coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

हेडमास्टरको ट्याब्लेट

अमर न्यौपाने

उनले भने— ‘केटा भए पनि म छाउपडी गोठमा बसेको छु ।’
‘कसरी ?’
उनले हाँस्तै भने— ‘सानो छँदा आमासँग ।’
घामलाई समेत छिर्न गाह्रो हुने सानो र साँघुरो, अँध्यारो र दुर्गन्धित छाउगोठ ।
सीधा भएर उभिन र खुट्टा तन्काएर सुत्न मिल्थेन । तर, बालक दीपक कुँवरलाई भने उभिन र खुट्टा तन्काएर सुत्न मिल्थ्यो । सानो भएको उनलाई आमालाई भन्दा सजिलो भयो ।

जाडो महिनामा त्यति सानो गोठमा तीन–चार जनासम्म छाउ भएका महिला बस्थे । रातभरि पनि उनीहरू सुत्थेनन्, बस्थे । सुतिहाले पनि खुट्टा खुम्च्याएर गर्भको शिशुले झैँ गुटुमुटु भएर सुत्थे । भुइँमा खाट र ओछ्यान हुन्थेन, पराल ओछ्याइएको हुन्थ्यो । उनलाई चराको गुँडजस्तै लाग्थ्यो । आमाको खोकिलामा टाँसिएर छाउपडी गोठमा सुत्दा आमा चरा र आफू बचेरा भएजस्तै लाग्थ्यो । आमाको खोकिला चराको पखेँटाजस्तै लाग्थ्यो ।

एउटै छाउपडी गोठमा धेरै छाउपडीहरू बस्थे । किनभने सबैले छाउपडी गोठ बनाउने क्षमता राख्तैनथे । त्यति साँघुरोमा तीन–चार जना महिला सुत्न मिल्ने कुरै भएन । बस्थे अनि अनेक देवीदेउता र भूतप्रेतका कुरा गर्थे, कथा भन्थे, सत्य घटना भन्थे । त्यो कुराले बालक दीपकको मनमा डर पलाउँथ्यो । भूतप्रेतका कथा सुनेपछि उनी यति धेरै डराउँथे कि बाहिर सु गर्न जान पनि सक्तैनथे ।

कतिपय महिलाहरू तमाखु या सुल्फा खान्थे अनि सासू र लोग्नेका कुरा काट्थे । आफूलाई मन नपरेका र दुःख दिनेहरूका कुरा काट्थे ।
छाउ भएकी आमासँग सुतेर बिहान उठेपछि ननुहाइ घर जान पाइन्थेन । पुस–माघको जाडोमा पनि आमाले पर छाउपडी नुहाउने धारोमा लगेर उनलाई चिसो पानीले नुहाइदिन्थिन्, त्यसपछि बल्ल उनी घर जान पाउँथे । यस्तो बेला लाग्थ्यो, अबदेखि छाउ भएकी आमासँग सुत्दिनँ । तर, बेलुका फेरि सुतिहाल्न मन लाग्थ्यो । जाडोलाई आमाको मायाको न्यानोले सजिलै खाइदिन्थ्यो ।
गाउँमा छाउगोठमा बस्नुहुन्न भनेर कसैले भन्न सक्थेनन् । दुईचार अक्षर जानेकाहरू पनि चुपचाप थिए ।

चार दाजुभाइमध्ये उनी कान्छा । एक दिदी छिन् । डोटी हो घर । दिदी त अहिले पनि एकदम कट्टर छिन् । छाउ भएको बेला उनलाई छाउपडी गोठमा बस्नैपर्छ र पूरै नियम पालन गर्नैपर्छ । आफूलाई छाउपडीले छोएको थाहा पाउनासाथ कामीहाल्छिन् । दीपकलाई लाग्छ— दिदीलाई छाउगोठमा बस्दा किन दुःख नभएको होला ?

