coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘भित्तामा आफ्नो पोस्टर देख्दा सबैभन्दा खुसी’

नागरिकसँग कुराकानीका लागि तयार भइरहँदा अभिनेता प्रदीप खड्काका दुवै मोबाइल अनवरत बजिरहेका थिए । कुनै फोन परिचितका हुन्थे त कुनै अपरिचितका । त्यही दिन फिल्म ‘रोज’को प्रचारका लागि मोफसल निस्कने हतारोमा रहेका प्रदीप यसको पनि चाँजोपाँजो मिलाइरहेका थिए । यसका लागि टुरमा लिएर जाने गाडीदेखि आफूसँगै प्रस्तुति दिने कलाकार र पारिश्रमिकका विषयमा पनि निर्मातालाई सम्झाइरहेका थिए । यो सब गतिविधि हेरिरहँदा लाग्थ्यो, प्रदीप कलाकार हैनन्, फिल्मको पब्लिसिटी डिजाइनर हुन् । यही व्यस्तताका बीच उनले नागरिकका सामीप्यराज तिमल्सेनासँग उनको विगत र आगतका बारेमा कुरा गरे । प्रस्तुत छ, प्रदीपसँग गरिएको सोही कुराकानीका मुख्य अंशहरू।

‘प्रेमगीत’ पछिकोे प्रदीप खड्काको बारेमा धेरैलाई थाहा छ, त्योभन्दा अघिको प्रदीपको बारेमा सुनौं न ?
मतलब?

हिरो बन्नुअघिको यात्राको कथा । कहाँ कहिले कसरी हिरो बन्ने सोच आयो?
यसको लामो कथा छ।  

छोटकरीमा सुनौं न?
सबैभन्दा पहिले त मलाई हिरो बन्न मिल्छ भन्ने थाहा थिएन। नढाँटीभन्दा म सामान्य परिवारमा जन्मिएको हुँ। बाबा–ममी खास लिटरेट हुनुहुन्न। अझ बाबा २० वर्षको हुँदा म जन्मेको हुँ। सानो उमेरदेखि नै मलाई टिभीमा चासो थियो। सानोमा म टिभीलाई घुन्तला भन्थे। र टिभीमा कसरी छिर्ने भनेर सोच्थे। कक्षा ७/८ मा पढ्दासम्म घुन्तलामा मान्छे छिर्ने तरिका थाहा भइसकेको थियो। तर, स्कुले उमेरमा त्योसम्म पुग्ने उपायका बारेमा थाहा थिएन। यही बीचमा स्कुलमा मेरो दुइटा परिचय थियो, राम्रो पढ्ने तर असाध्यै चकचके। नेपाल वन टेलिभिजनमा ‘भुराभुरीको हल्ला खल्ला’ नामको कार्यक्रम आउँथ्यो । सोमबारको दिन सुटिङ हुन्थ्यो । एक दिन स्कुलभरिको सबैभन्दा चकचके छान्ने क्रममा म छानिएँ । कार्यक्रममा मैले प्रांक गर्नुपर्ने थियो। कार्यक्रमको फम्र्याट अनुसार मज्जाले प्रांक गरे । परिणाम राम्रै आयो । कार्यक्रममा दोहोरिन थाले । कार्यक्रममा जाँदाका दुइटा फाइदा थिए, एउटा त स्कुल पढ्न पर्दैनथ्यो, दोस्रो खानापिना सिनेमासम्म हेर्न पाइन्थ्यो । एक दिन बाबा–ममीसँग पार्टीमा गएको थिएँ, मेरै उमेरको केटाकेटीले मलाई चिने । त्यो दिन खुब दंग परे र आत्मज्ञान भयो, थप चर्चित हुनलाई प्रांक होइन, एंकर बन्न पर्ने रहेछ।

