६ वैशाख २०८१ बिहीबार
समाज

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ

काठमाडौंको कपनमा अस्थायी टहरा बनाएर बसिरहेका आप्रवासी रोहिन्जा समुदाय। फाइल तस्बिर : नागरिक

काठमाडौं - भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गी आप्रवासी घुसपैठ गराउनह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ। गिरोहले रोहिन्जा र बंगलादेशीलाई आकर्षित गरी मोटो रकम लिएर नेपालमा घुसपैठ गराइरहेको छ। गिरोहका नाइकेका रूपमा नेपाली महिला विवाह गरेका अफगान नागरिक सक्रिय रहेको पाइएको छ। यसरी अवैध रूपमा काठमाडौं आइपुगेका बंगलादेशी र रोहिन्जाहरू बूढानीलकण्ठ–११ को कपन क्षेत्रमा टहरा बनाएर बसोबास गर्दै आएका छन्।

निरन्तर रूपमा गैरकानुनी आप्रवासी भित्र्याएपछि कपनका बासिन्दाले ती अफगानीलाई लखेटेका थिए। आप्रवासी र स्थानीय बासिन्दाबीच गत वर्ष झडपको स्थिति उत्पन्न भएको थियो। घटनाबारे सुरक्षा निकायमा खबर गर्दा बेवास्ता भएको थियो। रोहिन्जा बसोबास गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ११ का वडाध्यक्ष राजु अधिकारीले भने, ‘नेपाली महिला विवाह गरेका अफगान नागरिक गैरकानुनी आप्रवासी भिœयाउन सक्रिय रहेछन्। स्थानीयको प्रतिकारपछि उनी देखा परेका छैनन्। तथापि, रणनीति परिवर्तन गरेर त्यस्ता गिरोहको गतिविधि जारी छ।’

गैरकानुनी रूपमा ल्याउने र छाड्ने गतिविधि गरिरहँदा घुसपैठ हुने संख्या बढ्दै गएको छ। अफगान नागरिकले देशबाहिर समन्वय गरी ल्याउने र नेपाली महिलाले बासस्थान खोजेर राखिदिने गर्दै आएका छन्। जसका कारण काठमाडौं उपत्यकाको रिङरोड वरपरका क्षेत्रमा भाडामा बस्ने आप्रवासीको संख्या बढ्दै गएको छ। कपन, हात्तीगाैंडा, बूढानीलकण्ठ, महाराजगन्ज, बानियाँटारलगायतका क्षेत्रमा गैरकानुनी आप्रवासीहरू कोठा भाडामा लिएर बस्दै आएका छन्। बेलाबेलामा आप्रवासी भिœयाउने गिरोहका सदस्य बस्तीमा आउनु र आप्रवासीको संख्या बढ्नुले गतिविधिले निरन्तरता पाएको पुष्टि हुने अधिकारीको भनाइ छ।

योजनाबद्ध रूपमा मानव तस्करको गिरोहले आप्रवासीलाई भिœयाइरहेको जानकारी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जानकारी गराउँदासमेत सुरक्षा निकायले आँखा चिम्लिए जस्तो गर्नु गम्भीर विषय हो।

कसरी भित्रिए रोहिन्जा र बंगलादेशी
अध्यागमनदेखि सीमा नाकामा खटिएका सुरक्षाको कमीकमजोरीको फाइदा उठाउँदै गैरकानुनी आप्रवासीको प्रवेशले निरन्तरता पाएको हो । कतिपय सीमा नाकामा केही पैसा पाएमा जाँच नगरी छाडिदिने सुरक्षाकर्मीको कमी छैन । यसले पनि घुसपैठ गराउने गिरोहलाई सजिलो भएको छ। सुरक्षा सम्बद्ध जिम्मेवार निकायका अधिकारीहरू घुसपैठको योजनाबद्ध शैलीबारे जानकार छैनन्। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी रोहिन्जाको गैरकानुनी प्रवेशलाई विशेष परिस्थितिको उपज भन्छन्। गैरकाननुी आप्रवासीले कानुनी मान्यता पाउने कुनै आधार नरहेको उनको भनाइ छ । तर, योजनाबद्ध तरिकाले घुसपैठ भएर आएकाहरूलाई शरणार्थीको दर्जा दिलाएर नेपालमा रहने अवस्था बनाउने गतिविधि भइरहेको छ। विभिन्न स्थानमा छरिएर रहेका रोहिन्जा, बंगलादेशीलगायत गैरकानुनी आप्रवासीहरू शरणार्थीको मान्यता पाएमा एकीकृत हुने पर्खाइमा छन्। कानुनको छिद्र खोज्दै यस्तो प्रयास निरन्तर जारी छ।

