८ वैशाख २०८१ शनिबार
अन्य

‘जनतालाई विकासको प्रत्याभूत गराएका छौं’

शंकरमान महर्जन, वडाध्यक्ष दक्षिणकाली नगरपालिका–६

जनप्रतिनिधि भएपछि जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै वडामा थुप्रै काम गरेका छौं । वडा कार्यालयले विकास निर्माणको कामलाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेका छौं । ढेविको स्थानदेखि सरस्वती स्थानसम्मको तीन फिटे गोरेटो बाटोलाई १० फिटे बनाएका छौं । उक्त गोरेटो बाटोमा पहिले हिँडडुल गर्न समेत मिल्दैन्थ्यो । अहिले एम्बुलेन्स तथा अन्य सवारीसाधन सहज ढंगले चल्ने भएका छन् । वडामा एक सयभन्दा धेरै बिजुलीका तथा सोलारबत्ती जडान गरेर रातको समयमा झिलिमिली बनाएका छौं । ढेविको स्थानदेखि इन्द्रयाणी जाने सडक सीमांकन गरेका छौं । अबको केही समयभित्रै सडक विस्तार गर्ने तयारीमा जुटेका छौं । वडा कार्यालयको अगुवाईमा जीर्ण भएर भत्किएका ऐतिहासिक सत्तल तथा मठमन्दिर निर्माणलाई अगाडि बढाएका छौं।

तपाईँको वडामा खानेपानीको समस्या छ, कहिले व्यवस्थापन गर्नुहुन्छ?
फर्पिङ बजार अग्गो भूभागमा अवस्थित छ । भौगौलिक बनावटकै कारणले फर्पिङ क्षेत्रमा खानेपानीको व्याप्त समस्या देखिएको छ । वडामा माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न सकिरहेका छैनौं । त्यसैले वडामा खानेपानीको समस्या देखिएको हो । शेषनारायण क्षेत्रमा खानेपानी लिफ्टिङ गरेर वितरण गरिरहेका छौं । नगरपालिका र वडा कार्यालयले खल्र्कुमा एक लाख क्षमताको खानेपानीको टयाङ्की निर्माण सम्पन्न गरेको छ । अबको ६ महिनाभित्रै खानेपानीको वितरण गर्ने तयारी गरेका छौं । उक्त खानेपानी योजनाबाट करिव ४ सय घरधुरी लाभान्वित हुने अपेक्षा गरेका छौं । ढेवी, फुलचोक, फर्पिङ बजार लगायतका स्थानमा खानेपानीको समस्या देखिएको छ।

कृषकको लागि कस्तो योजना अघि सार्नुभएको छ?
वडा कार्यालयले कृषि क्षेत्रको विकास र प्रवद्र्धनको काम गर्दै आइरहेको छ । हामी निवार्चित भएर आएसँगै कृषि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेका छौं । वडा कार्यालयले कृषकको लागि कृषि उपकरण र बीउविजनमा अनुदान दिँदै आइरहेको छ । बेला–बेलामा कृषकलाई तालिम तथा अभिमुखीकरण र तालिम दिँदै आइरहेका छौं । वडामा अहिले  विभिन्न समूह गठन गरेर व्यावसायिक कृषि खेती हुँदै आइरहेको छ।

सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा करिव २० रोपनी जति सार्वजनिक जग्गा रहेको छ । २० रोपनीमध्ये करिव एक–दुई रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । स्थानीयले आफ्नो घरछेउ तथा खेतबारी छेउमा रहेको जग्गा खेतीको लागि उपयोग गरिरहेका छन् । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएको छ । त्यसैले सरकारको नीति अनुसार नै सार्वजनिक जग्गा संरक्षणमा लाग्नेछौं । वडा कार्यालयले एक वर्षभित्रै अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्ने योजना बनाएका छौं।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ, सुधार्न कस्तो योजना अघि सार्नुभएको छ?
अन्य स्थानमा रहेका सामुदायिक विद्यालयको स्तर खस्किए पनि मेरो वडामा त्यस्तो छैन । वडामा एक माध्यामिक र एक आधारभूत विद्यालय छन् । फर्पिङ माविले एसइईको परीक्षामा शत प्रतिशत नजिता ल्याएको छ । त्यस्तै गरी मनकामना आधारभूत विद्यालयले पनि उत्कृष्ट नतिजा ल्याइराखेको छ । वडा कार्यालयले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न अभिभावक र शिक्षकसँग बेलाबखत छलफल गरेर सुधार्नेतर्फ अग्रसर भइरहेका छौं।