अनि,
तर घरबाट १२ सकिएपछि बाहिर जाने दबाब थियो । युएस जान प्रोसेस गरे । पहिले नेपालवानमा देखिएकाले डकुमेन्ट बनाइमाग्न, नेपाल वन गएँ । फिल्म निर्देशक निकेश खड्कासँग भेट भयो । रेकमन्डेसन त छँदै थियो, उहाँलाई एंकर बनाइदिन आग्रह गरे । उहाँले पुष्पा जोशीले नयाँ कार्यक्रम बनाउन लागेको र त्यहाँ गएर सोध भन्नुभयो । मैले पुष्पा दिदीकोमा गएर, निकेश दाइले पठाएको एंकर बन्नु छ भनेर कुरा राखे । उहाँले अडिसन लिनु भो । तर, म बोल्नै सकिनँ । उहाँले एक महिनाको समय दिनुभयो । म कार्यक्रममा विज्ञापन खोज्न थाले । यही क्रममा शैलेन्द्र खोकालीसँग भेट भयो । उहाँले दिनेश डिसीले ‘खोजी प्रतिभा’कोे कार्यक्रम गर्न लागेको, त्यहाँ जाउँ भन्नुभयो । म एंकर बन्न चाहान्थें । त्यही लोभमा दिनेश डिसी सरसँग काम गर्न थाले । तर, करिब डेढ÷दुई वर्ष काम गर्दा पनि मौका पाउने छाँट देखिनँ । बाध्य भएर आफैं एंकर बन्ने बाटो छान्नु थियो । यो सन् २०१२ तिरको कुरा हो । मैले एक दिन आफैंले आफैंलाई एंकर बनाउँछु भनेर प्रदीप मिडिया दर्ता गरे । नेपाल टेलिभिजनमा सबैसँग चिनजान भइसकेको थियो । कसरी काम हुन्छ थाहा भइसकेको थियो । त्यसैले एउटा ‘चेकमेट’ शीर्षकको डमी कार्यक्रम बनाएँ । यसमा एंकरिङ गरे । तर, मेरो एंकरिङ दर्शकले हेर्न पाएनन् । विविध कारणले कार्यक्रम प्रसारण भएन । एंकर बन्ने सपना पूरा नभए पनि खास पछुतो थिएन, किनकि यो बेलासम्म एंकरभन्दा मोडल खतरा हो भन्ने लागेको थियो । त्यसैले प्रदीप मिडियाको ब्यानरमा म्युजिक भिडियो बनाउन थाले । आठ÷दसवटा भिडियो बने, जसमध्ये दुइटामा आफू  खेले । म यतैतिर दंग परिरहन्थे होला । तर, म्युजिक भिडियो बनाउने सिलसिलामा एलिश कार्कीसँग भेट भयो र उहाँले मलाई निर्देशक रामजी लामिछानेसँग भेटाइदिनु भयो । उहाँले एक दिन ‘तिमी कपला पाल म हिरो बनाइदिन्छु’ भन्नु भयो । त्यो दिन ‘ए म हिरो पनि बन्न सक्ने रहेछु’ भन्ने महसुस भएको । उहाँको सल्लाह मानेर कपाल लामो बनाएँ । डान्स पनि सिके । उहाँले निर्देशन गरेका ओम, प्रेमिका जस्ता फिल्मको सुटिङमा पनि हिँडे । तर, उहाँले पनि आफ्नो बाचा पूरा गर्नुभएन।

त्यसपछि आफैं पैसा हालेर हिरो बन्नु भयो?
होइन, फेरि त्योभन्दा अगाडि आफ्नै पैसाले अरुलाई पनि हिरो बनाएँ।

कसलाई?
प्रशान्त तामाङ । नृत्य निर्देशक प्लस मैले प्रोड्युस गरेकोे ठूलो मान्छेको हिरो । कहिँकतैबाट पनि हिरो बन्न नपाउने भएपछि प्रशान्तजी र म मिलेर आफैं फिल्म बनाउन लाग्यौं । नाम जुर्यो ‘ठूलो मान्छे’ । काम सुरु हुँदा म हिरोमा खेल्ने कुरा थियो । तर, काम गर्दै जाँदा मलाई राम्ररी नाच्न नआउने । तर, फिल्ममा चरित्र थियो, नृत्य गर्नुपर्ने । प्रशान्तजीमा त्यो सब गुण थियो, जुन चरित्रमा चाहिन्थ्यो । पछि उहाँले त्यो चरित्र निर्वाह गर्नुभयो।

