नौका बगाइदिऊँ । त्यस महासागर यात्राको सारसुरमा मैले पहिले त आँगनबाट कुर्ता झिकेर फालिदिएँ अनि धोतीलाई गेरुमा रंगाएर (लच्छनमा रंगाएर) एउटा खास ढंगले त्यसलाई पहिरँे – दुई गाँठोको आधारमा तल्लो भागलाई लुँगी र माथिल्लो भागलाई उत्तरीय बनाएर । पिताजीहरूले यो थाहा पाएर एउटा पत्रमा बुट्टा भरेर आफ्नो घोषणा लेखी पठाएको थिएँ । छोरो जोगी भो भन्ने चिन्ता भयो होला अभिभावकहरूलाई।” (आफ्नो कथा)

त्यो हर्कत गरेका बिपीलाई उनका अभिभावकले हतोत्साही न त प्रोत्साहन दिए । मध्य बाटो अपनाउँदै सम्झाएर पठाउँछन् । त्यस बेला अभिभावक भनाइ थियो । “बुद्धि छिप्पिएपछि जे गर्न मन लागे गर्लास्, अहिले विद्यार्थीको एक निष्ठा कर्तव्य गर्नुपर्छ ।” त्यसपछि उनको मन बदलिएको हुनुपर्छ । अनि भनेका छन्, “मलाई पनि लाग्यो, समुद्रयात्राका लागि जोगी भेषको केही छैन । एकचोटि ठूलो दाजुहरूले गिज्याउँदा मैले भनेँ हो– प्रत्येक मानिसको आफ्नो अन्तरंग देवता उसको मित्र रहन्छ, उसको हृदयमा । झुटो कल्पनाको देवता होइन ।” बिपीको त्यो भनाइले अझ उनलाई उत्तेजित पारेपछि बिपी उत्साही बन्न पुग्छन् । उनले भनेका छन्, “मलाई उत्तेजित पार्दै– मलाई मेरो विश्वासको प्रलोभनमा झन् जाग्दै, ठूलो दाजुले भन्नुभयो– हेरुँ, तिम्रो देवता तिम्रो हृदयमा निवास गर्छ कि गर्दैन देखाऊ । मैले भित्तामा टाँगेको खुकुरी झिकेर आफ्नो विश्वासलाई प्रत्यक्ष प्रमाणित गर्न खोजे । यद्यपि मेरो छातीको कुन भागमा मेरो हृदय छ भन्ने मलाई थाहा थिएन । म आत्मविश्वासले असन्दिग्ध थिए । आस्थाको आदेशले व्याप्त मेरो चेष्टाको प्रमाणिकतालाई साहिँला दाइले मेरो हातबाट खुकुरी खोस्नुभयो।” (आफ्नो कथा)

बिपीको दुत्साह प्रवृत्तिको पुष्टि गर्दै मातृकाप्रसाद कोइरालाले लेखेका छन्, “बिपीको सबभन्दा ठूलो गुण अदम्य साहस हो । हरहमेसा जोखिम मोल्नु या फाल हालिरहनु उनको वैशिष्ट्य हो । यसैले प्रजातान्त्रिक आन्दोलनमा उनी अग्रगण्य भएका हुन्, जननेता भएका हुन्।” (मातृका बाबु : चिन्तन र स्मृति, सम्पादक जीवनचन्द्र कोइराला, पृष्ठ १०५)

बिपीको आत्मकथनले उनमा धार्मिक बहकाउ आएको थियो । तर बहकिएनन् । किशोरावस्थामा यस्तै घटना कुनै कालखण्डका गोरखापत्रका सम्पादक प्रेमराज शर्मा पौडेलमा पनि आएको थियो । तपस्या गर्न भनी हिँडेका उनी तपश्वी त बनेनन् तर ‘तपस्वीको अनुभव’ नामक कृति विरासतमा छाडेर गए । सन्त अनुरागी बिपीका अनुयायी कुनै कालखण्डका विद्यार्थी नेत्री शमाशाही, कविता भट्टराई राजनीतिक क्षेत्रलाई चटक्कै छाडेर गुमनाम भएका उनीहरू साधनाको बाटो खनिराखेका छन् । राजनीतिलाई नै आफ्नो तप, उपासना, साधना, आरधना आदि इत्यादि मार्ग बनाएका बिपीको निजात्मक अभिव्यक्तिले उनको धार्मिक विश्वास र मान्यतालाई केही हदसम्म उजागर भने गरेको छ । यिनै शब्दका साथ स्मृति दिवसमा उनीप्रति अनन्त श्रद्धासुमन।

प्रकाशित: २४ भाद्र २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App