गाउँमा प्रायले पढ्न–लेख्न जान्दैनथे । जो पढेका थिए, तिनले चिठी र तमसुक लेख्नुपथ्र्यो । त्यसैले पढ्न–लेख्न जान्नेलाई भ्याइनभ्याइ हुन्थ्यो ।
ऊ बेला चिठी लेखेको ४ रुपियाँ र तमसुक लेखेको २० रुपियाँ लिने चलन थियो । अधिकांश घरका लोग्नेमान्छेहरू रुपियाँ कमाउन बम्बै जान्थे । कुनैकुनै घरबाट त चार–पाँच जनासम्म बम्बै गएका हुन्थे । यो क्रम केही कम भए पनि अझै कायम भने छ ।

उनले थुप्रैका श्रीमतीहरूको चिठी लेखे । स्कुल पढ्दा उनले गृहकार्यभन्दा धेरै गाउँका महिलाहरूको तर्फबाट तिनका लोग्नेलाई चिठी लेखे होलान् र किताबभन्दा धेरै गाउँका माहिलाका लोग्नेका चिठी पढे होलान् । उनलाई पाठ्यपुस्तकका पाठ पढ्नभन्दा ती चिठी पढ्न रमाइलो लाग्थ्यो ।

गृहकार्य लेख्नभन्दा तिनका चिठी लेख्न मज्जा लाग्थ्यो । किनभने ती चिठीमा प्रेम र संवेदना हुन्थ्यो, बैँस र व्यवहार हुन्थ्यो, उमेरको छटपटी र यौवनको प्यास हुन्थ्यो, दुःख र अभाव हुन्थ्यो । यस्ता कुराले उनलाई छुन्थ्यो । यी कुराहरूसँग उनको मन साटिन्थ्यो ।
आफ्ना लोग्नेको अत्यारले आत्तिएका ती नवयुवतीहरूले आफ्ना कुरा गद्यमा भन्दा गीतमा धेरै भन्थेः
भुइँअ गुड्ने मोटरगाडी आकाश चिलगाडी
साइघर सवारी होइजा बम्बैको ऋण काढी

ती युवतीले भनेका कुरा उनले मिलाएर लेखिदिन्थे— ...छोरा बोल्ने भएको छ । मेरो हात समातेर हिँड्न सक्ने पनि भएको छ । छोराले बुवाभन्दा यहाँ मेरो मन कटक्क काटिन्छ । तपाईं कहिले आउनु हुन्छ ? छोराले बुवा भनेर बोलाउँदा ‘हजुर’ भन्न चाँडै आउनुहोला ।
लोग्नेले पठाएको चिठी पनि उनैले पढ्नुपथ्र्यो । लेखिएको हुन्थ्यो– मेरो कम्पनीको सेठ धेरै धनी छ, तर मलाई छुट्टी नै दिँदैन । भागेर आऊँ भने रुपियाँ छैन । उसले छुट्टी दिएपछि मात्र रुपियाँ दिन्छु भनेको छ । म घर बनाउन पुग्ने रुपियाँ लिएर आउँछु । ... ... ...
चिठी यस्तैयस्तै प्रकारका हुन्थे ।

०४६ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि एमएसम्म उनले काठमान्डुमा नै पढे । उतै जागिर पनि खाए । पछि गाउँमा स्कुल चलाउने कोही भएन भनेर गाउँलेहरूले बोलाए । उनी गाउँ फर्के र स्कुल चलाउन थाले । सत्र वर्ष भयो उनले शिक्षक भएर काम गरेको ।
गाउँमा एकदम गाह्रो थियो । छाउपडीको मुक्तिको कुरा गर्दा प्रायले खिसी गर्थे । सायद उनान्सय प्रतिशतले विरोध गर्थे । एक प्रतिशतलाई हात लिएर त्यसका पछाडि जिरो थप्दै जानुपर्छ भन्ने उनलाई लाग्थ्यो । यसैले उनी छाउपडी मुक्तिको अभियानमा लागे । यस अभियानमा लाग्दा खिसी गरेर गाउँलेले उनलाई छाउपडी नेता भन्थे । यतिसम्म कि तिनीहरूले उनलाई दूधमोही पनि दिन्थेनन् । उनकोे घरको दूधमोही पनि गाउँलेले खाँदैनथे ।