पछि ‘इस्केप’बाट डेब्यु गर्नुभयो?
तपाईं विश्वास गर्नुहुन्न, ‘ठूलो मान्छे’ हलमा खास चलेन । तर, यो फिल्मबाट हामीले घाटा खान परेन । च्यारिटी गरेर नै पैसा उठाइयो । तर, यो फिल्मले मलाई धेरै कुरा सिकायो । त्योमध्ये, सिकेको एउटा कुरा के थियो भने फिल्म राम्रो बनाउनलाई स्क्रिृप्ट राम्रो चाहिने रहेछ । यसपछि मैले वल्र्ड सिनेमा हेर्न थाले । यसरी हेरेको मध्ये ‘बास्केटबल डायरिज’ मन पर्यो । अनि एकचोटि ड्रग्सकोे लतमा फसेको मान्छेले समाजमा फर्कन कति संघर्ष गर्नुपर्छ भन्ने कथामा ‘इस्केप’ लेखे । आफैंलाई सोचेर लेखेको कथामा बल्ल हिरो भएँ।

लगानी पनि आफ्नै?
ह्जुर । प्रदीप मिडियाले नै यो फिल्म बनाएको हो।

अनि त्यत्रो पैसा कहाँबाट आयो?
अलि अलि आफूसँग थियो, अलिकति घरमा मागे।

तर, फिल्म चलेन?
चलेन । तर म जिन्दगीमा जति खुसी यो फिल्म रिलिज हुँदा थिएँ । त्यति खुसी कहिल्यै थिइनँ ।

कारण?
हिरो बन्छु भन्ने सपना नै माया मारिसकेको थिएँ । तर, फाइनल्ली मेरो सपना पूरा भएको थियो । यसको पनि विशेष क्षण थियो । फिल्म रिलिज हुने अघिल्लो दिन  बिहीबार घुम्दै बौद्ध पुगेको थिएँ । ह्यात अगाडि आफ्नो पोस्टर देखे । त्यतिबेला जति खुसी फेरि कहिलै भएको छैन । पछि त म आफैं पोस्टर टाँस्दै पनि हिँडे?

खुसी लागेर?
होइन, त्यतिबेला नगरपालिकाले रिंगरोडभित्र फिल्मको पोस्टर टाँस्न नदिने नियम बनाएको थियो । बाहिर त पोस्टर टाँसियो । तर, रिंगरोडभित्र पोस्टर टाँस्न कोही नमान्ने । अनि म आफैले पोस्टर टाँसे । पोस्टर टाँस्ने भाइहरूले गम लगाएर ठिक्क पारिदिन्थ्यो, अनि म पोस्टर टाँस्थे । प्रहरीले समाते पनि मै जान्छु भन्ने हिम्मत थियो । त्यो दिन बागबजारमा ११ बजेदेखि २ बजेसम्म पोस्टर टाँसे।

अनि ‘प्रेमगीत’ चैं कसरी पाउनु भयो?
यता हिरो बन्ने संघर्ष चलिरहँदा बीच बीचमा बाहिरतिर पनि ट्राइ गरिरहेको थिएँ । अमेरिकापछि फ्रान्स र डेनमार्क पनि ट्राई गरें । तर, दुवैतिरबाट रिजेक्ट भएँ । ‘इस्केप’पछि घरबाट पनि विदेश जान दबाब थियो । विदेश जाने नै सर्तमा पोस्टर छाप्नका लागि दुई लाख रूपैयाँ घरबाट लिएको थिएँ । यो फिल्म नचलेपछि अस्ट्रेलिया अप्लाई गरेको थिएँ । बीचैमा भूकम्प आयो । यही बीचमा ‘प्रेमगीत’का लागि नयाँ हिरोको खोजी भइरहेको खबर पाएँ । फोटो पठाएको थिएँ । फोटो टप टेनभित्र परेछ । क्यामरा फेस गरिसकेको केटो भनेर उहाँहरूले मलाई छान्नुभयो।

