युवराजले सोधे, ‘कस्तो उपाय गुरु?’

शुक्रबार, २२ भदौ २०७५, ११ : ०० युवराज गौतम

रोमको सभ्यता जगत्–प्रसिद्ध मानिन्छ । गवेषक, अध्येता र विवेचकहरूको भूमि हो, रोम । ईशापूर्व १५० तिर लिखित कानुन (रोमन ल) बनाउने त्यहाँका शासक तथा विद्वान्–विदूषीका बारेमा आज पनि अनुसन्धान भइरहेकै छ । शासक र जनता दुवै सत्यका पक्षमा छन् भने राष्ट्र अवश्य समुन्नत बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत ग-यो रोमले । राष्ट्रनिर्माणको पवित्र लक्ष्य थियो, रोमनहरूको । त्यसैले पुरानो सभ्यताको अध्ययन गर्दा रोमको नाम अवश्य आउँछ।

फ्रान्सले लगातार तर्साउने, सताउने र दबाउने गरेकाले पनि जर्मनीका जनतामा राष्ट्रिय एकताको भावना प्रबल हुँदै गयो । कालीगण्डकी नदी पूर्व र पश्चिमका ‘बाइसे–चौबीसे’ भनिने राज्यहरूलाई राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकृत गरेझैँ अटोफन बिस्मार्कले जर्मनीको एकीकरण गर्दै राष्ट्रवादको अदम्य चेतना जागृत गरे । जनतालाई सत्यका पक्षमा उभ्याउन समर्थ बिस्मार्कले फ्रान्सलाई हायलकायल पारे । फ्रान्सले इटलीको अधीनमा रहेको ट्युनिसिया कब्जा गरेपछि इटली क्रुद्ध थियो । त्यसको प्रतिशोध लिन जर्मनीसँग मिल्यो इटली । जर्मनी सशक्त हुँदा ब्रिटेन र फ्रान्स दवै सशंकित हुन पुगे । तर आफ्नो भाषा, धर्म, संस्कृति र प्राचीन सभ्यताप्रति गर्व गर्ने जर्मनीका जनता सत्यका पक्षमा दृढ अठोटका साथ उभिइरहे । लक्ष्य र अठोट स्पष्ट छ भने राष्ट्रले शिर झुकाउनु पर्दैन । बिस्मार्कले त्यही प्रमाणित गरेर देखाए । तर शक्तिको स्पर्धाले युरोप दुई ध्रुवमा विभक्त हुन पुग्यो । त्यसले भय र अनिश्चितता बढ्दै गयो।

सिंहदरबार र बालुवाटारको बार्दलीबाट सबै सुन्दर देखिएला तर यथार्थ त्यस्तो छैन।

जर्मनी र ब्रिटेन आर्थिक शक्ति बन्ने होडबाजीमा लाग्दा दक्षिण अमेरिकी राष्ट्रहरूमा समेत त्यसको प्रभाव पर्दै गयो । ब्रिटेनको एकाधिकार समाप्त पार्न जर्मनीले कठोर नीति लियो । आर्थिक स्वार्थ प्रबल बनाउन ब्रिटेनले झैँ जर्मनीले पनि सैनिक शक्ति सशक्त बनाउने प्रतिज्ञा ग¥यो । ब्रिटेन र फ्रान्स जर्मनीका बैरी छँदै थिए । त्यही बेला बाल्कन क्षेत्रमा युद्धको दावानल सल्कियो । सर्बियालाई रसियाले उचाल्यो । अस्ट्रियाका युवराज फर्डिनान्डको हत्या भयो, बोस्नियाको राजधानीमा । प्रथम महायुद्धको मुख्य कारण (निहुँ) पनि त्यही बन्न पुग्यो।

