coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान स्वागत गर्न अस्वीकार

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार नयाँदिल्लीमा भारतीय समकक्षी नरेन्द्र माेदीसँग। चारदिने भारत भ्रमणमा रहेका दाहाल र माेदीबीच शुक्रबारै 'वान अन वान' वार्तासहित द्विपक्षीय बैठक भएकाे थियाे। तस्बिर: एएफपी

काठमाडौं–भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा समेट्न आग्रह गरे ।

भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ ।

‘तपार्इं (पुष्पकमल दाहाल) नेपालको शान्तिका एक उत्प्रेरक शक्ति हुनुहुन्छ,’ नयाँदिल्लीमा शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘तपाईको बुद्धिमानी नेतृत्वमा समावेशी संवादमार्फत विविधताले भरिएको नेपाली समाजको सबै पक्षको आकांक्षा समेटी नेपाल संविधान कार्यान्वयन गर्न सफल हुनेमा म विश्वस्त छु ।’

भारतीय प्रधानमन्त्री मोदीले असन्तुष्ट पक्षको माग सम्बोधन गरी नयाँ संविधान कार्यान्वयनमा ल्याउन दाहालले गर्ने प्रत्येक प्रयासको सफलताका लागि शुभकामना पनि दिएका थिए । नेपाल–भारत द्विपक्षीय बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र मोदीले ‘वान अन वान’ वार्ता गरेका थिए । करिब आधा घन्टा भएको एक्लाएक्लै वार्तामा दाहालले भारतीय समकक्षीलाई नेपालको संविधानलाई स्वागत गर्न मनाउने प्रयास गरेका थिए । प्रधानमन्त्री दाहाल निकट स्रोतअनुसार मोदीले नयाँ संविधानको स्वागत गर्न अस्वीकार गरेका थिए ।

भेटमा मोदीले स्पष्ट रुपमा संविधानप्रति जो असन्तुष्ट छन्, तिनका माग सम्बोधन गर्न आग्रह गरेका थिए । उनले असन्तुष्ट पक्षका माग सम्बोधन गरे मात्र संविधान कार्यन्वयन हुने र नेपाल शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दाहाललाई स्मरण गराएका थिए ।
दाहालले भने संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रक्रिया आफूले सुरु गरिसकेको जानकारी गराएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले ‘अहिले तपाईंले चालेको कदम ठिक छ, साथमा छु,’ भनेका थिए ।

दाहाल र मोदीबीच ‘वान अन वान’ वार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको थियो । बैठकमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका सबै पक्षमा संक्षिप्त छलफल भएको थियो । बैठकपछि नेपाल र भारतबीच तीनवटा समझदारीपत्र तथा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राखेका थिए ।

‘हामी एकअर्काका उपलब्धिमा जसरी खुसियाली मनाउँछौं, अफ्ठेरो समयमा दुःख पनि बाँड्छौँ । हाम्रो सम्बन्ध सदियौंदेखि चलिआएको विशेष छ । नजिकको छिमेकी र घनिष्ट मित्रराष्ट्रका रुपमा नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने हाम्रो चाहना हो,’ संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘नेपालको विकास र आर्थिक समृद्धिको प्रत्येक कदममा हामी तपाईंहरुको साझेदार बन्न पाउँदा भाग्यमानी ठान्छौं ।’

लोकतन्त्र संस्थागत गर्न प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको मोदीले प्रशंसा गरे । दाहालसँगको भेटवार्तालाई उनले उपलब्धिमूलक रहेको बताए । मोदीले स्पष्ट पारे, ‘नेपालसँग विकासको क्षेत्रमा सहकार्य गर्न र सहकार्यलाई मजबुत बनाउन भारत तयार छ । हामी गर्छौं पनि, नेपाली जनता र सरकारको प्राथमिकतामा पर्याैं भने ।’

नेपालको विकास साझेदार बन्ने उद्देश्यले नै शुक्रबार नेपाल–भारतबीच तीनवटा समझदारी तथा सहमतिपत्रमा हस्ताक्षर भएको उनले स्पष्ट पारे । नेपालको पुनर्निर्माणका लागि भारतले ७५ करोड अमेरिकी डलर (करिब ७९ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने सहमति शुक्रबार भएको छ । यो सहयोगले भूकम्पपीडित लाखौं नेपालीले राहत पाउने विश्वास उनले व्यक्त गरे ।

‘हाम्रो सुरक्षा चासो अन्तरसम्बन्धित हुनुपर्छ,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘खुला सीमाले दुवै देशलाई सहकार्य र अन्न्तरक्रिया गर्न ठूलो अवसर प्रदान गरेको छ । तर, सीमाको दुरुपयोग गर्ने तŒवप्रति हामी सजग हुन पनि जरुरी छ ।’ यसैकारण दुई देशका सुरक्षा निकायबीचको सहयोग बढ्दो व्यापार, संस्कृति र विकासको लागि पनि अपरिहार्य बनेको उनले बताए ।