तर, तपाईंलाई ब्रेक दिने निर्माता निर्देशक दुवैसँग तपाईंको सम्बन्ध राम्रो छैन । यसपछिका निर्माता निर्देशक मिलन चाम्ससँग पनि तपाईंको पानी बाराबार छ?
त्यो मेरो कारणले हैन । निर्माता निर्देशकको झगडामा म बीचमा परेको हो । प्रेमगीत गर्दा दुइटा फिल्म गर्ने सम्झौता भएको थियो । पछि सन्तोष सेन र सुदर्शन थापाबीच कुरा नमिलेपछि मैले वाचा अनुरूप एउटा फिल्म गर्नुपर्ने थियो, जुन मैले ‘प्रेमगीत २’को रुपमा गरे । ‘लिलीबिली’मा पनि यही भयोा । गोविन्द शाही र मिलन चाम्सको कुरा मिलेन, म बीचमा परे । मेरो समस्या के हो भने म ‘यस म्यान’ होइन । आफ्नो प्वाइन्ट भ्यु राख्छु । कतिलाई यो बुझ्दैन।

तपाईंले अनमोल केसीलाई पनि अघोषित दुश्मन ठान्नु हुन्छ ? हरेकपल्ट उहाँले जे गर्यो त्यही गर्नुहुन्छ?
गलत कुरा हो । मैले कहिलै पनि उहाँलाई त्यो नजरले हेरेको छैन । म उद्योगमा आउँदा उहाँले अलरेडी तीनवटा हिट फिल्म दिइसक्नु भएको थियो । त्यसैले मेरो उहाँसँग तुलनै हुन सक्दैन।

तर, अनमोलले नगरेको फिल्म छानी छानी गर्ने गर्नु भएको छ?
मैले छाडेका फिल्म पनि त उहाँले गर्नुभएको छ । ‘ए मेरो हजुर ३’ पहिला मलाई अफर आएको थियो । मिलन दाइको फिल्म पनि मैले नगर्ने भएपछि अनमोलकोमा पुगेको हो । तर यसलाई इस्यु बनाउनु पर्छ जस्तो लाग्दैन । सानो ठाउँ छ यता उता भइहाल्छ।

अनमोल र तपाईं दुवैलाई आरोप छ, तपाईंका फिल्मले निर्माताको लगानी फिर्ता गरेका छैनन् । तर, तपाईंहरूको पारिश्रमिक पाँच लाखबाट बढेर ५० लाख पुगिसक्यो । निर्माताको माया लाग्दैन?
पैसाको कुरा हामीले मागेर मात्र पाउने कुरा हैन । निर्माताले हामीमा लगानी गर्दा फाइदा देखेरै लगानी गर्नु भएको होला । अरुको थाहा छैन तर मेरा निर्माता मसँग स्याटीस्फाइड छन्।

नयाँ फिल्म ‘रोज’ रिलिज हुँदैछ । कस्तो अपेक्षा छ?
त्यसो त मैले धेरै फिल्म गरेको छैन । जति गरे तिनमा लगभग एउटै खाले भूमिका गर्यो भन्ने आरोप छ । यो फिल्मले समीक्षकको त्यो आरोप चिर्छ भन्ने लागेको छ । किनकि यो फिल्ममा म अघिल्ला फिल्ममा जस्तो टिपिकल लभरब्वाई छैन।

कस्तो भूमिका छ तपाईंको?
घोषणादेखि नै सबैलाई थाहा छ, मैले आफ्नै प्रेमिकाको हत्या गरेको छु जसलाई मैले हत्या हैन मुक्ति दिएको भन्ने गरेको छु । एउटा इमान्दार प्रेमी कसरी प्रेमिकाको हत्या गर्ने सोचमा पुग्छ फिल्मको कथा यसैको वरिपरि घुमेको छ । मैले यो फिल्म गर्नुको मुख्य कारण पनि यही कथा नै हो।

प्रकाशित: २३ भाद्र २०७५ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App