त्यो लडाइँ (प्रथम विश्वयुद्ध) नेपालका लागि हारजितको विषय थिएन । हामी ब्रिटेन र जर्मनीको शत्रुतामा तटस्थ बस्नुपथ्र्यो तर त्यसो हुन सकेन । भारतमा शासन गरिरहेका र सबै महादेशमा फैलिएका ब्रिटेनका शासकले नेपालका सुरा, बलिया, फुर्तिला र इमानदार ठिटाहरू युद्धका निम्ति साह्रै योग्य छन् भन्ने बुझिसकेका थिए । विश्वलाई थर्काउने अंग्रेज फौजलाई सिन्धुलीगढीको युद्धमा परास्त गर्न सक्ने गोर्खाली (नेपाली) फौजको कीर्ति संसारभर फैलिइसकेका थियो । त्यसैले, प्रधानमन्त्री चन्द्रशमशेरसँग मित्रता गरेर ब्रिटेन (अंग्रेज) सरकारले हजारौँ नेपालीहरूलाई आफ्ना तर्फबाट युद्धमा सरिक गरायो । सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धमा हजाराँै नेपाली मारिए । नेपालका छोराहरूलाई युद्धमा पठाएबापत श्री ३ चन्द्र शमशेरले ठूलो आर्थिक फाइदा लिए । त्यही ‘आँसु पुछाउनी’ (क्षतिपूर्ति) रकमबाट निर्माण भयो, एकहजार चारसय कोठाको विशाल सिंहदरबार । ब्रिटेनबाट प्राप्त रकमले सेनाका लागि भनेर बनाइयो, त्रिचन्द्र मिलिटिरी अस्पताल । काठमाडौँको टुँडिखेल नजिकै बनेको सो अस्पतालको निर्माण ‘फिस्टे महाराज’ भनिने चन्द्र शमशेरले आफ्नै रेखदेखमा बनाएका थिए । नेपाली सेनाका पूर्वकर्नेल तथा साहित्यकार नीरविक्रम ‘प्यासी’ (राणा) बिरामी भएर सोही अस्पतालमा बसेका थिए, २०४० सालतिर । त्यसबेला उनी पुराना कुरा सुनाउँथे, “मेरो जिजुबुबाले मर्जी हुन्थ्यो, सिंहदरबारबाट दिनहुँ बग्गीमा सवारी हुन्थ्यो रे चन्द्र शमशेर महाराज । त्यसबेला नाइके र ज्यामीहरू सतर्क हुन्थे । कसैले बेठीक गर्लान् कि भनेर सबैथोक ‘चेक’ गरिबक्सन्थ्यो रे । त्यसकारण नब्बे सालको भूकम्पले पनि अस्पतालमा क्षति पुगेन।”

प्रथम विश्वयुद्धमा संसारभर ३३ अर्ब डलर बराबरको क्षति भयो भनेर लेखेका छन् इतिहासकारहरूले । जर्मनीको राजमुकुट उडाएर लग्यो त्यही युद्धले । धेरै राष्ट्र क्षतविक्षत भए । हजारौँ नेपाली चेलीहरूको पनि सिन्दुर पुछियो । हजारौँ नेपाली आमाबाबुले सन्तान गुमाए । पोल्यान्ड, चेकोस्लोभाकिया, फिनल्यान्ड, रुमेनिया र युगोस्लाभियाजस्ता नवोदित राष्ट्र उत्पन्न भए पनि महायुद्धका दुष्परिणामले करोडौँलाई भयभीत बनाइरह्यो । राष्ट्रवादको लहर त आयो तर राजनीतिक अस्थिरताले धेरै राष्ट्रलाई हल्लाइदियो । संसार अनिश्चित बन्दै गयो।

जनतामा बढेको चरम असन्तुष्टि, निराशा र वितृष्णाले राजनीतिक प्रणाली र दलहरूप्रति नै दिन प्रतिदिन घृणा बढ्दैछ । यस्तो अवस्थामा आस्थाविहीन र अराजक भीडले समाज हल्लाउन सक्छ । त्यही बेला विदेशी षड्यन्त्रकारीहरूले मौका छोपेर राष्ट्रिय एकताका सम्पूर्ण आधारहरू भत्काउन सक्छन् । अठोटको अग्निपरीक्षामा सरकार, राजनीतिक दलहरू, राज्यसंयन्त्र एवं जनतासमेत कमजोर देखिएका छन् ।

