८ वैशाख २०८१ शनिबार
खेल

साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित

काठमाडाैं - बंगलादेशमा जारी साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ। बंगलादेश स्थित बंगबन्धु रंगशालामा सम्पन्न खेलमा नेपाललाई अग्रता दिलाउने क्रममा पहिलो हाफको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरे। सुनिल बलले कर्नर मार्फत प्रहार गरेको बललाई अनन्तले डिबक्सभित्रबाट हेड मार्फत उत्कृष्ट गोल गरेका हुन्। पहिलो हाफमा गाेल गर्ने केहि अवसर प्राप्त गरेपनि नेपालले त्यसलाई सदुपयोग गर्न नसक्दा १–० को अग्रतामै पहिलो हाफकाे खेल सकिएको थियो। 

पहिलो हाफको तुलनामा दोश्रो हाफमा अब्बल खेल प्रदर्शन गरेको नेपालले त्यसपछि तीन गोल थप्यो। अधिकांश समय बल आफ्नो पक्षमा राखेको नेपाली टोलीले अग्रतालाई दोब्बर पार्न दोश्रो हाफको ७१ औं मिनेटसम्म कुर्नु पर्‍याे। भुटानका निमा वाङ्डीले नेपालका निराजन खड्कालाई डिबक्स एरियाभित्र लडाएपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो तर नेपालका विमल घर्तीमगरले प्रहार गरेको पेनाल्टी भुटानका गोल रक्षकले बचाएपनि फर्केर आएको बलमा सुनिल बलले गोल गरेका थिए। भुटानका वाङ्डीले दोहोरो पहेंलो कार्ड पाएका कारण मैदान छोड्न पुगे। ७१ औं मिनेटपछि १० खेलाडीमा सिमित बनेको भुटानले त्यसपछि फितलो प्रदर्शन गर्दा थप २ गोल खान पुग्यो। नेपालका लागि खेलको ७९ औं मिनेटमा सब्सटिच्युट खेलाडीका रुपमा आएका भरत खवासले तेश्रो गोल गरे। निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा भुटान चौथो गोल खान पुग्यो। सुनिल बलको पासमा निराजन खड्काले खेलको ८८ औं मिनेटमा हेड मार्फत गोल गर्दै नेपाललाई फराकीलो गोल अन्तरको जित दिलाए।

विहीबारको जितसँगै समुह ए मा रहेको नेपालको २ खेलबाट ३ अंक भएको छ। पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपाललाई सेमिफाइनलमा स्थान सुरक्षित गर्न आजको खेल जित्नै पर्ने दबाब रहेको थियो। हारसँगै भुटानको भने सेमिफाइनलमा स्थान बनाउने  सम्भावना समाप्त भएको छ। भुटान यसअघि आयोजक बंगलादेशसँग पराजित भएको थियो। समुहका शिर्ष २ टाेलीले सेमिफाइनलमा स्थान बनाउने छन्। नेपालले समुह चरण अन्तर्गतको अन्तिम खेल आगामी शनिबार आयोजक बंगलादेशसँग खेल्नेछ। 

प्रकाशित: २१ भाद्र २०७५ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App