coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहकारीको दरले चार सयभन्दा बढी बिरामी

दर खाएपछि बिरामी भएकाहरु धुलिखेल अस्पतालमा उपचारका क्रममा। तस्बिरः नागरिक

बनेपा - काभ्रेमा स्थानीय एक सहकारी संस्थाले आयोजना गरेको तीजको दर खाँदा झन्डै चार सय स्थानीय बिरामी भएका छन्। जिल्लाको पाँचखाल–१२, कास्कोटेस्थित ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दर खाने कार्यक्रममा सहभागीहरू बिरामी भएका हुन्।

दर खाएर घर गएका उनीहरूलाई शुक्रबार मध्यरातिदेखि एक्कासि झाडाबान्ता हुन थालेको हो। दरका रूपमा पुलाउ, पनिरको तरकारी, केराउको अचारलगायत खाएका उनीहरूलाई ‘फुड प्वाइजन’ भएको आशंका गरिएको छ । दर खाने कार्यक्रमकी प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेलसमेत बिरामी भएकी छन् । सांसद भुर्तेलको उपचार शीर मेमोयिल अस्पताल बनेपामा भइरहेको छ। सँगै दर खाएका उनका पति शिव र छोरी पवित्राको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

दर खाएपछि एकछिन् नाचगान गरेको र घर फर्केर काम गर्दासमेत केही नभएको तर, मध्यराति एक्कासि पेट दुखेर बान्ता हुन थालेको पाँचखाल–१२ तीनघरेकी कल्पना श्रेष्ठले बताइन्। ‘केही महिनाअघि मात्रै सदस्य भएकी थिएँ । सहकारीले तीजको दर खान भनी बोलाएपछि ५ वर्षकी छोरीलाई पनि साथै लिएर गएँ। दर खाएर घर फर्केका हामी दुवैलाई मध्यरातिदेखि पखाला र बान्ता हुन थाल्यो। टाउको पड्केला जसरी दुख्न थाल्यो,’ उनले भनिन्।

धुलिखेल अस्पतालको इमर्जेन्सीमा भेटिएकी श्रेष्ठले अगाडि भनिन् ‘मभन्दा छोरी बढी नै बिरामी भएकी छे। उसलाई त ज्वरो पनि आएको छ।’

सहकारीले आयोजना गरेको सामूहिक दर खाएका पाँचखाल–११ र १२ का करिब चार सय स्थानीय बिरामी भएका हुन्। ‘बिरामी भएका डेढ सय जनालाई पाँचखालका मेयर, पदाधिकारी तथा प्रहरीको सहयोगमा धुलिखेल अस्पताल, बनेपाको शीर मेमोरियल अस्पताल, काठमाडौंको सिभिल अस्पताल र बनेपाका निजी अस्पतालहरूमा उपचार भइरहेको काभ्रे प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए। उनका अनुसार शनिबार दिउँसोसम्ममा धुलिखेलमा ६५ जना, शीरमा २६ जना(२ जना आइसियुमा), ३३ जना सिभिल अस्पतालमा र बाँकीको बनेपाका निजी अस्पतालहरूमा उपचार भइरहेको छ। ‘पाँँचखाल नगरपालिका र धुलिखेल अस्पतालको समन्वयमा घटानस्थलमै शिविर खडा गरेर पनि बिरामीहरूलाई उपचार सेवा दिइरहेका छौं’, उनले भने।

बिरामीको चाप बढ्न थालेपछि स्थानीयस्तरमै उपचारका लागि धुलिखेल अस्पतालले डाक्टरसहित २४ स्वास्थ्यकर्मीको टोली पाँचखाल पठाएको अस्पताल निर्देशक प्रद्युम्न श्रेष्ठले जानकारी दिए। नगरपालिकाको समन्वयमा जनभावना प्राविमा शिविर नै खडा गरेर बिरामीको उपचार भइरहेको मेयर महेश खरेलले जानकारी दिए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले धुलिखेल अस्पतालमा रहेर बिरामीहरुको उपचारका लागि समन्वय गरेका थिए।

अस्पतालमा ल्याइएका बिरामीहरुको प्रारम्भिक परीक्षणबाट उनीहरुले खाएका खानामा स्टाफाइलोककस औरिस् नामक ब्याक्टेरियाले ‘टक्सिन’ पैदा गरेपछि उत्पन्न फुड प्वाइजनकै समस्या हुन सक्ने अस्पतालका चिकित्सक डा. अर्जुन कार्कीले बताए। ‘यो ब्याक्टेरियाले त्यसरी दूषित भएको खाना खाएको करिब ६ घण्टामा लक्षण देखाउँछ,’ उनले भने, ‘बिरामीहरुमा पनि खाना खाएपछिको सोही अवधिमा लक्षण देखा परेको छ। उहाँहरुमा टाउको दुख्ने, वान्ता हुने, दिसा लाग्ने हुनुका साथै ज्वरोसमेत आएको पाइएको छ।’ वयस्कहरुमा भन्दा बालबालिकालाई बढी समस्या देखिएको उनको भनाइ छ। ‘एकै घरका धेरै जना बिरामी भएर आएका छन्। बालबालिकाहरु बढी प्रभावित छन्,’ उनले भने।

एक स्थानीयका अनुसार गाउँको सहकारी भएकाले सबै जना मिलेर सामूहिक रुपमै खानेकुराहरु पकाइएको थियो। पाँचखालका दुईवटा वडाका गरी पाँच सयभन्दा बढी दर खाने कार्यक्रममा सहभागी भएका थिए। काभ्रे शुक्रबार सहभागीहरूले खाएर बाँकी रहेका खानेकुरा तथा पिएका पानीको नमुना संकलन गरेर प्रहरीले धुलिखेल ल्याएको छ। ‘खानेकुरा परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाउँदैछौं,’ एसपी खड्काले भने।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लोहनीले बरामीहरुको सबै उपचार खर्च संघीय सरकारले व्यहोर्ने बताएका छन्। ‘म आफै धुलिखेल अस्पताल पुगेर बिरामीहरुको अवस्था हेरें। अधिकतर विपन्न र न्युन आय भएका बिरामीहरु भएकाले उहाँहरुको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको हो,’, उनले भने।

प्रकाशित: २४ भाद्र २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App