चन्द्रमाया सुवाल १६ महिनादेखि भक्तपुर दरबारक्षेत्र नजिकैको अस्थायी शिविरमा सकसका साथ दैनिक जीवनयापन गर्दैछिन्। ७० वर्षीय जीवनमा थुप्रै घामपानी काटेकी उनलाई भूकम्पपछिको जीवन निक्कै कष्टकर बनेको छ। जीवनयात्राको क्रममा अभावका काँडाले पाइलैपिच्छे घोच्दा पनि यी वृद्धा कपालमा फूल सिउरेर फूलजस्तै मुस्कुराउन छाडेकी छैनन्।
'सानैदेखि कपालमा फूल सिउरिन थालेको हो,' उनले भनिन्, 'सायद यसैले हामीलाई दुःखमा पनि हाँस्न सिकायो।'
सुवालको जस्तै सोच भएका थुप्रै भक्तपुरवासीले अभावको पिडामा पनि कपाल र कानमा फूल सिउरेर मुस्कुराउन छाडेका छैनन्। कोही फूल चढाउन मन्दिर जान्छन् कोही मन्दिरमा चढाएको फूल शिरमा सिउरेर फर्कन्छन्। हरेक बिहान भक्तपुर सहरका भित्री गल्लीमा फूलको मगमग बास्ना चल्छ।
फूलको यही मगमगमा उनीहरु आफ्नो दुख भुल्दै छन्। ७३ वर्षीय तेजमायाको कथा पनि उस्तै छ। दुई छोरीको आमा तेजामाया प्रजापति १६ वर्षअघि पतिको निधन भएसँगै एक्लो जीवन जिउँदै छिन्। एकल जीवन र अभावका माझ उनी पनि फूलसँगै मुस्कुराउँछिन्। भूकम्पले घर भत्काएको पिडा आफ्नै ठाउँमा छ। 'दुःखसुख आउँछ जान्छ,' उनी भन्छिन्, 'तर कपालमा फूल सिउेरेर मन्दिर जान छाडेकी छैनन्।'
फूलसँग मायाप्रीतिका कथा पनि छन्। पत्रपत्रमा माया र ममताका कुरा आउँछन्। श्रीमानले श्रीमतीको शिरमा सिउरेको फूल होस या प्रेमीले प्रेमिकाको शिरमा उनिदिएको फूल। फूलसँगै सहर फक्रन्छ। समयले मुजामुजा पारेको अनुहारमा समेत मुस्कान छरिन्छ।
थिमीका ८० वर्षीय कान्छा प्रजापतीले १२ वर्षको उमेरदेखि नै हिलो मुछ्न थालेको सुनाउँछन्। बाल्यकालमा पिताको काममा हाथ बटाएका उनी पछि पिताको दायित्व निभाउँदै माटो मुछ्न थाले। आकार आकारका भाँडा बनाउनु र तिनलाई बेच्न बिहानभर बोेकेर गन्तव्यतिर जानु उनको दैनिकी बन्यो। दुःखको यो शृंखला अझै टुटेको छैन। तर उनी पनि फूल सिउरेर मुस्कुराउन छाडेका छैनन्। 'फूल राखेर टोपी नलगाई दिन नै सुरु हुँदैन,' उनले भने, 'हामी फूलसँगै उठ्छौ र यो ओइलाएसँगै हामी निदाउँछौ।' उनले भनेजस्तै हरेक बिहान भक्तपुरवासीको शिरमा फूल फूल्छ।
प्रकाशित: १ आश्विन २०७३ ०१:४१ शनिबार