बर्लिन (एजेन्सी) – जर्मनीका मिडफिल्डर टोनी क्रुजले लोरी सानेले क्षमताअनुसारको प्रदर्शन गर्न नसक्नुमा उनको व्यवहार मुख्य कारण भएको बताएका छन्।
रूस विश्वकपमा जर्मन टोलीमा स्थान बनाउन असफल भएका २२ वर्षे सानेलाई नेसन्स लिग र पेरूविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा भने समावेश गरिएको छ । त्यस्तै सानेले जारी सिजन इङ्लिस प्रिमियर लिगमा पनि म्यानचेस्टर सिटीबाट मैदान उत्रने कमै मात्र अवसर पाएका छैनन्।
‘साने क्षमतावान् खेलाडी हुन् । तर कहिलेकाहीं लाग्छ उनको व्यवहारमा समस्या छ,’ क्रुजले भने, ‘हार होस् वा जित खेलाडीले आफ्नो व्यवहार परिवर्तन गर्नु हँुदैन ।’ गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जित्दा १० गोल गर्नुका साथै १५ गोलका लागि अवसर सिर्जना गरेका सानेलाई व्यावसायिक फुटबल खेलाडी संघले २०१७–१८ सिजनको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको थियो।
तर उनले हालसम्म सिटीले प्रिमियर लिगको नयाँ सिजनमा ४ खेल खेल्दा केवल ३० मिनेट मात्र मैदानमा बिताएका छन्।
‘उनको क्षमतामा कुनै प्रश्न छैन । उनले स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्ने हो भने उनी टोलीका मुख्य हतियार बन्न सक्छन्,’ क्रुजले भने, ‘तर जोचिम लोउले उनमा त्यो लय देखेनन् र विश्वकप टोलीमा सानेलाई छनोट गरेनन् । गत सिजन उनी पेप ग्वार्डिओलाका सधैं पहिलो रोजाइका खेलाडी थिए । तर यस सिजन ग्वार्डिओलाले पनि सानेमा स्वाभाविक लय देख्न सकेका छैनन् । त्यसैले उनी टोलीमा स्थान बनाउन संघर्षरत छन्।’
प्रकाशित: २२ भाद्र २०७५ ०३:३७ शुक्रबार