coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको विकासमा जाइकाले सहयोग गर्ने

काठमाडौं– जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका)ले काठमाडौं महानगरपालिकाको विकासमा सहयोग गर्ने बताएको छ। शुक्रबार मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा जाइकाका नेपाल प्रमुख साखुमा जुनले महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन्। 

उनले महानगरको फोहोरमैला व्यवस्थापन र ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतमा आफूहरु सहकार्य गर्न तयार रहेको बताए। मेयर शाक्यको कार्यकक्षमा करिब २ घण्टा कुराकानी गरेको जुनको टोलीले नेपालमा अहिले स्थायी सरकार बनेको भन्दै आफूहरु दीर्घकालिन सहयोगका लागि उत्साहित भएको बताएका थिए। ‘हामी काठमाडौं महानगरपालिकासँग दीर्घकालिन सहकार्य गरेर जान इच्छुक छौँ’, जुनले भने, ‘महानगरको फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतका कुरामा हामी सहकार्य गर्न चाहन्छौँ। यसका लागि केन्द्रीय सकारसँग पनि छलफल गर्न चाहेका छौँ।’

जुनले आफ्ना भनाई राखेपछि मेयर शाक्यले पनि जाईकासँग राम्रो प्राविधिक टिम रहेको भन्दै महानगरको विकासमा सहकार्य आफूहरु पनि तयार रहेको बताए। ‘नयाँ संविधान जारी भएसँगै नेपालमा स्थायी सरकार बनेको छ,’ शाक्यले भने, ‘हामीलाई जापान जस्तो अनुभवी प्राविधिक टिमको सहकार्य मञ्जुर छ। तर, त्यसका लागि निरन्तर छलफल आवश्यक छ। तपाईँहरुले पनि आफूहरुले के कुरामा र कति, कसरी सहयोग गर्न चाहनु भएको छ। प्रष्ट खाका बनाएर ल्याउनुहोला।’ 

शाक्यले राष्ट्र र महानगरको हितमा हुने सहयोगको खाका जाइकाले दिएको खण्डमा आफू केन्द्रीय सरकारसँग पनि छलफल गर्न तयार रहेको जानकारी दिए। ‘महानगरपालिका आफू मात्रै समृद्ध बन्ने होइन छिमेकलाई पनि समृद्ध बनाउने अभियानमा छ। महानगरपालिकाले यही कुरालाई ध्यानमा राखेर छिमेकी १० ओटा नगरपालिकालाई आर्थिक सहयोगको थालनी गरेको छ’, शाक्यले भने, ‘तपाईँहरुले महानगरसँग सहयोगको हात अघि बढाउन चाहेका छौँ भन्दा मलाई पनि खुशी लागेको छ। हामी निरन्तर छलफल गरेर अघि बढौँ।’ 

उनले महानगरपालिकाले स्मार्ट पार्किङ भवन निर्माण गर्ने, काठमाडौँ मेघा प्रदर्शनी हल निर्माण गर्ने जस्ता योजना अघि बढाएको भन्दै त्यसमा पनि सहकार्य गर्न सकिने बताए।  

जाइकाका प्रतिनिधिले कोटेश्वरको अण्डरपास, काठमाडौँमा मोनोरेल, मेट्रोरेल सञ्चालन जस्ता कुरामा पनि जिज्ञासा राखेका थिए। मेयर शाक्यले यी सबै विषयमा बृहत छलफल गरेर अघि बढ्न सकिने जानकारी गराए।

प्रकाशित: २२ भाद्र २०७५ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App