१९१९ जुन २८ मा फ्रान्सको भर्साई (भर्साइल होइन) मा भएको सन्धिमा हस्ताक्षर गरेर जर्मनीले ‘शान्ति रोजेको’ उद्घोष त ग-यो तर भित्रभित्रै जर्मन जनता प्रतिशोधको आगोमा जलिरहेका थिए । जनताको मनभित्र असन्तोष, विद्रोह र पीडाको आगो छ भने त्यो हत्पत्ति निभ्दैन । जर्मनीका जनता पनि ब्रिटेनसँग प्रतिशोध लिने अठोट गरेर समय पर्खिरहेका थिए । सन् १९३३ मा ल्याइएको वेइमर संविधान विफल भएपछि जनताले राष्ट्र हाँक्न सक्ने नेता भन्दै हिटलरलाई शक्तिशाली बनाए । उनी नेतृत्वमा पुगेपछि सन् १९३९ मा सुरु भयो, दोस्रो महायुद्ध । त्यसले त खरानी नै बनायो, जर्मनीलाई । तर युद्धपछि जर्मनी पुनः सबल बन्न साहसपूर्ण सौर्य देखाउँदै जुरुक्क उठ्यो । त्यसको एउटै कारण थियो प्रबल अठोट । जनताको रगतमा ‘मेरो राष्ट्र म बनाउँछु’ भन्ने चेतना, प्रतिज्ञा र स्वाभिमान छ भने त्यो राष्ट्र अवश्य उठ्छ । त्यसैले, नेपालको सन्दर्भमा कुरा गर्दा हामीसँग जल, जमिन, जंगल र अर्बाैं डलर बराबरका स्रोतसाधन त छन् तर राष्ट्रलाई उठाउने सत्य, लगन, इमान, साहस, अठोट र स्वाभिमान देखिएन । जसलाई हामी नायक भन्छौँ, ती राष्ट्रनायक हुनै सकेनन् । किनभने राष्ट्रनायकले त राष्ट्रको हित मात्र हेर्छ । दलका नायकहरू गुट, उपगुट र निजी स्वार्थ मात्र हेरिरहेका छन् । त्यसैमा अल्मलिइरहेका छन् । मतदाता र जनता पनि गुटउपगुटमै रमाएका छन् । राष्ट्रलाई जर्जर बनाउने काममा हामी जनता पनि जिम्मेवार छौँ भन्न लाज मान्नु पर्दैन।

राजा विलियम केजरले बिस्मार्कलाई किन चान्सलर बनाए ? केन्याका जनताले जोमो केन्यातालाई किन राष्ट्रनायक बनाएर राष्ट्रको नाम केन्या राखे ? अहर्निश, अथक र अटुट परिश्रम गरेर नेपाललाई विश्व समक्ष उभ्याउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह किन अतुल्य बन्न पुगे ? जाहिर शाहलाई आज पनि अफगान जनताले श्रद्धापूर्वक सम्झिन्छन् किन ? युगोस्लाभिया टुक्राटुक्रा भएर क्षतविक्षत हुँदै गर्दा त्यहाँका जनताले मार्सल ब्रज टिटोलाई सम्झिन्थे, आजसम्म सम्झेकै छन् । सन् १८६० मा अब्राहम लिंकन अमेरिकाको सोह्रौँ राष्ट्रपति बने । आज पनि प्रथम राष्ट्रपति जर्ज वासिङ्टन र लिङ्कनको नाम सम्मानपूर्वक लिइन्छ । संसारका कैँयन् राजनेतालाई जनताले उठ्नेबित्तिकै बिहानै सम्झिन्छन् । त्यस्तालाई ‘प्रातः स्मरणीय नेता’ भनिन्छ।

