८ वैशाख २०८१ शनिबार
अन्य

खण्डे र तीते

‘आहा ! कति न्यानो घाम ।’ बगैंचामा फलेको तीतेकरेलो रमायो । आफ्नै लहरोमा  झुन्डिएर पुस महिनाको पारिलो घाम ताप्दै खुसी भयो । बिस्तारै लहरोमै पिङ खेल्न थाल्यो, ‘चचहुई... चचहुई...।

‘आच्छु बाबा मरेँ । यो पुस त कहिल्यै नआए नि हुने !’ कसैको मसिनो आवाज उसको कानमा गुञ्जियोे । करेलोले यताउती हे¥यो । कतै कोही देखेन । फेरि पिङमै मच्चियो, ‘सररर...र...।’

‘हुँ... हुँ... हुँ... मरेँ बाबा... !’ फेरि उही रुञ्चे स्वर दोहोरियो । करेलोले अझै नियालेर हे-यो । जमीनमुनी फल्ने सखरखण्डको लहरोबाट आँसु बग्दै रैछ । उसले थाहा पायो, सखरखण्ड पो रोएको रैछ।

‘के भयो, खण्डे ?’ करेलोले सोध्यो । सखरखण्डलाई प्यारो गरी जिस्काएर बोलाउँदा ‘खण्डे’ भन्छ ऊ ।
‘जाडोले मरेँ ! आच्छुछुछु ।’ जमीन भित्रैबाट सखरखण्ड बोल्यो । ऊ बोल्दा उसको लहरो लुगलुग कामेको देखियो।

‘के भयो, खण्डे ?’ करेलोले सोध्यो । सखरखण्डलाई प्यारो गरी जिस्काएर बोलाउँदा ‘खण्डे’ भन्छ ऊ ।

करेलो जोडले हाँस्यो, ‘हा...हा...हा... ।’

‘किन हाँसेको ? मलाई दुःख परेको देखेर रमाउने !’ सखरखण्डले दुखेसो पोख्यो ।

‘बुझ्यौ खण्डे, तिमी र म बीच यही फरक छ । म सुख पाउने र तिमी दुःख पाउने !’ करेलोले भन्यो, ‘म तातो र न्यानो ठाउँमा छु, भाग्यमानी । अनि तिमी माटोभित्र चिसोमा छौ, अभागी ! यहाँ मान्छेले त चिसो भयो न्यानो पाऊँ भन्न पाएका छैनन् । तिमी को हौ र, जाडो भयो भन्दै रुन्छौ ?’

यसरी आफूलाई करेलोले अभागी भनेको सुनेर सखरखण्ड रिसायो । यसरी घमण्ड देखाउँदै आफूलाई होच्याएको उसलाई पटक्कै मन परेन ।

‘केको फूर्ति लाउँछौ तीते ?’, सखरखण्ड बम्कियो । रिस उठ्यो भने सखरखण्डले करेलोलाई ‘तीते’ भनेर जिस्काउँछ ।

रिसको झोकमै खण्डे बोल्न थाल्यो, ‘मान्छेहरू मलाई कति मीठो भन्छन् । असाध्यै मन पराउँछन् । गुलियो र स्वस्थकर छु । मान्छेमा फूर्ति ल्याउने क्यालोरी मैभित्र लुकेको छ । मैभित्रको भिटामिन ‘ए’ प्रयोग गरेपछि मान्छे अन्धो हुनबाट जोगिन्छन् । मधुमेह रोग पनि रोक्न सक्छु । ब्लडसुगर नियन्त्रण गर्ने आँट छ मभित्र । मानिसको शरीरको तौल मैले नै नियन्त्रण गरेर फिट राख्छु । छाला कोमल बनाउँछु । हड्डी बलियो पार्छु । अनि पो मान्छेहरू मलाई राम्रो भन्छन् ।’ यत्ति भन्दै सखरखण्डले सोध्यो, ‘तिमीमा छ मेरो जस्तो गुण ?’

करेलो केही बोलेन । ऊ चुप लागेको देखेर सखरखण्डले व्यङ्ग्य कस्यो, ‘हे हे विचरा, तिम्रो त नामै तीते कस्ले मन पराउँछ र ! तैपनि किन मै हुँ भन्दै मसँग यस्ता ठूला कुरा गछौ !’

‘जाडोले मरेँ ! आच्छुछुछु ।’ जमीन भित्रैबाट सखरखण्ड बोल्यो । ऊ बोल्दा उसको लहरो लुगलुग कामेको देखियो ।

करेलो पनि के कम ! एक्कासि झोक्कियो र भन्यो, ‘म तीते भए नि सबैले मेरै तरकारी रुचाउँछन् । मान्छेमा लाग्ने केही रोगको औषधी हुन्छु । उच्च रक्तचाप, मधुमेह, बाथ, पिसाबको रोग निको पार्छु । आउँ, कफ, निको पार्छु । पत्थरी, पक्षघात, बाथरोग निको पार्न सघाउँछु । मभित्रको फस्फोरसले हाड, दाँत, मस्तिष्क र मानव शरीरका अरु अङ्ग बलियो बनाउँछ । त्यही भएर मान्छेहरू मैलाई खोज्दै बजार धाउँछन् । तिम्रो पो के काम ?’