उनी काठमान्डुमा आईए पढ्दै गर्दा आमालाई प्यारालाइसिस भयो । दाइहरू छुट्टिइसकेका थिए । आमा उनीतिरै थिइन् । आमालाई सेवा गर्ने कोही थिएन । त्यो दुःखमा आमाले मुटुका सबै कुना छुनेगरी भनिन्— ‘अब छाँटा(छिटो) ब्या गर बा । बुहारीको मुख देखी त मरुँला !’
उनले आमाको आँखामा हेरे । आमा तरक्क रोइन् । त्यसपछि आमाले भनेको माने र उनले किशोर अवस्थामै बिहे गरे । उनकी श्रीमती पनि अरूझैँ छाउपडी गोठमा बस्थिन् । कट्टर थिइन् । दीपकले जति कर गर्दा पनि मानिनन् । फकाउँदा, हप्काउँदा र गाली गर्दा पनि मानिनन् । भन्थिन्— ‘छाउपडी गोठमा नबस्या देउता, भूतप्रेत लाग्दा । घरमा बाघभालु लाग्दा ।’

केही सिप नलागेपछि उनले श्रीमतीलाई भने— ‘तिमी छाउगोठमा बस्न नछोड्ने हो भने म अर्को बिहे गर्छु र तिमीसँग छुट्टिएर बस्छु ।’
यसपछि भने उनी मानिन् । उनी भन्छन्— ‘महिलालाई लोग्नेले अर्को बिहे गर्छु भनेपछि सबैभन्दा बढी छुँदो रैछ ।’
उनकी श्रीमतीले मानेको तगत्तै एकदिन घरमा सर्प पस्यो । अलिकति विचलित पनि बनायो । हो न हो छाउपडी घर बसेर नै सर्प आएको हो भन्ने भयो । उनकी श्रीमती फेरि झन्डै छाउगोठ बस्न थालेकी । बुझाउन असाध्यै गाह्रो भयो ।

किन यसरी घरमा सर्प आयो भनेर उनले अनुसन्धान गर्न थाले । घरवरिपरि खेत थियो । त्यहाँ मुसाका प्वाल थिए । ती मुसा घरतिर पनि आउँथे । तिनै मुसा खान पल्केको भोका सर्पहरू मुसा खोज्दै घरतिर पनि आएका रहेछन् ।

एक दिन उनकी दिदी आएकी थिइन् । उनका लागि छाउपडी गोठ अनिवार्य थियो । कसैले ‘तेरी बुहारी छाउपडी गोठमा बस्दिन अरे’ भनेर सुनाइदियो भने पनि उनी उत्तिखेरै बिरामी भइहाल्थिन् । काम्न थालिहाल्थिन् । अहिले पनि उनी उस्तै छिन् । माघ महिना । छोरीचेलीलाई तिहार दिने चलन । उनकी श्रीमती छाउ भएकी थिइन् । दिदीलाई थाहा दिने कुरा भएन । लुकाउँदा दिदीलाई केही हुने हो कि भन्ने परीक्षा थियो ।

छाउ भएकी उनकी श्रीमतीले नै खाना, खाजा र सेलहरू बनाइन् । अब दिदीलाई दिन के गर्ने ? उनकै सल्लाहमा दिदीलाई थाहा नदिई उनकी श्रीमतीले नै दिइन् । केही हुने हो कि भनेर उनकी श्रीमती भने असाध्यै डराएकी थिइन् ।
तर, दिदीलाई केही भएन । कोही बिरामी भएनन् ।

