७ वैशाख २०८१ शुक्रबार
कला

‘कथाको माग अनुसार गीत’

काठमाडौं – फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक हुँदा गीतमा कलाकारद्वय प्रियंका कार्की र प्रमोद अग्रहरीको हट दृश्यले आलोचनासँगै चर्चा पनि पायो । गीतको भिडियोले पोर्न हबमा समेत स्थान पायो।

फिल्मको ट्रेलर सार्वजनिक गर्न गत हप्ता राजधानीमा आयोजित कार्यक्रममा फिल्मकी निर्देशक संगीता श्रेष्ठले गीतमा अन्तरंग दृश्य राख्नुको कारण खुलाइन् । ‘फिल्मले काठमाडौंमा संघर्षरत तीन फरक फरक पात्रको कथालाई प्रस्तुत गरेको छ । कथा र पात्रको चरित्र अनुसार नै प्रस्तुत गरेका हौं । गीत सार्वजनिक भएपछि आलोचना निकै खेप्नुप-यो,’संगीताले भनिन्,‘तर ट्रेलरले पक्कै पनि आलोचनाको बाटो बन्द गर्नेछ,’उनले भनिन्,‘हामीले कथाको माग अनुसार नै गीत राखेका हौं । ट्रेलरले धेरै कुरालाई ‘क्लियर’ गरिदिएको छ ।’ उनले दर्शकले सकारात्मकभन्दा पनि नकारात्मक कुरालाई बढी जोड दिएको दाबी गरिन् । संगीताले गीत सार्वजनिक हुँदा प्राप्त प्रतिक्रियामध्ये अधिकांश प्रतिक्रिया सकारात्मकभन्दा पनि नकारात्मक बढी पाएको बताइन्।

कलाकार प्रमोदले आफू एउटा कलाकार भएकाले स्क्रिप्ट अनुसार काम गरेको बताए । ‘म कलाकार हुँ । आफ्नो काममा हिच्किाचाउँदिन । कथा काठमाडौंको स्क्रिप्ट हेरेपछि मैले काममा कुनै कन्जुस्याई गरिन्,’उनले भने,‘भिडियो रिलिजपछि धेरै आलोचना खेपें । कलाकार हुँ आलोचना र तारिफ सहनुपर्छ भन्ने लाग्यो।’

निर्माता विजय राईले ट्रेलर सार्वजनिक गर्न पाउँदा नयाँ उत्साह आएको बताए । ‘गीत सार्वजनिक हुँदा जुन किसिमको गाली खाएका थियौं । ट्रेलर हेरेपछि दर्शकले गीतको मर्मलाई पक्कै बुझ्नु हुनेछ,’उनले भने।

ट्रेलरमा पैसाको पछि दौडने, मोडलिङमा लागे पनि प्रेम नपाएकी युवती र कलेजका युवायुवती र एक जोडीको प्रेमलाई देखाइएको छ।

आगामी असोज १२ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरि, संजोग कोइराला र सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी जोडी भूमिकामा छन् । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मोहित मुनाल, कमल खत्री, प्रदिप बास्तोला र सुरजविक्रम थापाको संगीत र मित्र गुरुङको सम्पादन छ।

प्रकाशित: २४ भाद्र २०७५ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App