७ वैशाख २०८१ शुक्रबार
अन्य

राज्यले नचिनेको रत्न

काठमाडौं उपत्यकाको सुन्दर काँठ गुण्डुमा एउटा निजि विज्ञान प्रयोगशाला छ । त्यहाँ हरेक दिन व्यस्त हुन्छन् वैज्ञानिक सूर्यभक्त नकर्मी। घामपानी मतलब नगरी यतिवेला उनी एउटा नयाँ सृजनामा समर्पित छन् । त्यसको नाउँ हो–सेमी कोष्टर।

आखिर के हो त कोष्टर?

रेलका डब्बा जस्ता छुट्टाछुट्टै दुइटा डब्बा हुनेछ त्यसमा, जहाँ एकैपटक ८ जना बस्न सक्छन् । बिजुलीको सहयोगमा कोष्टर जमिनबाट १० फिट माथि उठेर तल झर्दा भित्र बस्नेहरुको आङ सिरिङ हुन्छ!

‘डरसँगै मनमा रोमाञ्चक अनुभूति मिल्नेछ’, शुक्रबार बिहान कालो चिया सुरुप्प पार्दै उनले सुनाए, ‘बालकदेखि बृद्धसम्म रमाउन सक्नेछन् त्यसमा।’

कहिलेसम्म चढ्न पाइएला त त्यसमा?

‘६० प्रतिशत काम सकियो’, उनले भने, ‘४ महिनाभित्र चिडियाखानामा राख्ने योजना छ।’

कोष्टर बनाउन ३५ लाख रुपैयाँ खर्च हुनेछ । यो नै उनको पहिलो सृजना होइन, यस अघि उनले बनाएका सृजनामा विशेषतः बालबालिका लोभिएका छन् । जावलाखेलको चिडियाखानामा राखिएका बाल रेल, हेलिकोप्टर, घोडा, फन्नी टेम्पल सबै उनकै सृजना हुन्।  

ऋणको जिन्दगी बाँच्दैछन् उनी । विभिन्न बैंक र सहकारीलाई उनले २ करोड ३० लाख रुपैयाँ तिर्नुछ । चिडियाखानाको कमाईले व्याज तिर्न पनि पुग्दैन । महिनैपिच्छे दुई लाख रुपैयाँ ऋण खोजेर व्याज तिर्दै आएका छन् ।

उनको पहिलो सृजना हो–फन्नी टेम्पल। कहिले तल, कहिले माथि, कहिले दायाँ, कहिले बायाँ घुम्ने टेम्पल हाइड्रोलिक कन्ट्रोलबाट चल्छ । त्यसमा २० जना बस्न मिल्छ । चिडियाखानामा ०५७ सालमा फन्नी टेम्पल राखिएको।  

उनले बैंककको सिको गरेर नेपालमा फन्नी टेम्पल बनाएका । विगतमा उनी नेपाल वायुसेवा निगमका मेकानिक थिए । उनले ०३७ देखि ०५२ सालसम्म त्रिभुवन विमानस्थलमा काम गरे । त्यहिक्रममा उनी ०४४ मा बैंकक पुगे । त्यहाँको रिक्रियसनल पार्कमा फन्नी टेम्पल जस्ता खेलौना देख्दा मनमनै गुने, ‘यस्तै चिज नेपालमा बनाउन पाए कस्तो हुन्थ्यो होला!’

सानैदेखि उनको दिमाग टेक्निकल थियो । मनमा कुरा खेलिरह्यो । बैंककमा देखेको दुई वर्षपछि ०४६ सालदेखि उनी सृजनामा घोत्लिए । उनलाई कसैले यो काम गर भनेको होइन, आफ्नै मनले भनेर गरेका हुन्।    

आँखाले देखेको र किताब पढेको भरमा अन्ततः उनले बनाए, फन्नी टेम्पल । १० वर्षको अनवरत प्रयासपछि बल्ल ०५६ सालमा बन्यो।  

बाल रेलचाहिँ ०६० सालदेखि चिडियाखानामा राखे । त्यसमा ५ देखि १० वर्ष उमेरका बालबालिका चढ्छन् । ०६८ सालदेखि त्यहाँ इलेक्ट्रिक घोडा थपियो । धेरै बालबालिका रमाउने उनको अर्को सिर्जना हो–हेलिकप्टर।

चिडियाखानामा ४ वटा हेलिकप्टर छन् जसमा एकैपटक ८ जना अटाउँछन् । त्यहाँ ०६९ मा राखियो हेलिकप्टर । कोष्टरले पनि धेरैलाई मनोरञ्जन दिलाउने छ।    

नयाँनयाँ सृजना गरिरहेका छन् सूर्यभक्त । प्राचीन नगर भक्तपुरको दत्तात्रयमा जन्मे/हुर्केका उनी अचेल भक्तपुरकै सूर्यविनायक नगरपालिका–७ गुण्डुमा बस्छन् । उनको घरमै छ प्रयोगशाला।

आफ्ना सृजना एकैपटक बाहिर ल्याउँदैनन् उनी । सुरक्षाको कुरा हुन्छ त्यसैले पटकपटक परिक्षण गर्छन्। यसो गर्दा धेरै रकम र समय लाग्छ । सुरुमा उनलाई धेरैले पत्याएनन्, बरु नवदुर्गा फाइनान्सले पत्यायो । त्यतिबेला ऋणधन गरेर २५ लाख रुपैयाँमा फन्नी टेम्पल बनाएका थिए उनले।

आज ऋणको जिन्दगी बाँच्दैछन् उनी । आत्तिएका छैनन्, मनमा हिम्मत छ । उत्साह छ । विभिन्न बैंक र सहकारीलाई उनले २ करोड ३० लाख रुपैयाँ तिर्नुछ । चिडियाखानाको कमाईले व्याज तिर्न पनि पुग्दैन । व्याज र खर्चका लागि मासिक ६ लाख रुपैयाँ चाहिन्छ।

‘महिनैपिच्छे दुई लाख रुपैयाँ ऋण खोजेर व्याज तिर्दै आएको छु’, आत्मविश्वासको भ¥याङ चढेका सूर्यभक्त भन्छन्, ‘कोष्टर राखेपछि राहत मिल्नेछ।’

उनले चिडियाखानामा ४ जनालाई रोजगारी दिएका छन् । चिडियाखानाले हरेक तीन–तीन वर्षमा टेण्डर गर्छ, ठेक्कामा लगाउँछ । यसो गर्दा उनलाई मार परेको छ । ‘चिडियाखानाले ठेक्कामा दिनु साटो वर्षैपिच्छे निश्चित रकम बढाउने हिसाबले सम्झौता गरे सजिलो हुन्थ्यो’, उनको आग्रह जायज छ।

आखिर नेपालमा यस्ता सामान बनाउने अरु को नै छ र ! अरुले नआँटेको काम गर्ने साहसी हुन् सूर्यभक्त। उनलाई चिडियाखाना प्रशासनले मात्रै होइन, सिंगो राज्यले समेत चिनेको छैन । राज्यले उनलाई सम्मान गर्नुपर्ने हो । तर, हाम्रो देशमा चाकडी र राजनीतिका आधारमा पुरष्कृत गर्ने चलन छ । राम्रा मान्छे सितिमिति राज्य हाँक्नेका नजरमा पर्दैनन्।  

त्यसो त मान–सम्मानको भोक लागेको छैन उनलाई । फेरी कर्मवीरहरु मानसम्मानको पछि दर्गुदैनन् । ‘मलाई कुनै तक्माको रहर छैन’, उनी भन्छन्, ‘आफ्ना सृजनामा मान्छेलाई सेवा गर्न पाउनु नै मेरा लागि ठूलो पुरस्कार हो।’      

उनी ५९ वर्षका भए । अलिकति नाउँ कमाए पनि दाम कमाउन बाँकी नै छ । जिन्दगी चलाउन दाम चाहिन्छ । अहिले त ऋणकै थुप्रोमा बस्नु परेको छ।

सृजनाका हिसाबले अब्बल छन् उनी । उनको अनुभव भन्छ, ‘दृढ इच्छाशक्ति, विषयप्रतिको ज्ञान, निरन्तर मेहनत, आँट र पैसा भए सफलता मिल्छ।’

उनको जीवन सार्थक बन्दैछ । कोष्टरपछि ‘खेलौना रकेट’ बनाउने धुनमा छन् । प्रयोगशालामा त्यसको परिक्षण गरिसके । घर माथि दधिकोटको अनन्तलिंगेश्वर डाँडामा रकेट बनाउने योजना छ । त्यसका लागि ७ रोपनी जग्गा भाडामा लिएका छन्।

रकेट ३० फिट अग्लो हुनेछ । त्यसभित्र १२ जना अटाउनेछन् । रकेट जमिनबाट २५ फिट माथि जान र १६ फिट दायाँ–बायाँ घुमाउन सकिन्छ । भित्र बस्दा अन्तरिक्षमा गएको अनुभव हुनेछ।  

‘छोराले जीवनमा राम्रो काम गरोस्’ भन्ने आमा पुनमाया र बा भक्तलालको सपना पूरा गर्दैछन् उनी । उनको काममा परिवारको राम्रो साथ छ । श्रीमती उत्तमेश्वरी र दाई कृष्णभक्त हरपल साथ दिइरहन्छन्।

सानैदेखि विज्ञानमा रुचि राख्थे उनी ।  स्कुले जीवनमा इन्जिनियर बन्ने सपना थियो । एसएलसी परीक्षापछि उनले थापाथलीको टेक्निकल टे«निङ इन्स्टिच्युटमा अटो मेकानिक्स पढे । र, नेपाल वायुसेवा निगममा जागिर खाए । त्यहाँ इन्जिनियरहरुसँगको संगतले उनको क्षमताले तिखारिने मौका पायो।

र, आज राम्राराम्रा सृजना गर्न सफल छन् उनी । नयाँ नयाँ सोच र सृजनाका धनी सूर्यभक्त नकर्मीहरूलाई राज्यले प्रोत्साहन गर्ने दिन कहिले आउला ? उनीहरुको होस्टेमा हैंसे गर्ने वातावरण कहिले बन्ला?

प्रकाशित: २३ भाद्र २०७५ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App