नेपालमा बिहानदेखि मध्यरातसम्म सामाजिक सञ्जाल, संवाद र सञ्चारमाध्यममार्फत अधिकांश नेताले गाली खाइरहेकै हुन्छन् । सरकारी सञ्चारमाध्यम र आफ्ना गुटका सीमित व्यक्तिबाहेक सबैले सम्मान गर्ने नेता बितेका दश वर्षमा दुर्लभ हुँदै गएका छन् । त्यसो भए लाखौँ आलोचकहरू वर्तमान व्यवस्थाकै विरोधी हुन त् ? अवश्य होइनन् तर युवा पुस्तामा चरम निराशा बढ्दै गएको छ । जुन अत्यन्त घातक सिद्ध हुन सक्छ।

हरेक कालखण्डमा साधारण मानिस असाधारण नायक बन्न सक्छ । तर प्रधानमन्त्री वा मन्त्री बन्नु मात्र उपलब्धि होइन । अठोटको अग्निपरीक्षामा उत्तीर्ण भएर इतिहास निर्माण गर्नेहरू विरलै हुन्छन् । सन् १७८९ मा राष्ट्रपति चुनिएर आठ वर्ष राष्ट्राध्यक्ष भए जर्ज वासिङ्टन । उनको अठोटको केन्द्रविन्दु थियो आर्थिक प्रगति । अलेक्जेन्डर हेमिल्टन जस्ता योग्य व्यक्तिलाई उनले अर्थ मन्त्रालयको नेतृत्व सुम्पिदिए । परिवर्तन देखियो केही वर्षमै । जनतामा व्याप्त रहेको आशंका बिस्तारै हट्दै गयो।

फ्रान्सबाट सन् १८०३ मा लुजियाना किन्यो अमेरिकाले । मिसिसीपीको किनारमा पर्ने सो राज्य उर्वर थियो । त्यस्तै सन् १८६७ मा इन्ड्रयू जोन्सनका पालामा रसियासँग किनिएको थियो अलास्का । त्यसपछि हवाई राज्य अमेरिकामा विलय भयो १९५९ मा । फ्रान्स र ब्रिटेनबीचको प्रथम विश्वयुद्धमा तटस्थ थियो अमेरिका । आर्थिक समृद्धि र ‘घर बलियो राख्नुपर्छ’ भन्ने नीतिमा ऊ प्रतिबद्ध थियो । धनी हुँदै गएपछि अमेरिकाले स्पेनबाट फ्लोरिडा राज्य खरिद ग¥यो । पुराना उद्योगलाई नयाँ जीवन दियो अमेरिकाले । सपना बेच्ने फौबन्जार र चटके नेता थिएनन् त्यहाँ । त्यसैले इमानदार नेतृत्व पाएकै कारण राष्ट्र समृद्ध हुँदै गयो । यस्तै, मेक्सिको समेत गाभिएपछि अमेरिकाको क्षेत्रफल झन् बढ्यो।

“क्षितिजपारि सुन्दर संसार छ तर त्यहाँ पुग्न अठोट चाहिन्छ । आशा र विश्वास चाहिन्छ,” फ्रयांकलिन डी. रुजबेल्टको यो कथन प्रेरक मात्र छैन, मननीय पनि छ । राष्ट्रनिर्माणका निमित्त चाहिने धेरै आधारभूत पक्षमध्ये आर्थिक समृद्धि मात्र सबैथोक होइन भन्ने कुरा चीनका राष्ट्रनिर्माता छिन्–सी–हाङ्तीदेखि पृथ्वीनारायण शाह, जोमो केन्याता र बिस्मार्कहरूले उदाहरण प्रस्तुत गरेका छन्।