करेलोको प्रश्नले सखरखण्डलाई झस्कायो । उसले पनि आफ्नो गुण पेश गर्दै भन्यो, ‘म त झन् मान्छेहरू व्रत बस्ने बेला निकै काम लाग्छु । धर्म कमाउने भन्दै सबैले खानाको सट्टा मलाई मात्रै भोजन गर्छन् । म त सबै भन्दा शुद्ध छु, बुझ्यौ ? त्यै भएर सबैको प्यारो छु । माघे सक्रान्ति त झन् आउनै हुन्न । मेरै खोजी सुरु भइहाल्छ ।’

सखरखण्डको बदला लिने सुरमा करेलो बोल्यो, ‘दाद हटाउँछु । जुका परेमा, जण्डिस भएमा, झाडाबान्ता हैजा लागेमा, आगोले पोलेमा, पाइल्स, घाँटीको रोग सबै निको पार्न मै सघाउँछु । त्यस्तो जाबो व्रतको ध्वाँस नदिए हुन्छ, स्वाँठ !’

‘उस् ... ।’ खण्डेले पत्याएन । भन्यो, ‘खुट्टी देखे पत्याएँ । तिमी तीतेलाई मुखमा राख्दै मान्छेहरू कस्तो तीतो भन्दै मुखै बिगार्छन् । बेकारमा आफूलाई बहुमूल्य जडिबुटी नै सम्झन्छौ, बज्रस्वाँठ !’ खण्डेले पनि मुख छोड्यो ।

खण्डेको कुरा सुनेर तीतेलाई उठ्नु रिस उठ्यो । पिट्नै तम्सियो । ‘लौ खा ... ’ भन्दै लहरे हात फिँजायो । तर उसले सखरखण्डलाई छुनै सकेन । तन्केर पिट्न खोज्दा बरु तीतेको लहरो झन्डै चुडिएको ।

सखरखण्डले पुलुक्क करेलोतिर हे-यो । र भन्यो, ‘देख्यौ अर्कोलाई हेप्दा के हुन्छ ? धन्नै चुँडिएर मरेनौ !’
‘अझै जोरी खोज्छौ ?’ करेलो अझै रिसायो र भन्यो, ‘घमण्डी खण्डे !’

‘लड्ने भए आऊ । मेरो के गल्ती छ र ?’ सखरखण्ड पछि हटेन । उसले पनि करेलोलाई तैं पाखण्डी भनेर जवाफ फर्कायो ।

सखरखण्ड झोक्कियो । करेलो पनि रिसायो । जङ्गिएर बोले दुबै । भाग्यमानी र  अभागी, ठूलो र सानोको बहस रोकिएन । एकले अर्कोलाई हेप्न छोडेनन् । आपसको झगडा टुङ्गिएन । दुवैले आफैं ठूलो हुँ भन्ने प्रमाण पेश गरिरहे । दुवैको घमण्डी स्वभावले झगडा झन् बढ्दै गयो ।

त्यही बेला बगैंचामा मान्छे बोेलेको सुनियो । बगैंचाधनी आपसमा कुरा गर्दै आएका रैछन् ।

‘प्रेसर बढेर हैरान भ’को छ मेरो । करेलोको तरकारी खानुपर्छ है आज ?’ पुरुष  बोले, ‘खै ल्याउ मनिषा करेलो राख्ने टोकरी ।’

पुरुषको कुरा सुनेर करेलोले ठाडो कान लगायो । अब मर्ने भएँ भन्ने चिन्तामा डुब्यो । लत्रिएर बस्यो । उता सखरखण्ड भने खुसी भयो ।

‘मेरो आज एकादशी व्रत छ । म पनि सखरखण्ड मात्रै खान्छु !’ पत्नीले भनिन् । सखरखण्ड खन्ने फलामे कुटो र करेलो टिपेर राख्ने टोकरी बोकेर अगाडि बढिन् । अब सखरखण्ड पनि लत्रियो । उसको जाडो कता भाग्यो कता !

आफूहरूको घमण्ड चकनाचुर हुन लागेको दुवैले थाहा पाए । घमण्ड गर्नु व्यर्थ  रैछ भन्ने बुझे । दुवैले एकअर्कालाई पुलुक्क हेरे । एकसाथ आआफ्नो आँखाको आँसु पनि पुछे । तैपनि मान्छेको सेवा गर्न पाएको ठान्दै दुवै भित्रभित्रै खुसी भए।

प्रकाशित: २३ भाद्र २०७५ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App