coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विवाह गरेको भन्दै शिक्षिकाबाट बर्खास्त

फाइल फाेटाे

सिन्धुली - जिल्लाको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको छ। फिक्कल गाँउपालिका–३ स्थित कालिका प्राथमिक विद्यालयको बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता रीमा खत्रीलाई यसरी निकालिएको हो। फिक्कलको खोलागाँउ निवासी रीमाले जिल्लाकै गोलञ्जोर गाँउपालिकाको डुडभन्ज्याङमा विवाह गरेर गएपछि उनलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले कामबाट हटाएको हो।

२०७४ जेठमा विवाह गरेकी रीमालाई विद्यालयले कात्तिकमै बर्खास्त गरिएको पत्र थमाएको थियो। तर, उनले जिल्ला शिक्षा कार्यलयमा हारगुहार गरेर अहिलेसम्म सोही विद्यालयमा काम गरिरहेकी छन्। फेरि अहिले उनको पद रिक्त रहेको भन्दै विद्यालयले विज्ञापन निकालेपछि उनी न्याय खोज्दै अदालत पुगेकी छन्।

‘बर्खास्त गरिएको पत्र थमाए पनि जिल्ला शिक्षा अधिकारीको आदेशमा हालसम्म सोही विद्यालयमा कार्यरत थिएँ,’ उनले नागरिकसँग भनिन्, ‘तर विद्यालयले एक्कासि विज्ञापन गरी मलाई बर्खास्त गरेको जनाएपछि म न्याय खोज्दै अदालत आएकी हुँ।’

रीमाले भनिन्, ‘विवाह गरेर अर्काे गाउँ गए पनि मैले विद्यालयको पठन पाठनमा कुनै असर पु-याएकी छैन। विवाह भएको दुई दिनदेखि म स्कुलमा पढाउन पुगेकी छु।’ वडा अध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मान्छे नियुक्ति गर्न आफूमाथि प्रपञ्च रचेको उनको आरोप छ।

यता विद्यालयले भने रीमाले अन्यत्र विवाह गरेर गएका कारण अध्ययन अध्यापनमा अप्ठेरो भएकाले उनको ठाउँमा स्थानीय विवाहित महिलालाई नियुक्ति गर्न उनलाई हटाइएको दाबी गरेको छ। विद्यालयले हाजिर गर्न नदिएपछि जिल्ला शिक्षा अधिकारीकै निर्देशनमा अर्को हाजिरी रजिस्टर लगेर हाजिर गर्दै काम गरेको रीमाले बताइन्। ‘मलाई विवाह भएर गएको मान्छेले फेरि यही स्कुलमा आएर पढाँउदा बेइज्जत हुँदैन भन्दै व्यवस्थापन समितिले पटकपटक थर्काए,’ उनले सुनाइन्, ‘मैले विवाह गर्नु नै गल्ती देखाइयो।’

खत्रीलाई नोकरीबाट नहटाउन अदालतको आदेश
जिल्ला अदालत सिन्धुलीले कालिका प्राथमिक विद्यालयको बालविकास केन्द्रमा कार्यरत रीमा खत्रीलाई नोकरीबाट नहटाउन अन्तरिम आदेश दिएको छ। जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले खत्रीले काम गरिरहेको बालविकास केन्द्रको सहयोगी कार्यकर्ता पदमा नयाँ विज्ञापन गर्ने, भर्ना गर्ने कार्य नगर्नू ,नगराउनू भनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षका नाममा अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित: २४ भाद्र २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App