चीनका महान् दार्शनिक गुरु कन्फ्युसियस राजाका छोराहरू एवं शिक्षादीक्षामा चाख राख्ने कुलीन परिवारका बालक र किशोरहरूलाई गुरुकुल शैलीमा आफ्नै आश्रममा पढाउँथे । युद्धकला, राजनीति, अर्थशास्त्र, धर्म–दर्शन, कूटनीति आदि जस्ता विषयमा पारङ्गत बनाउँथे उनी।

दीक्षान्त समारोह समापन भएपछि गुरुले सोधे “अब तिमीहरू आफ्ना घर फर्किंदैछौ । केही जिज्ञासा छ भने सोधे हुन्छ।”

एकजना युवराजले सोधे, “पिताको स्वर्गवासपछि राज्यको बागडोर मैले सम्हाल्नुपर्छ । राज्य सञ्चालनका लागि बलियो अर्थतन्त्र, निपुण राजनेताहरू, असल कूटनीतिज्ञहरू, विद्वत्वर्ग, सबल सेना सबैथोक चाहिन्छ भन्ने कुरा गुरुले सम्झाउनुभयो तर त्यो त सहज अवस्थामा मात्र सम्भव छ । राष्ट्र संकटमा पर्दा के गर्ने गुरु?”

गुरु बोले, “तिमीले सही प्रश्न ग¥यो युवराज । राष्ट्रमा संकट आउन सक्छ । सेना र कर्मचारीलाई तलब–सुविधा दिन सकिएन भने उनीहरू पनि कर्तव्यच्युत हुन्छन् । कूटनीतिज्ञ र राजनीतिज्ञहरू राजासँग टाढिन्छन् । सुखमा मात्र सबैजना शासकका वरिपरि हुन्छन् । दुःखमा राज्य टिकाउन गाह्रो पर्छ । तर एउटा उपाय छ।”

“कस्तो उपाय गुरु ?” चेलाले सोधे।

गुरुले उत्तर दिए, “सबै प्रजा (जनता) बेइमान र बैगुनी हुँदैनन् । राजा र राष्ट्रले दुःख पाउँदा, राष्ट्रमा संकट पर्दा पनि उनीहरूले साथ दिन्छन् तर जनतासँगको विश्वास, प्रेम र आत्मीयता कायम राख्दै राजाले राष्ट्र बचाउने अठोट गर्नुपर्छ । अनिकाल परेर अन्न नहुँदा पनि जनताले जंगलको पानी र कन्दमुल खाएर शत्रुसँग युद्ध गर्न सक्छन् । सेना भागे पनि देशभक्त जनता भाग्दैनन्, उनीहरूलाई माटोको माया हुन्छ । हतियार छैन भने पनि बाँसका सुइरा, ढुंगा र घुयेँत्रो बोकेर पनि जनताले युद्ध गर्छन् । शासक र जनताबीच नै विश्वास, माया र सद्भावना रहेन भने शत्रुले हेप्छन् । त्यो बेला राष्ट्र गल्र्याम्गुर्लुम ढल्छ।”

आजका शासकले पनि त्यति बुझे पुग्छ । जनतामा बढेको चरम असन्तुष्टि, निराशा र वितृष्णाले राजनीतिक प्रणाली र दलहरूप्रति नै दिन प्रतिदिन घृणा बढ्दैछ । यस्तो अवस्थामा आस्थाविहीन र अराजक भीडले समाज हल्लाउन सक्छ । त्यही बेला विदेशी षड्यन्त्रकारीहरूले मौका छोपेर राष्ट्रिय एकताका सम्पूर्ण आधारहरू भत्काउन सक्छन् । अठोटको अग्निपरीक्षामा सरकार, राजनीतिक दलहरू, राज्यसंयन्त्र एवं जनतासमेत कमजोर देखिएका छन् । त्यसैले अस्थिरता अरु बढ्ने र राजनीतिले अर्कै बाटो लिन सक्ने खतरा देखिएको छ । सिंहदरबार र बालुवाटारको बार्दलीबाट सबै सुन्दर देखिएला तर यथार्थ त्यस्तो छैन।





यसमा तपाईको मत

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad