४ वैशाख २०८१ मंगलबार
समाज

बाढीपीडितलाई प्रदेश सरकारको आग्रह : घर फिर्ती वा नमूना बस्ती रोज्नुस्

सुर्खेत– चार वर्षदेखि सुर्खेतका विभिन्न अस्थायी शिविरमा बस्दै आएका बाढीपहिरो पीडितहरुलाई कर्णाली प्रदेश सरकारले घर फिर्ती वा एकीकृत नमूना बस्ती मध्ये एक रोज्न आग्रह गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको अध्यक्षतामा गठित बाढीपीडित समस्या समाधान समितिले २०७१ साउन २८ र २९ गतेको बाढीपहिरोबाट विस्थापित भएर अस्थायी शिविरहरुमा बसिरहेका पीडितहरुलाई दुई मध्ये एक विकल्प रोज्न आग्रह गरेको हो। 

‘त्रिपालबाट आवासतर्फ लैजाने प्रदेश सरकारको योजना अन्र्तगत बाढीपीडितहरुलाई घर फिर्ती र नमूना बस्ती मध्ये एक रोज्न विकल्प दिएका छौं’ मन्त्री भण्डारीले भने, ‘पीडितहरुको चाहना अनुसारको व्यवस्थापन प्रदेश सरकारले गर्छ।’ समितिले त्यसअघि बाढीपीडितहरुको हालको तथ्याङ्क, उनीहरुको आर्थिक अवस्था, यसअघि सरकारबाट प्राप्त गरेको रकमलगायतका विषय खोजी गर्ने छ। यसका लागि पाँच वटा छुट्टाछुट्टै समिति गठन गरिएका छन्। 

‘पीडितहरु बसेको टहरामै पुगेर पाँच वटा समितिले तथ्याङ्क संकलन गर्छन्, उनीहरुको चाहना बुझ्छन्’ समितिका संयोजकसमेत रहेका मन्त्री भण्डारीले भने, ‘त्यसपछि विकल्पमा लाग्छौं।’ समितिले बाढीपीडितहरुको तथ्याङ्क, हालको आर्थिक अवस्था, संघीय सरकारबाट यसअघि प्राप्त गरेको रकम, त्यसको सदुपयोगलगायतका विषयसमेटेर फारम तयार पारेको छ। ‘यसैको आधारमा घर फर्कनेलाई पैसा दिन्छौं’ उनले भने, ‘घर बनाउन नसक्ने र जमिन नभएकाहरुका लागि एकीकृत नमूना बस्ती निर्माण गछौं।’ समितिले पुख्र्यौली जमिन भएका र यसअघि संघीय सरकारबाट रकम बुझेर जमिन किनेकाहरुलाई एकीकृत नमूना बस्तीमा नसमेट्ने जनाएको छ।

प्रदेश सरकारले एकीकृत नमूना बस्ती निर्माणका लागि जमिनको खोजी सुरु गरेको छ। प्रदेश सरकारले तीन ठाउँमा नमूना बस्ती निर्माण गर्ने तयारी गरेको छ। ‘यकिन तथ्याङ्क नभएपनि आठ सयको हाराहारीमा बाढीपीडितहरु विभिन्न शिविरमा बसिरहेको अनुमान हामीले गरेका छौं’ उनले भने, ‘ति मध्ये घर जान चाहनेहरुलाई आवश्यक रकम दिएर विदाई गरेपछि बाँकी रहेकाहरुका लागि तीन ठाउँमा नमूना बस्ती निर्माण गछौं।’ उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जग्गाको खोजी गरिरहेको बताए। 

२०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोले सुर्खेतमा ११५ जनाले ज्यान गुमाए। अर्बौको सम्पती क्षति भयो। २३ सय २९ परिवार विस्थापित भए। अहिले पनि विभिन्न आठ वटा शिविरमा आठ सयबढी विस्थापितहरु पालमुनिको कष्टकर जीवन विताइरहेका छन्।

प्रकाशित: २१ भाद्र २०७५ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App