४ वैशाख २०८१ मंगलबार
समाज

गोली प्रहार गरी महोत्तरीमा लाखौकाे धनमाल लुटपाट, पाँच घाइते

महोत्तरी – महाेत्तरीकाे सितापुर भंगहा नगरपालिकामा गएराति लाखौको लुटपाट भएको छ। सितापुर भंगहा नगरपालिका–६ जमुनियाका अर्जुन भुजेलको घरमा शुक्रबार राति साढे एघार बजे तिर १०/१५ जनाको संख्यामा आएको लुटेराको समूहले लाखौको धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ।

लुटेराहरुले गोली फायर गर्दै भुजेलको घरबाट ३० हजार नगद, ४१ तोला चाँदी, ७ तोला सुनका गरगहना र दुई थान मोवाइलसहित करिव १० लाख मूल्य वराबरको धनमाल लुटेको बताइएको छ।

लुटेराहरुको प्रतिकार गर्न खोज्दा उनीहरुले फायर गरेको गोलीको छर्रा लागेर  र कुटपिटबाट घरका पाँच सदस्य घाइते भएका छन्। गोलीको छर्रा लागेर घरमुली अर्जुन घाइते भएका छन् भने उनकी श्रीमती अंजु देवी, छोरा दिपेन्द्र भुजेल, अमित भुजेल र सुमन बुढाथोकी कुटपिट र खुकुरी प्रहारबाट घाइते भएका छन्।
घाइते सबैको उपचार वर्दिवासस्थित शुभ स्वास्तिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

राति करिब साढे एघारबजे तिर हात हतियार, सुतली बम, रड, खुकुरी सहित आएका लुटेराहरुले घरको ढोका खोल्न लगाई घर भित्र प्रवेश गरे लगतै अर्जुनमाथि गोली फायर गर्दै लुटपाट मच्चाउन शुरु गरेका थिए।  पहिलो गोली फायर गर्दा अर्जुन भुजेलको गालामा छर्रा लागेको थियो। गोली प्रहारपछि  लुटेराहरुले घरका सबै सदस्यहरु माथि अन्धाधुन्ध कुटपिट गर्न थालेको पिडित अर्जुनले बताए।

लुटेराहरुले चार राउण्ड गोली फायर गरेको भनिएकोमा तीन राउण्ड गोलीको खोका घटनास्थलबाट बरामद् भएको प्रहरीले जनाएको छ।

घटना लगत्तै त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरी अपराधिको खोजी कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले बताए।

प्रकाशित: २३ भाद्र २०७५ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App