coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली वंशको साधारणसभा प्रधानमन्त्री निवासमा

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा गरिएको छ। प्रधानमन्त्री केपी ओलीले यसका लागि स्वीकृति दिएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा पनि प्रयोग गरिरहेको आरोप खेप्दै आएका बेला ओली वंशको साधारणसभा त्यहीं गरिएको हो। आलोचकले प्रधानमन्त्रीको यस कदमलाई सरकारी सम्पतिको दुरुपयोगका रुपमा लिएका छन्। पटक–पटक आर्थिक मितव्ययिताको कुरा उठाउँदै आएका प्रधानमन्त्री ओलीले नै पटक–पटक सरकारी निवासको दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

साधारणसभामा सहभागी हुन बिहानैदेखि ओली बन्धुहरु बालुवाटार पुगेका थिए। प्रधानमन्त्री निवासमा खटिएका सुरक्षाकर्मीले साधारणसभा सुरु भएपछि ओली वंशका सदस्यबाहेकलाई भित्र प्रवेशमा रोक लगाएका थिए। ‘हामीलाई ओली थरबाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाउन माथिबाट आदेश भएको छ,’ गेटमा खटिएका एक सुरक्षा अधिकारीले भने। प्रधानमन्त्रीलाई विभन्न गुनासोसहित निवेदन दिन पुगेका अन्य सर्वसाधारणलाई बालुवाटार प्रवेशमा रोक लगाइएको थियो। सुरक्षाकर्मीले ओली थर भएकालाई मात्र प्रधानमन्त्रीको निवास क्षेत्रभित्र प्रवेश दिएपछि गुरुङ थरकी एक महिला पनि आफूलाई ओली भन्दै भित्र प्रवेश गरेकी थिइन्। पछि ओली नभएको थाहा पाएपछि सुरक्षाकर्मीले उनलाई बाहिर निकालिदिएका थिए। उनले पटकपटक प्रधानमन्त्रीलाई भेट्न गरेको प्रयास असफल भएपछि ओलीहरुकै हुलमुलमा आफू पनि भित्र छिरेको बताइन्।

ओली वंशको साधारणसभा बालुवाटारमा हुने सूचना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा व्यापक आलोचना भए पनि यो कार्य रोकिएन। आलोचनाको बेवास्ता गर्दै ओलीले नै साधारणसभा बालुवाटारमै गर्ने प्रबन्ध मिलाएको स्रोतको भनाइ छ।

साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी पँच वर्षभित्र नेपालबाट गरिबी हटाइने बताए। ‘विगतका शासकहरुको कमजोरीका कारण नेपालीले गरिबीको यस्तो नियति भोग्नुपरेको हो,’ उनले भने। ओलीले नेपाल स्रोतसाधनले भरिपूर्ण भएर पनि नेपाली गरिब हुनु सुहाउने कुरा नभएको बताए। ‘अब पाँच वर्षभित्र नेपालबाट गरिबी हटाइने छ,’ ओलीले भने। उनले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्ध नेपाल निर्माण गर्न चाहेको बताए। ‘कतिपय मानिस देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्’, उनले भने। यो सरकार सुविधा उपभोग गर्न नभई देश निर्माणका लागि गठन भएको पनि उनले बताए। कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई अभिनन्दन गरिएको थियो। यसैगरी उनका बाबु मोहनप्रसाद ओलीलाई पनि अभिनन्द गरियो।

प्रकाशित: २४ भाद्र २०७५ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App