५ वैशाख २०८१ बुधबार
शिक्षा

प्रधानाध्यापकको आँगन मै विद्यालय

फाइल फाेटाे

रसुवा - रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा भूकम्प गएको तीन वर्षपछि पढाइ सुरु भयो। भूकम्पले बगरमा परिणत भएको लाङटाङमा बस्ती पुनस्र्थापित भएको दुई वर्षसम्म पनि नेपाल राष्ट्रिय प्रावि खुल्न सकेन। विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित भए । केही समयपछि स्थानीयको पहलमा अध्यापन सुरु भयो।

तर, अध्यापन गराउनका लागि विद्यालयको आफ्नै भवन थिएन। भवन अभाव भएपछि विद्यालयका प्रधानाध्यापक नुर्चुङ तामाङले आफ्नै घरको आँगनमा पढाइ सुरु गरे। ‘घाम लागेको समयमा आँगनमा पढाउँछौं,’ प्रधानाध्यापक तामाङले भने, ‘पानी परेको समयमा कोठामा पढाइ हुन्छ।’

विद्यालय निर्माणका लागि प्रक्रिया अघि बढाएको उनले बताए। गोसाइँकुण्ड गाउँपालिका–४ पर्ने लाङटाङमा अन्य विद्यालय छैन । त्यहाँबाट अन्य क्षेत्रमा जानका लागि दुई दिनको बाटो हिँड्नुपर्छ।

‘यहाँ एउटामात्रै विद्यालय छ,’ उनले भने, ‘यहाँ विद्यालय भएन भने विद्यार्थी पढाइबाट वञ्चित हुन्छन्।’ यहाँ २०३४ सालमा विद्यालय स्थापना भएको थियो । भूकम्पअघिसम्म विद्यालयमा २४ जना विद्यार्थी अध्ययनरत थिए । विद्यालय बन्द भएपछि शैक्षिक सत्र २०७२ मा उनले बेतलबी बिदा लिए । २०७३ मा तामाङले स्याफ्रुस्थित स्यामेवाङ्फेल माविमा अध्यापन गराए । त्यसपछि चिलिमेको सरस्वती आधारभूत विद्यालयमा अध्यापन गर्न गए।

अर्का शिक्षक फिन्जो तामाङले एक वर्ष थुमनस्थित नेरा प्राविमा अध्यापन गराए । अहिले दुवै शिक्षक लाङटाङमा छन्।

भूकम्पपछि बालबालिकाको मृत्यु भयो । केहीलाई विदेशीले स्पोन्सर गरेर काठमाडौं लगे । जसकारण यहाँ विद्यार्थीको संख्या घट्न पुगेको हो । विद्यालयमा अहिले कक्षा १ मा ९ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।

कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा दुई शिक्षक कार्यरत छन् । जिल्लाको पर्यटकीय क्षेत्रमा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थी स्पोन्सरमा पढ्नका लागि धुन्चे तथा काठमाडौंको विभिन्न सहरमा जाने गरेका छन्।

लाङटाङमा १ सय १६ घरधुरी बसोबास गर्छन् । यहाँको मुख्य पेसा व्यापार र टुरिज्म हो । भूकम्पका कारण विस्थापित हुन पुगेका सातवटा विद्यालयमध्ये दुइटामात्रै पुनस्र्थापित हुन सकेका छन्।

भूकम्प गएको ३९ महिना बितिसक्दा समेत विद्यालय पुनस्र्थापनामा पहल नगर्दा दुई सयभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएका छन्।

भूकम्पका कारण विस्थापित बन्न पुगेका करुम-याङ आधारभूत विद्यालय, बालउदय प्रावि, भूमेदेवी प्रावि, कालिका प्रावि र अनन्त स्मृति प्रावि अझै सञ्चालनमा आएका छैनन् । गाउँलेले विद्यालयको माग गरेको र अनुगमनपश्चात् विद्यालय सञ्चालनका लागि प्रक्रिया अघि बढाउने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बालकृष्ण सिंखडाले बताए । बन्न बाँकी रहेका विद्यालयले जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मा भदौ मसान्तसम्म आवेदन दिन सक्नेछन् । ०७५÷७६ मा भवन निर्माण गर्नका लागि आवेदन माग गरिएको छ । पाँचवटै गाउँपालिकाले निर्माण गर्न बाँकी विद्यालयको सूची पेस गर्नुपर्नेछ। गाउँपालिकाले सिफारिस नगरेमा विद्यालय आफैंले प्रस्ताव दिन सक्ने आयोजना प्रमुख शरदकुमार भण्डारीले बताए । प्रस्तावना माग गरिए पनि अहिलेसम्म एउटै प्रस्तावना नपरेको उनको भनाइ छ।

प्रकाशित: २२ भाद्र २०७५ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App