८ वैशाख २०८१ शनिबार
अन्य

उपत्यकामा रातीसम्म सार्वजनिक यातायात गुड्ने

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसमा साँझपख बस्न त परै जाओस् उभिने ठाउँ समेत हुँदैन । उभिएर नै जाउ न त भने पनि भनेको बेला बस नै पाइँदैन। बेलुकीपख त बस पाइहाले पनि ठेलमठेल गरेर नै यात्रा गर्न बाध्य छन् यात्रुहरू। त्यतिमात्रै होइन,  बेलुकीपख त यात्रुहरू भेडाबाख्रा कोचेजस्तै कोचिनुपर्छ । यात्रु कहिल्यै भनेको बेला आफ्नो गन्तव्यमा पुग्दैनन्।

सुन्धारा, भृकृटीमण्डप, रत्नपार्क, त्रिपुरेश्वर, नयाँबसपार्क, कंलकी, कोटेश्वरलगायत बस बिसौनीमा साँझपख घण्टौं लाइनमा बसेर सार्वजनिक बस चढ्न यात्रुको हानाथाप हुने गरेको छ। अबदेखि उपत्यकाका यात्रुले बेलुकाको समयमा सार्वजनिक सवारीसाधन चढ्नकै लागि हानाथाप गर्नु नपर्ने भएको छ। यातायात व्यवस्था विभागले बेलुकाको समयमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको कन्तविजोगलाई ध्यान दिँदै रातको १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले बेलुकाको समयमा राती १० बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बेलुकाको समयमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले सास्ती भोगेकाले गत भदौं १३ गतेदेखि सार्वजनिक सवारीसाधन रातको १० बजेसम्म अनिवार्य सञ्चालन गर्नुपर्ने नियम कार्यान्वयन ल्याएको बताए।

‘उपत्यकामा बेलुकीपख सार्वजनिक सवारीसाधन पाउनै मुस्किल भएर बस तथा मिनिबसलाई रातको १० बजेसम्म गुड्ने व्यवस्था गरेका हौं,’ उनले भने, ‘विभागले यसबारे निर्णय गरेर कार्यान्वयन गर्न यातायात व्यवस्था कार्यालय साना–ठूला सवारी कार्यालयलाई पत्राचार गरेका छौं।’

उनका अनुसार भदौं १३ गते देखि नै नयाँ सवारी दर्ता तथा रुटपर्मिट नविकरण गर्न आउने बस तथा मिनिबस कम्पनीका सञ्चालकसँग करारनामा सम्झौता गरेर बेलुका १० बजेसम्म सार्वजनिक सवारीसाधन चलाउने निर्णय भइसकेको छ।

यातायात व्यवस्था कार्यालय सानाठूला सवारी कार्यालय बाग्मतीका कार्यालय प्रमुख वसन्तकुमार पन्थीले विभागबाट सार्वजनिक सवारीसाधन रातको १० बजेसम्म सञ्चालन गर्नको लागि यातायात कम्पनीसँग करारनामा सम्झौता गरेर सञ्चालन गर्ने सम्झौता भइसकेको बताए।

‘सार्वजनिक यातायात कम्पनीसँग सम्झौता गरेर रातको १० बजेसम्म सार्वजनिक सवारीसाधन गुडाउने सम्झौता गरेका छौं,’ उनले भने, ‘रुटपर्मिट र नयाँ सवारी दर्ता गर्न आउने सार्वजनिक सवारीसाधनसँग सम्झौता गरेका छौं।’

विभागका निर्देशक सिंहले नयाँ नियम कार्यान्वयनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गरिसकेको बतए। ‘करारनामा सम्झौता गरेर सवारीसाधनले तोकेअनुसारको सवारीसाधन सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘करारनामा सम्झौता गरेर कार्यान्वयन नगर्ने सार्वजनिक सवारीसाधनको अनुगमन गरेर कारवाही प्रक्रिया अघि बढाइनेछ। पहिलो चरणमा बस तथा मिनिबसमा मात्रै कार्यान्वयनमा ल्याइएको हो।’

यात्रुहरू  विभागले कार्यान्वयनमा ल्याएको नियम कडाईपूवक कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन्। ‘बेलुकीपख सार्वजनिक सवारीसाधन चढ्न सधैं हानाथाप गर्नुपर्छ,’ रत्नपार्कमा भेटिएकी रमिता शाक्यले भनिन्, ‘बेलुका १० बजेसम्म सवारीसाधन गुडेमा यात्रुलाई धेरै हदसम्म सहज हुन्थ्यो। यसअघि पनि रातको समयमा सवारीसाधन चल्ने हल्ला गर्ने तर कार्यान्वयन नगर्ने समस्या देखिएको छ।’ उनका अनुसार उक्त नयाँ नियम कार्यान्वयनमा ल्याएमा उपत्यकामा यात्रा गर्ने यात्रुलाई सहज हुने थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विभागले यातायात व्यवसायीसँग समन्वय नगरिकन रातको १० बजेसम्म सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको बताए।

‘विभागले रातको १० बजेसम्म अनिवार्य सार्वजनिक सवारीसाधन गुडाउनुपर्ने निर्णय गरेको सुन्नमा आएको छ,’ उनले भने, ‘विभागले पूर्वतयारी बिनै ल्याएको योजना कार्यान्वयन हुनेमा आशंका देखिन्छ।’ उनका अनुसार बेलुकाको दश बजेसम्म सार्वजनिक सवारीसाधन चल्नको लागि विभिन्न पसल तथा उद्योग कलकारखाना तथा होटलहरू सञ्चालन गर्नुपर्ने हुन्छ। ‘रातको समयमा सवारीको सुरक्षा र यात्रु पाउने सुनिश्चित भएको खण्डमा हामी २४ औं घण्टा पनि सवारीसाधन सञ्चालन गर्न तयार छौं,’ उनले भने,‘सस्तो प्रचारबाजीको लागी निर्णय गर्ने र कार्यान्वयन गर्ने प्रवृत्तिको अन्त्य होस्।’

प्रकाशित: २२ भाद्र २०७५ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App