१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रेमको पाठशाला

हिमालबाट झरेको चिसो हावा
अन्त कतै नगई
माइतीको बाटो हुँदै घरसम्म पुग्थ्यो र
शीतल प्रेम बर्साउथ्यो एक अर्काप्रति

डाँडाको गुम्बाबाट क-याङ कुरुङ
जब आँगनीमाथि आकाशमा लहरै उड्थे
लाग्थ्यो यिनीहरु
काँक्रा फर्सी रोप्ने संकेत संगसँगै
शान्ति छरिरहेका छन् ।

सुख समृद्धिको फूल यसरी पूmल्थ्यो की
शायद स्वर्गका राजा इन्द्र पनि आरिस गर्थे होला
संसारलाई पूग्ने अन्न माइतीको भण्डारमा थियो
साक्षात अन्नपूर्णा थिइन आमा
अनि परिश्रमको पर्याय पनि ।

जब हजुरआमा कोमल गीता पढ्नु हुन्थ्यो
“गाई हात्ती र चाण्डाल कुत्ता सर्वज्ञ बाहुन
ज्ञानीका दृष्टिमा सवै एकै ठहर्छन बुझ अर्जुन”
तब लाग्थ्यो
म्याकमूलर, अरिस्टोटल या सुकरात भन्दा
संसारकै ठूलो दार्शनिक
मेरी आफ्नै हजुरआमा हो ।
जो सधैं मलाई कर्मज्ञान सिकाउँथिन् ।

जब राती ओछ्यानमा
हजुरआमा के के मन्त्र फलाक्नुहुन्थ्यो
तब लाग्थ्यो
ती मन्त्रले सुरक्षा कवच लगाइदिँदै हुनुहुन्छ घरलाई ।

जब खहरे गड्गडाउँदै  घर छेउबाट बग्द्थ्यो
हुण्डरीले छानो उडाउन आँट्थ्यो
मैले बुबाको हात समाए पुग्थ्यो
घरको छानो थिए बुबा
सुरक्षार्थ खटिएका बलिष्ट कमाण्डर थिए ।

जब माइतीको धुरीमा परेवाहरु घुर्थे
लाग्थ्यो यिनीहरु मन्दिरका घण्ट बजाईरहेछन्
गौंथलीहरु चिरविर गर्थे
लाग्थ्यो
यिनीहरु लय मिलाएर स्तुति गरिरहेछन् ।
ईश्वर पूज्न गैरहनु पर्दैनथ्यो कुनै मन्दिर
आशीर्वाद लिए पुग्थ्यो हजुरआमाको
प्रेमको परिभाषा सिक्न
हेर्नु पर्दैनथ्यो शाहजाहको ताजमहल
माइती स्वयं प्रेमको पाठशाला थियो ।

अहिले जब
माइती जाँदै गरेका कुनै चेली देख्छु ।
तब लाग्छ ।
ईश्वरको दर्शन गर्न यिनीहरु मन्दिर जाँदैछन् ।
अनि सोच्छु !
मन्दिरहरु किन बनाइएछन् चोक चोकमा
आमाबुबा पुजे घर नै मन्दिर हुदैनथ्यो र ?

प्रकाशित: २३ भाद्र २०७५ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App