६ वैशाख २०८१ बिहीबार
समाज

अस्पतालमा छोरी, घरपुग्दा छोरा!

कैलाली - गोदावरी नगरपालिका–८ जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन्। छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियूमा भर्ना गरे। आमा प्रसूतिगृहमै भर्ना भइन् भने छोरीलाई अलग्गै भवनमा राखियो। बेलुकी एसएनसियूबाट छोरीलाई दूध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए। कालीले दूध खुवाइन्। डिस्चार्ज भएपछि घर लागिन्। घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै ‘डाइपर’ निकाल्दा खाती दम्पती छक्क परे।

अस्पतालमा शिशुलाई आमाको दूध खुवाउने बेला नर्सहरूले खाती दम्पतीकी छोरीलाई त्यहीं राखेर अर्को शिशु दिएका थिए, जुन शिशु सोही दिन एसएनसियूमा राखिएको डडेलधुराको जोगबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए।

सेती अञ्चल अस्पतालमा छोरी जन्माएकी काली खातीलाई डिस्चार्ज गर्दा एसएनसियू कक्षका स्वास्थ्यकर्मीले अर्कैको छोरा दिएर घर पठाए।

‘अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो,’ कालीका पति मेघराज खातीले भने। घर पुगिसकेका खाती दम्पतीलाई अस्पतालबाटै एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने । अस्पताल पुगेका उनीहरूको हातबाट शिशु (छोरा) थुतेर अर्को शिशु (छोरी) थमाइयो।

सञ्चो भइसकेको आफ्नो छोरा लिएर भावना बोहरा डडेलधुरा लागिन्। खाती दम्पतीकी नवजात शिशु बिरामी भएको भन्दै चिकित्सकले अस्पतालमै राखे। एसएनसियूमा चिकित्सकबाहेक अन्य प्रवेश गर्न पाइँदैन। उपचारमा संलग्न चिकित्सकले शिशु दिएकै कारण घर लगेको मेघराजले बताए। उनले भने, ‘एसएनसियूबाट एक स्वास्थ्यकर्मीले तपाईंको बच्चा ठिक भइहाल्यो, घर लैजानुस् भनेर दिइन्, हामी बच्चा बोकेर घर गयौं।’

अस्पतालमा छोरी जन्मेको चिकित्सकले सुनाए पनि घर पुगेर हेर्दा छोरा देखेपछि अचम्ममा परेको उनले सुनाए । अञ्चल अस्पतालको लापरबाहीका कारण आफ्नो बच्चा साटिएको उनले बताए। उनले भने, ‘त्यो त दुईविपरीत लिंगी हुँदा पो पहिचान भयो, एउटै लिंगका भए त समस्या पर्ने रहेछ।’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण आफूले सास्ती भोगेको उनको भनाइ छ।

घटना १८ गतेको भए पनि खाती दम्पतीका छिमेकी र आफन्त बिहीबार अस्पताल परिसरमा पुगेर सञ्चारकर्मीसँग बताएपछि घटना बाहिर आएको हो। घर पठाएको मेघराज दम्पतीलाई फेरि तुरुन्तै अस्पताल बोलाएपछि गाउँमा हल्लाखल्ला मच्चिएको उनका छिमेकी दानबहादुर बोगटीले बताए। उनले भने, ‘वास्तविकता के हो भनेर गाउँका केही व्यक्ति अस्पताल पुगेर सोधपुछ ग-यौं।’ चिकित्सकले पनि सोधपुछका क्रममा घटनाको वास्तविकता बताउनुको साटो आफूहरूलाई जेल हाल्ने र गालीगलौज गरेको उनले बताए। ‘हामीले घर पुगिसकेका सुत्केरी र बच्चालाई तुरुन्तै किन पठाएको रहेछ भनेर बुझ्न आयौं,’ उनले भने, ‘घटनाबारे बुझौं भन्दा उल्टै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेय र एसएनसियू वार्डकी इन्चार्ज मञ्जु पौडेलले गाली गरे।’

अस्पतालले बच्चा साट्नसम्मको गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन चाहेन। ‘खै त्यो समयमा कसको ड्युटी थियो, थाहा भएन,’ एसएनसियू वार्डकी इन्चार्ज मञ्जु पौडेलले भनिन्। उनले बच्चा साटिनुमा कार्यरत कर्मचारीको गल्ती भएको बताइन् । उनले भनिन्, ‘बच्चा साटिनुमा कर्मचारीसँगै अभिभावकको पनि गल्ती छ।’ तर, अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार बच्चा साटिनु आफैंमा गम्भीर त्रुटि हो। नाम नबताउने सर्तमा ती स्वास्थ्यकर्मीले भने, ‘अस्पतालभित्र यो मात्रै हैन दिनहुँ यस्ता थुपै्र गल्ती भइरहन्छन्। यसतर्फ सजग गराउनुको साटो स्वास्थ्यकर्मीहरू नै ढाकछोप गर्नमै लाग्छन्।’

प्रकाशित: २२ भाद्र २०७५ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App