७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वका जिल्लाको खानेपानीमा समस्या

फाइल फाेटाे

इटहरी - पूर्वका १६ जिल्लाको खानेपानी कम गुणस्तरको भएको पाइएको छ। पानी परीक्षण प्रयोगशाला इटहरीले गरेको परीक्षणमा यी जिल्लाको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । प्रदेश का १४ जिल्ला र प्रदेश २ का सिरहा तथा सप्तरीका २१७ वटा नमुना परीक्षण गर्दा ३८.३ प्रतिशत पानीमा इकोली ब्याक्टेरिया रहेको पाइएको छ।

आर्थिक वर्ष २०७४–७५ मा परीक्षण गरिएको पानीको नमुनाका आधारमा इकोली ब्याक्टेरिया पानीमा हुँदा मानिस वा जनावरको दिसाको मात्रा मिसिएको हुन्छ। दिसा मिसिएको पानी पिउँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्छ।

इकोली ब्याक्टेरिया पानीमा हुँदा मानिस वा जनावरको दिसाको मात्रा मिसिएको हुन्छ । दिसा मिसिएको पानी पिउँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्छ।

नमुना परीक्षणका आधारमा ६०.६ प्रतिशत पहाडी र हिमाली जिल्लाको पानीमा इकोली भेटिएको रिपोर्टमा उल्लेख छ । यस्तै तराईको पानीमा १७.७ प्रतिशत इकोली भएको पाइएको छ । इकोली भएको पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउजस्ता रोग लाग्छन्।

चालू आर्थिक वर्षको साउनयता डेढ महिनामा पूर्वका जिल्लाका ८१ वटा नमुना पानी परीक्षण गर्दा पनि १७ वटामा पनि इकोली रहेको पाइएको छ । पछिल्लो डेढ महिनामा परीक्षण गरेर इकोली भेटिएको पानी तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीको रहेको रिपोर्टमा जनाइएको छ। पानीमा भएको इकोली हटाउनका लागि ब्लिचिङ पाउडरको प्रयोग गर्न सकिने प्रयोगशाला इटहरीका प्रमुख केमिस्ट रमेशकुमार यादवले बताए । ‘ब्लिचिङ पाउडरको प्रयोगसँगै पानीलाई पाँचछ घन्टा घाममा राखेर वा बायो स्यान्ड फिल्टर गरेर खान सकिन्छ,’ उनले भने।

पानीमा इकोली प्रायः गरेर बढी मात्रामा बर्खाका बेला हुनेगर्छ । जसले गर्दा बर्खाका बेला मनसुनपूर्व, मनसुन भएका बेला र त्यसपछिको अवधिमा पानी परीक्षण गरेर खानु स्वास्थ्यका लागि उत्तम हुनेछ। कतिपय आयोजना र खानेपानी बिक्री केन्द्रले पनि सुरुवातमा सावधानी नअपनाउने गरेकोमा यतिबेला पनि पूरै कडाइ गरिएको खानेपानी परीक्षण कार्यालयले जनायो।

खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार एउटा पानीको २७ वटा पारामिति परीक्षण गर्नुपर्ने नियम छ। तर, क्षेत्रीय पानी प्रयोगशालाले आवश्यक पर्ने एउटा नमुनाको १२ देखि १४ वटा पारामितिको परीक्षण गर्दै आएको छ।

पानी परीक्षण गर्दा तराईको पानीमा आइरनको समस्या देखिएको छ। आइरनको मात्रा ०.३ मिलिग्राम प्रतिलिटर हुनुपर्ने भए पनि २२ मिलिग्राम प्रतिलिटरसम्म भेटिएको छ। आइरन भएको पानी धेरै खाएमा वान्ता हुने र लगातार पिउनाले पेटका रोगको खतरा हुनेगर्छ।

परीक्षणका लागि ल्याएको पानीमध्ये सप्तरीको मलेखपुरमा बढी आइरन समस्या रहेको देखिएको रिपोर्टमा उल्लेख छ । पानीमा आइरन हटाउन पानीलाई फिल्टरमा हाल्दा हावाको सम्पर्क हुनेगरी माथिबाट (झरना) जस्तो गरी खसालेर फिल्टर गरी खानुपर्छ।

यस्तै पानीमा आर्सेनिक ०.०५ मिलिग्राम प्रतिलिटर हुनुपर्ने भए पनि ०.०१ देखि ०.०२ मिलिग्राम प्रतिलिटरसम्म रहेको परीक्षणमा भेटियो । आइरनको समस्या भएको पानी सिरहा र सप्तरीमै बढी पाइएको छ । लामो समयसम्म यस्तो पानी खाएमा क्यान्सर रोगको खतरा हुनेगर्छ । क्यान्सरबाहेक हातमा फोका पनि आउने समस्या हुन्छ।

आर्सेनिक भएको पानी खाँदा कञ्चन फिल्टरको प्रयोग गर्न सकिन्छ । ‘कञ्चन फिल्टरमा फलामको किल्ला राखिएको हुन्छ । फलामको किल्लाले आर्सेनिकलाई एट्याक गर्छ,’ यादवले नागरिकसँग भने, ‘मानिसलाई पानीका कारण थुप्रै रोग लाग्छ । जसले गर्दा सावधानी अपनाउनुपर्छ ।’ खानेपानी परीक्षण प्रयोगशाला कार्यालयका अनुसार तराईको पानीमा भएको खराबी हटाएर पिउने योजना भए पनि पहाडी र हिमाली जिल्लामा भने समस्या छ।

पानीको परीक्षण गर्दा एउटा नमुनाको एक हजार दुई सयदेखि दुई हजार चार सयसम्म शुल्क लाग्ने गरेको छ । यसरी पानी परीक्षण गरेर क्षेत्रीय पानी प्रयोगशालाले आर्थिक वर्ष २०७४–७५ मा दुई लाख ५५ हजार ६५० रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको डेढ महिनामा एक लाखभन्दा बढी राजस्व संकलन भएको प्रयोगशालाले जनाएको छ।

सुरक्षित पानी स्वस्थ जीवन भन्ने चेतना नहुँदा धेरैजसो व्यक्ति पानी परीक्षण नगरीकन खाने गरेका छन् । यसका लागि प्रयोगशालाले चेतनामूलक कार्यक्रम गर्दै आएको छ । यसै वर्षदेखि पानी परीक्षण गर्न मोबाइल ल्याब सेवा पनि सुरु गरिएको छ।

प्रकाशित: २२ भाद्र २०७५ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App