कला संस्कृति संरक्षण गर्न कस्ता योजना अघि सार्नुभएको छ?
फर्पिङ ऐतिहासिक तथा प्राचिन बस्ती हो, जहाँ नेवार समुदायको बाहुल्यता रहेको छ । करिव ९० प्रतिशत नेवार समुदाय र अन्य १० प्रतिशत अन्य समुदायको बसोबास गर्दै आइरहेका छन् । वडा कार्यालयले प्राचीन कला संस्कृति संरक्षण र जर्गेनाको लागि पहलकदमी गर्दै आइरहेको छ । वडा कार्यालयले पुराना बाजागाजा तथा नृत्य संरक्षण गर्न वार्षिक बजेट छुट्टाउँदै आइराखेको छ । फर्पिङ क्षेत्रमा ऐतिहासिक मठमन्दिर रहेका छन् । हरिशंकर जात्रा, बज्रयोगिनी जात्रा, कृष्णजन्माष्टमी मनाइन्छ । त्यस्तै गरी दक्षिणकाली देवी, दक्षिण मनकामना, शेषनारायण लगायतका ऐतिहासिक मठमन्दिर रहेका छन् ।

तपार्इँको वडामा भूकम्पपीडितको समस्या कस्तो छ?
२०७२ सालको भूकम्पले वडामा करिव ६ सय घरधुरी भत्किएका थिए । भत्किएका घरमध्ये हालसम्म २० प्रतिशत मात्रै पुनर्निर्माण सम्पन्न भएको छ । अधिकांश भूकम्पपीडितको घर बन्न सकेको छैन । तीन सय भूकम्पपीडितले पहिलो किस्ताबापतको राहत रकम पाइसके । दोस्रो किस्ता पाउनेको संख्या एक सय ५० रहेको छ । त्यस्तै गरी तेस्रो किस्ता पाउनेको संख्या ६० छ । अधिकांश भूकम्पपीडितसँग आफ्नो जग्गाको लालपूर्जा छैन । मोही र तहसिलबीचको जग्गा नछुट्टिदा जग्गाको किताकाट हुन सकिरहेको छैन । वडा कार्यालयले भूकम्पपीडितको भवन निर्माणको लागि सहयोगी भूमिका खेलिरहेको छ । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बेवास्ताकै कारणले भूकम्पपीडितले अहिलेसम्म राहत रकम पाउन सकिरहेका छैनन्।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि ८५ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेट सबै शीर्षकमा खर्च गरिसक्यौं । वडा कार्यालयले खानेपानी, सडक, कृषि, महिला तथा लक्षित वर्गलाई  समेटेर खर्च गरेका थियौं । बजेट न्यून भएकाले वडाको विकास पूर्वाधार निर्माणमा समस्या देखिएको हो।

चालु आर्थिक वर्षको लागि पनि ८५ लाख रूपैयाँ नै बजेट विनियोजन भएको छ । वडा कार्यालयले खानेपानी, पूर्वाधारलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको छ ।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
फर्पिङ ऐतिहासिक एंव सांस्कृतिक महत्व बोकेको एरिया हो । प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिभराउ क्षेत्र हो । त्यसैले वडा कार्यालयले फर्पिङ बजार क्षेत्रलाई समेटेर धार्मिक पर्यटनको विकास गर्न खोजिरहेका छौं । पौचडाडा क्षेत्रमा चिल्ड्रेन पार्क बनाउने योजना अघि सारेका छौं । गत वर्ष उक्त क्षेत्रमा सम्याउने तथा सडक मर्मतसम्भारको काम गरिसकेका छौं । दक्षिणकाली मन्दिर वरपर ५५ हेक्टर सार्वजनिक जग्गा रहेको छ । उक्त क्षेत्रमा अहिले ३० वटाभन्दा धेरै पिकनिक स्पट रहेका छन् । वडा कार्यालयले पिकनिक स्पटमा खानेपानी तथा बिजुलीको व्यवस्था गरेको छ । दक्षिणकाली मन्दिर क्षेत्रमा पिकनिक गर्न चाहनेले दुई हजार रूपैयाँ तिरेर स्पट बुकिङ गर्ने व्यवस्था मिलाएका छौं । वडा कार्यालयले नयाँ होटल तथा अन्य व्यवसायीलाई पर्यटन क्षेत्रमा लगानी गर्ने वातावरण बनाइरहेका छौं ।

प्रस्तुति : हिमाल लम्साल

प्रकाशित: २२ भाद्र २०७५ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App