१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सिद्धार्थमा सामूहिक कला प्रदर्शनी

काठमाडौं – ४६ जना कलाकारको कला समेटिएको प्रदर्शनी राजधानीमा चलिरहेको छ। फरक फरक विषय र प्रस्तुति समेटिएको  ‘अमालगम २०१८’ शीर्षकको कला प्रदर्शनीमा ४६ जना नेपालका कलाकारले चित्रका विविध रङ पस्केका छन्। परम्परागत,आधुनिक,मिक्स मिडिया, इचिङ,पेन एन्ड ईंक लगायतका विधागत विविधता समेत सो कला प्रदर्शनीमा भेटिन्छ।

आदित्य अर्यालले ब्राडो शीर्षकमा तयार पारेको ठूलो कलाकृतिले आधुनिक धारको कलात्मक भाव बोल्छ।

त्यस्तै संगी श्रेष्ठले इन सर्च अफ पिस  शीर्षकको कलामा रातो सतहमा हल्का निलो रंगले शान्तिको प्रतीक खोजेको छ।

साजन डोटेलले सेतोमा कालोरंगको संयोजन गरेको वृद्ध महिलाको चित्र निकै आकर्षक देखिन्छ । कालो कपडामा उनले हातमा वत्ती कातिरहेको दृष्य चित्रमा दर्शाउन खोजिएको छ । संस्कार र संस्कृतिसँगै चित्रले आम महिलाको दैनन्दनी बताउँछ।

लभकान्त चौधरीको तमसुक चित्रले भने नेपाली समाजको यथार्थता देखाउँछ। कमजोर आर्थिक अवस्थाले ऋण लिन खोज्दा आफ्नो घरबार गुमाउन पुगेका छन् । थोरै ऋणका लागि आफ्नो घरखेत धितो राखेर लिएको ऋण पुस्ताैं पुस्ता तिर्न नसक्दा उनीहरू उन्मुक्त जीवन बाँच्न नसकिरहेको वास्तविकतालाई चित्रमा उतारिएको छ।

अनामिका गौतमले लोक्ताको कागजमा बनाएको ट्रान्सफरमेसन शीर्षकको चित्रमा महिलामा आउनुपर्ने परिवर्तनको उद्घोष गर्छ।

सन्ध्या सिलवालले स्ट्रेन्थ शीर्षकमा लोक्ता कागजमै भिजुअल र चित्रकारिताको मिश्रण गर्न सफल बनेकी छिन्।

निरोज बाडेको फराकिलो कलात्मक सोचमा नेपाली संस्कृति र यौनको मान्यताले स्थान पाएको छ। नेवारी संस्कृतिकै विविधतायुक्त चाडपर्वमा देखाइने जात्रा तथा नृत्यमा यौन मान्यताले समेत स्थान पाएकै छन् । त्यही उद्गारलाई उनले टपक्क टिपेर चित्रमा उतारे । रातो ,सेतो, कालो रंगको मिश्रणले उनको चित्र अरुभन्दा फरक बनेको छ।

इचिङतर्फ विद्यामान तामाङको विडो अर्थात विधवा शीर्षकको कलाले उनीहरूको आत्मिक अशान्ति देखाउँछ।

सुवास श्रेष्ठले स्टडी अफ हिस्ट्रीमा राजधानीमा गाडी ल्याउँदाको दृष्य चित्रमा कैद गरेका छन्।

नविन नाल्बोको डायरी शीर्षकको पेन ईंक चित्रको भिन्न बोलाइले फरक भोगाइ बताउँछ।

लिथोग्राफका कलाकार कविराज लामाले डिसएपिरियन्स शीर्षकको कलात्मक सोचले अब्बल कलाको प्रतिनिधत्व गर्छ।

मंगलबार सुरु भएको कला प्रदर्शनीको  उद्यमी रीतु वैद्यले उद्घाटन गरेकी थिइन् । एकै थलोमा यतिधेरै कला हेर्न पाउनु पारखीका लागि नौलो अवसर भएको सञ्चालक संगीता थापाले बताइन् । सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको प्रदर्शनी असोज १२ गतेसम्म चल्ने जनाइएको छ।

प्रकाशित: २४ भाद्र २०७५ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App