८ वैशाख २०८१ शनिबार
अर्थ

सूर्यविनायक क्षेत्र राष्ट्रिय प्राणी उद्यान

भक्तपुर– सरकारले भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रुपमा विकास गर्ने भएको छ। उद्यानको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेका हुन्।

वन तथा भूसंरक्षण मन्त्रालयले जिल्लाको साविक तीन वटा गाउँ विकास समिति अर्थात् हालका दुई वटा नगरपालिका, ७ वटा सामुदायिक वन र राष्ट्रिय वनको केही भाग समेटेर उद्यानको रुपमा विकास गर्ने काम सुरु गरेको हो । साविकको सिपाडोल, कटुञ्जे र गुण्डु गाविससहित हालको अनन्तलिंगेश्वर र सूर्यविनायक २ वटा नगरपालिका क्षेत्रको कुल २४५.१६५ हेक्टर वन क्षेत्रलाई उद्यानको रुपमा विकास गर्ने काम थालेको हो ।

चिडियाखाना स्थापना र बिस्तार गर्दै जाने लैजाने वन नीति, २०७१ बमोजिम मन्त्रिपरिषद्को २०७१ माघ २९ मा भएको निर्णय अनुसार भक्तपुर जिल्लामा एउटा राष्ट्रिय प्राणी उद्यान केन्द्र स्थापना गर्ने उद्देश्यले काम थालिएको वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले जनाए । सचिव ठाकुरका अनुसार केन्द्र स्थापना गर्न २०७१ चैत १६ को राजपत्रमा सूचना प्रकाशन गरी चार किल्ला तोकिएको छ ।
यसका लागि २०७२ श्रावण २० मा मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका २०७२ स्वीकृत गरी लागू भइसकेको छ । निर्देशिका बमोजिम आव २०७२ र २०७३ मा ५० लाख रुपैयाँ बजेट विनियोजन भई नापी कार्यालय भक्तपुरले केन्द्रको साँध सिमाना समेत छुट्ट्याइसकेको छ । साथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट एक किलोमिटर तारबार गर्न थालिएको छ । जिल्ला वन कार्यालय भक्तपुर र सुरक्षा निकायको सहयोगमा उद्यान क्षेत्र भित्रका अतिक्रमण हटाउन थालिएको  छ । साथसाथै १२ किलोमिटरको परिधिमध्ये ११ किलोमिटर तारबार गर्न इटेन्डर गरिएको छ ।

राष्ट्रिय प्राणी उद्यान निर्माण समितिका सचिव महेश्वर ढकालले चालु आव,  २०७३ र २०७४ मा उद्यानको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने योजना रहेको जनाए । आव २०७३÷०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको सदस्य सचिव ढकालले जनाए । दीर्घकालीन योजना भएकाले विस्तृत विवरण र योजना सम्पन्न मिति अहिले नै निश्चित नभएको सचिव ढकालले स्पष्ट पारे ।

वन तथा भू–संरक्षण मन्त्रालयका सहप्रवक्ता यज्ञनाथ दाहालका अनुसार दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न उद्यानलाई प्रजनन केन्द्रका रुपमा विकास गर्ने योजना रहेको सुनाए । उद्यानका सहायक संरक्षण अधिकृत मिथिलेस महतोले टुहुरा र असहाय वन्यजन्तुको आश्रय केन्द्रका रुपमा उद्यान विकास गरिने योजना रहेको सुनाए । साथै यसलाई पर्यटकको आकर्षण केन्द्रका रुपमा पनि विकास गर्ने योजना रहेको उनले सुनाए ।

कार्यक्रममा उनले प्राणी मात्रको उदारका लागि नभई सम्पूर्ण मानव जातिकै उत्थानका लागि उद्यानको महत्व रहेको चर्चा गरे । कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्नीप्रसाद सापकोटा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सम्पूर्ण मानब जातिको उत्थानका लागि बन्यजन्तुको महत्वबारे चर्चा गरे । कार्यक्रममा स्थानीय सेतीदेवी बन उपभोक्ता समितिका सचिव विश्वराम थापाले उद्यान निर्माणमा स्थानीयले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

व्यवस्थापिका संसद, वातावरण संरक्षण समितिको २०७२ जेठ ३१ को निर्णयानुसार चिडियाखाना सम्बन्धि कानूनी व्यवस्थाको अभाव देखिएकोले चिडियाखाना सम्बन्धि छुट्टै विधेयक तर्जुमा गरी व्यवस्थापिका संसदमा ३ महिना भित्र पेश गर्न निर्देशन भएको कार्यक्रममा जनाइयो ।


तस्वीर छन् ।

 

प्रकाशित: १० असार २०७३ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App