गाउँमा विस्तारै चेतना फैलिँदै गयो । कोहीकोही महिला छाउ हुँदा पनि घरमै सफा भएर बस्न थाले । छाउपडी गोठमा बस्न छाडे ।
विभिन्न संघसंस्थाले छाउपडी गोठ त्याग्नेलाई दोसल्ला ओढाएर पुरस्कृत गर्न थाले । गाउँलेहरूलाई चेतना जगाउँदै गए । विस्तारै गाउँको घैँटामा घाम लाग्दै गयो ।

उनी त झन् हाइस्कुलमा हेडमास्टर, उच्च माविका प्राचार्य । उनको भूमिका ठूलो थियो । उनले स्कुलमा पनि छाउपडी गोठ मुक्त अभियानमा किशोरीहरूलाई प्रोत्साहित गर्न थाले । किशोरीहरू असाध्यै चाँडै परिवर्तन भए । तर, व्यहारमा अपनाउन गाह्रो भयो । आमाचाहिँ गोठमा बस्ने छोरी नबस्ने त भएन । किनभने छोरीहरू आमाकै नियन्त्रणमा हुन्छन् ।

छाउ भएको बेलामा उनीहरूको पढाइ छुट्ने अनि अनेक शारीरिक तथा मानसिक पीडा हुने । किशोरीहरू चिन्तित हुँदै भन्थे— ‘सर, हामीलाई त घरमा आमाबुवा, हजुरबा, हजुरआमाले छाउ भयाका बेला घर बस्नै दिँदैनन्, स्कुल आउन पनि दिँदैनन् ।’
अब के गर्ने त ?
सोझै गएर ‘छाउ भएको बेला छाउपडी गोठमा बस्नु हुँदैन, घरमै सफा भएर बसे हुन्छ । स्कुल पनि आउनुहुन्छ’ भन्दा तिनले झन् ठूलो प्रतिकार गर्छन् । समस्या झन् बल्झिन्छ । त्यसैले विस्तारै परिवर्तन गर्ने नरम बाटो जानुपर्छ भन्ने उनलाई थाहा थियो । उनले स्कुलका किशोरीहरूलाई सम्झाउँदै भने— ‘तिमीहरूले घरमा भन्नु कि, स्कुलमा हामीलाई हेडसरले छाउ नहुने ट्याब्लेट खुवाएका छन् । त्यसैले स्कुल पढिन्जेल हाम्रो छाउ हुँदैन । यति भएपछि तिमीहरूले छाउपडी गोठमा बस्नुपर्दैन र स्कुल पनि छोड्नुपर्दैन ।’

किशोरीहरूले हेडसरले भनेझैँ आफ्ना बाबुआमाालाई भने । हेडमास्टरले भनेको भनेपछि नपत्याउने कुरा पनि भएन । सबैले पत्याए । किशोरीहरू छाउ भए पनि स्कुल आउन थाले र घरमै बस्न थाले । तर, किशोरीहरुलाई छाउ भएको लुकाउन साह्रै गाह्रो भयो । तैपनि छाउ लुकाउनभन्दा छाउगोठमा बस्न गाह्रो हुने भएकाले उनीहरूले राहत महसुस गरे ।

यसो गर्दागर्दै दुई–तीन वर्ष बित्यो । त्यसपछि गाउँलेलाई रहस्य थाहा भयो । त्यति बेलासम्म मानिसहरू धेरैजसो परिवर्तन भइसकेका पनि थिए । थुप्रै धामी, विभिन्न संस्था, निगरानी समूह, किशोरी समूह सबै छाउपडी गोठ मुक्त अभियानमा लागेका थिए ।
सुरुसुरुमा साह्रै दुःख भयो । सबैभन्दा ठूलो दुःख नै यही हो । पछिपछि त महिलाहरूले छाउपडीको दुःख र वेदनालाई गीत बनाएरै गाउन थाले । गीतले झन् धेरै परिवर्तन गरायो । गाउँलेहरू बदलिए । गाउँले बदलिएपछि पूरै गाउँ नै बदलियो ।

 

प्रकाशित: १ आश्विन २०७३ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App