२०७२ सालको महाभूकम्पपछि मात्र रोहिन्जाबारे कपनवासीले थाहा पाउन थालेका हुन्। स्थानीय लेखनाथ दाहाल भन्छन्, ‘भूकम्पपछि घर छाडेर टहरामा आउनुपर्दा रोहिन्जाहरू जग्गा भाडामा लिएर टहरा बनाई एकै ठाउँमा बस्न थाले । कृषि मजदुर र घर निर्माणमा काम गर्दै आएका रोहिन्जालाई स्थानीयवासी बर्मेली भन्थे। उनीहरूले टहरा लिएर बसेपछि मात्र कपनवासीले रोहिन्जा गैरकानुनी आप्रवासी हुन् भन्ने थाहा पाए।’ सुरुमा दुई स्थानमा बसेका उनीहरूको संख्या बढी चार स्थानमा बस्न थालेको वडाध्यक्ष अधिकारी बताउँछन्। रोहिन्जा आप्रवासी कपन राममन्दिर नजिकै दुई ठाउँमा, लसुनटारमा र बालुवाखानीमा बस्दै आएका छन्।

भूकम्पका बखत एक सयभन्दा कम संख्यामा देखिएका गैरकानुनी आप्रवासीको संख्या पछिल्लो समय तीन सय २० पुगेको छ। आधिकारिक तथ्यांक कसैसँग नभए पनि गृहप्रवक्ता रामकृष्ण सुवेदी तीन सय हाराहारीमा गैरकानुनी आप्रवासी रहेको बताउँछन्। नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले पनि यति नै संख्यामा ती आप्रवासीलाई शरणार्थीसम्बन्धी पत्र दिएको जनायो। तर, वडाध्यक्ष अधिकारी साढे ६ सयको संख्यामा गैरकानुनी आप्रवासी रहेको बताउँछन्। उनी भन्छन्, ‘संख्या निरन्तर बढिरहेको छ। यसले पनि गैरकानुनी आप्रवासी भिœयाउन गिरोह नै सक्रिय रहेको पुष्टि हुन्छ।’

कपनमा आप्रवासीको बढ्दो संख्याबारे स्थानीयले चासो राख्न थालेपछि तस्कर गिरोहले एकै ठाउँमा नभई अलगअलग स्थानमा गैरकानुनी आप्रवासीको व्यवस्थापन गर्न थालेको छ। त्यसबापत गिरोहले निश्चित रकमसमेत लिने गरेको छ। निर्माण क्षेत्रमा काम गरिरहेका एक रोहिन्जा भन्छन्, ‘नेपालसम्म आउन खर्च तिरेको छु।’ वडाध्यक्ष अधिकारीले पनि रोहिन्जाले निश्चित रकम तिरेर नेपाल प्रवेश गरेको बताएको जानकारी दिए। आफूहरूको व्यवस्थापन होस् भनेर रोहिन्जाले टहराको समेत कर तिर्न वडामा आएको उनको भनाइ छ। उनी भन्छन्, ‘कर लिने त परै जाओस् अवैध रूपमा सम्झौता गरेर बसेको जमिन भाडाबारे प्रश्न उठाइएको छ।’ स्रोतका अनुसार प्रतिरोपनी एक लाखभन्दा माथि ६ जना व्यक्तिको झन्डै १८ रोपनी जग्गा भाडा लिइएको छ। भाडा सम्झौताका लागि संयुक्त राष्ट्रसंघको उच्चायुक्तले शरणार्थी प्रमाणित गरेको पत्रको नक्कल प्रति राखेर निवेदनसमेत वडा कार्यालयमा पुगेको छ। पत्र पाँच वर्षको म्याद राखेर दिइएको छ।

कहाँ छन्
सडक र घर निर्माणमा भरियादेखि मिस्त्रीका रूपमा रोहिन्जालगायत गैरकानुनी आप्रवासी काम गरिरहेको फेला परेको छ। कतिपय बंगलादेशी नागरिक प्लम्बिङ र वाइरिङको काममा समेत छन्। त्यस्तै उनीहरू सस्तो श्रमिकका रुपमा भेटिएका छन्। रिङरोड निर्माणमा समेत रोहिन्जा र बंगलादेशी शरणार्थी काम गर्दै आएका छन्। कतिपय रोहिन्जा ठेकेदार भइसकेका छन्। वडाध्यक्ष अधिकारीका अनुसार काममा लगाउन उनीहरूका नाइकेलाई सम्पर्क गरेपछि मात्र निस्कन्छन् र ज्याला पनि नाइकेलाई दिनुपर्छ। कम पैसामा काम लगाउन पाउने भएकाले त्यस्ता आप्रवासीको प्रयोग उद्योगधन्दामा समेत हुन थालेको छ। भारतीय नागरिक दाबी गर्दै बंगलादेशी गैरकानुनी आप्रवासीले श्रम बजारमा प्रभाव देखाउन थालेपछि नेपालमा श्रम गर्दै आएका भारतीय मुसलमान समुदायसमेतले चासो देखाउन थालेको छ। वाइलडिङको काम गर्दै आएका एक भारतीय नागरिक भन्छन्, ‘यो क्षेत्रमा गैरकानुनी रूपमा नेपाल छिरेका बंगलादेशीको संख्या बढ्दो छ।’

अन्तर्राष्ट्रिय निकायको चासो
कपनमा चार स्थानमा टहरा हालेर बसेका तीन सय २० रोहिन्जाले संयुक्त राष्ट्रसंघको नेपालस्थित शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले प्रमाणित गरेको पत्र पाएका छन्। बाँकी संख्याले किन पत्र पाएका छैनन् भन्ने विषयले प्रश्न खडा गरेको छ। त्यहाँ बसेकामध्ये कतिपय गैररोहिन्जासमेत रहेको स्रोतको भनाइ छ । नयाँ व्यक्ति शिविरमा बढ्दै जानुले उनीहरू काठमाडौंबाहिरसमेत छरिएर रहेको र बिस्तारै प्रवेश गरिरहेको बुझिएको छ। समस्या बढिरहे पनि समाधानका लागि उपाय निस्केको छैन। राष्ट्रसंघले गृह मन्त्रालयसँग समन्वय गरी यसलाई समस्या ठानेर समाधानका लागि कार्य गर्दै आएको दाबी गर्ने गरेको छ । तर, शरणार्थीको समस्या भोगिसकेको नेपाल अन्तर्राष्ट्रिय चासोबाट सशंकित छ। सरकारको उच्च स्रोतले रोहिन्जा शरणार्थी समस्या बिमस्टेक राष्ट्रहरूसँगको सवाल भएकाले यसबारे समाधान खोजेर नेपालमा रहेकालाई समेत फर्काउन पहल गरिरहेको जानकारी दियो।

शरणार्थीको आधिकारिक कार्ड लिएर नेपालमा रहेका रोहिन्जाले समस्या ल्याउन सक्ने अवस्था प्रबल छ। संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी प्रमाणपत्रका आधारमा कपनस्थित राजन खत्रीको जग्गा भाडामा लिएको आधिकारिक सम्झौता गर्न वडा कार्यालयमा पुगेको पत्रले नयाँ समस्या ल्याएको छ। वार्षिक एक लाख २० हजार रुपैयाँ दिने गरी भएको सम्झौताको कागजपत्रलाई आधिकारिकता दिने गरी नगरपालिकामा निवेदन पुग्नुलाई उक्त क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले गम्भीरताका साथ लिएका छन्।

ती शरणार्थी किन कपन क्षेत्रमा पुगे भन्ने अर्को गम्भीर विषय हो। विगत चार वर्षयता उनीहरूले कपन क्षेत्र रोज्नुमा त्यस वरपर तिब्बती शरणार्थी रहनुलाई पनि जोडेर हेर्न सकिन्छ। कपनमा बस्दै आएका गैरकानुनी आप्रवासी विदेशी निकायबाट थप सुविधा पाउनका लासग शरणार्थीको मान्यता पाउन सक्रिय छन्। सोचे जस्तो सहयोग नपाएपछि दातृ निकायसँग रोहिन्जाका नाइके समेत असन्तुष्टि पोख्न थालेका छन्।

सुरक्षा अधिकारी के भन्छन्
सुरक्षा सम्बद्ध निकायले रोहिन्जा र बंगलादेशीलगायत गैरकानुनी आप्रवासीको घुसपैठलाई गम्भीरतापूर्वक लिएको दाबी गरेको छ। गृह प्रवक्ता रामकृष्ण सुवेदी गैरकानुनी आप्रवासीको सवालमा गृह मन्त्रालय गम्भीर रहेको बताउँछन्। उनी भन्छन्, ‘गैरकानुनी आप्रवासी विशेष परिस्थितिको उपज भएकाले मानवीय कारणले पनि सोचिएको हो तर त्यसलाई नजरअन्दाज गरिएको छैन।’

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डे कुनै पनि प्रकारका गैरकानुनी आप्रवासीको प्रवेश रोक्न देशभरका सीमा पोस्टलाई सजग रहन निर्देशन दिएको बताउँछन् । गैरकानुनी रूपमा प्रवेश गर्न खोजेका आप्रवासीलाई रोकेर फर्काएको उनको भनाइ छ । तर, नेपाल प्रहरीका अधिकारीहरू भने गैरकानुनी आप्रवासीको घुसपैठबारे बोल्न चाहँदैनन् । एक प्रहरी अधिकारी भन्छन्, ‘यसबारे नबोल्ने र निगरानीमा राख्ने निर्देशन छ।’

नेपाली सेनाले पनि रोहिन्जा प्रवेशलाई गम्भीरताका साथ लिएको छ । कपनको अस्थायी शिविरबारे जानकार रहे पनि अन्य क्षेत्रमा छरिएर रहेकाबारे सेनाले जानकारी नभएको बतायो । सैनिक स्रोत भन्छ, ‘सुरक्षासँग जोडिएको विषय भएकाले हामी गम्भीर छौं।’

नेपाल र भारतको १८८० किलोमिटर सीमामा भारततर्फ पाँच सय ३० र नेपालतर्फ ८९ बोर्डर निगरानी नाका छन् । नाका छलेर आउने स्थान धेरै भए पनि योजनाबद्ध रूपमा ल्याइएकाहरू सीमानाका छलेर प्रवेश गर्दै आएका छन् । सशस्त्र प्रहरी बलका एक अधिकारी भन्छन्, ‘विभिन्न समयमा वीरगन्ज–रक्सौल नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने रोहिन्जा र बंगलादेशी गैरकानुनी आप्रवासीलाई फिर्ता पठाइएको छ।’ अध्यागमनका एक अधिकारीका अनुसार रोहिन्जा कसरी प्रवेश गरे भन्ने जानकारी नभए पनि खास गिरोहको योजनाबिना सम्भव नभएको बताउँछन् । यसमा मानव तस्करहरूको समेत भूमिका हुनसक्ने उनको भनाइ छ । अनुहार भारतीय नागरिकजस्तै देखिने भएकाले ठम्याउन मुस्किल पर्ने सुरक्षा अधिकारीहरू बताउँछन्। भाषा र लवजले पहिचान गर्न सकिने भए पनि त्यसलाई ठम्याउने जनशक्ति र तालिम अभाव छ।

सुरक्षा प्रमुख तथा गृहको उच्च तहको पछिल्ला बैठकमा रोहिन्जा र बंगलादेशी आप्रवासीको विषयले महत्व पाउने गरेको स्रोतले बतायो।

सम्भावित प्रवेशमा कडाइ गरिएकाले रोहिन्जा र बंगलादेशीको घुसपैठ नियन्त्रण हुँदै गएको दाबी सुरक्षा स्रोतले गरेको छ । तर, योजनाबद्ध तरिकाले घुसपैठ गराउने गिरोहले भिन्न नाका र सीमाका छिद्र प्रयोग गर्न सक्ने सम्भावना उत्तिकै छ । यसमा कडाई नगरे सुरक्षामा समेत खतरा पर्न सक्ने गरी घुसपैठ हुन सक्छ। यस विषयलाई सुरक्षा सम्बद्ध उच्च अधिकारीहरूले गम्भीरतापूर्वक लिएको एक उच्च अधिकारीले बताए।

प्रकाशित: २३ भाद्र २०७५ ००:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App