व्यापार, कनेक्टिभिटी, विकास परियोजना र लगानीलाई उनले नेपालसँगको साभेदारीका महत्वपूर्ण खम्बाको संज्ञा दिए । निर्माणाधीन जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण कार्य शीघ्र अघि बढाउन दुवै प्रधानमन्त्री सहमत भएको उनले जनाए ।  ‘आज (शुक्रबार) भएको छलफलले सदियौंदेखि रहेको हाम्रो सम्बन्धलाई थप मजबुत पार्ने कुरामा म विश्वस्त छु,’ भारतीय प्रधानमन्त्री मोदीले भने । उनले नेपाल–भारत साझेदारीमा नयाँ र गौरवलाग्दो नयाँ अध्यायको सुरुआत भएको समेत बताए ।

भारतीय प्रधानमन्त्रीपछि दाहालले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनको सुरुआतमै उनले छिमेकीसँग सम्बन्ध मजबुत बनाउन आफ्नो सरकार लागि परेको बताए । यसैकारण आफ्नो सरकार गठन भएको दुई साता बित्न नपाउँदै विशेष दूत भारत पठाएको उनले स्पष्ट पारे । आर्थिक समृद्धिबिना राजनीतिक रुपान्तरण दिगो नहुने उनले बताए ।

‘शान्त, स्थिर, लोकतान्त्रिक र समृद्ध नेपालले मात्र छिमेक र अन्यत्रको शान्ति तथा स्थिरतामा योगदान पुर्याउन सक्छ भन्ने महसुस हामीलाई भएको छ,’ प्रधानमन्त्री दाहालले भने । भेटवार्तामा दिगो र मजबुत मित्रताका लागि विश्वास महत्वपूर्ण पक्ष भएको प्रति दुवै सहमत भएको उनले जनाए । यसका लागि दुवै देशले एकअर्काको संवेदनशीलताको सम्मान गर्नुपर्ने उनले जनाए ।

प्रधानमन्त्री दाहालले भारतले आर्थिक रुपान्तरण, विज्ञान तथा प्रविधि, सञ्चार, सोध र आविस्कारका क्षेत्रमा प्राप्त गरेको उपलब्धिको प्रशंसा गरेका थिए । भारतको उपलब्धिबाट नेपालले पनि सिक्न चाहेको उनले बताए । भारतीय समकक्षीसँग विकास, व्यापार र कनेक्टिभिटी अजेन्डामा छलफल भएको उनले जानकारी दिए । ‘समयसीमा तोकेर सुरु भएका परियोजना प्रभावकारी कार्यान्वयन आवश्यकतामा मैले जोड दिएको छु,’ प्रधानमन्त्री दाहालले भने ।

चालु परियोजनाहरुको अनुगमन गर्नुपर्नेमा दुवै प्रधानमन्त्री सहमत भएको उनले बताए । चालु परियोजनामध्ये चारवटा एकीकृत जाँच पोस्ट, पाँचवटा क्रस बोर्डर रेलसेवा र हुलाकी सडक (चरण–१) लाई अनुगमनको प्राथमिकतामा राखिएको उनले जनाए । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआरलाई छिटोभन्दा छिटो अन्तिम रुप दिन पनि दुवै प्रधानमन्त्री सहमत भएको भनाइ उनको थियो । बुटवलबाट दोस्रो अन्तरदेशीय विद्युत प्रसारण लाइन विकास गर्नेमा पनि छलफल भएको प्रधानमन्त्री दाहालले बताए ।

‘व्यापार तथा वाणिज्य, ट्रान्जिट र कनेक्टिभिटी हाम्रा महŒवपूर्ण अजेन्डा हुन् । भारतसँगको व्यापार घाटाका विषयमा पनि मोदीजीसँग छलफल भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यस्तो असन्तुलन सम्बोधन गर्न आवश्यक रहेकोमा दुर्व जना सहमत छौं ।’ भेटवार्तामा नेपालले माग गर्दै आएका तीनवटा हवाई प्रवेश मार्गका विषयमा छलफल भएको थियो । नेपाल र भारतबीच भएको सन्धि–सम्झौता अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूहले गरेको कार्यप्रति दुवै प्रधानमन्त्रीले सन्तुष्टि जनाएका थिए ।

छलफलमा गत वर्ष जारी नयाँ संविधान नेपालको ऐतिहासिक उपलब्धि भएको धारणा प्रधानमन्त्री दाहालले राखेका थिए । आफ्नो सरकार सबै पक्षलाई समेटी संविधान कार्यान्वयन गर्न गम्भीर भएर लागेको उनले बताए । उनले पत्रकार सम्मेलनको अन्त्यमा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए ।

द्विपक्षीय वार्तामा बस्नुअघि प्रधानमन्त्री दाहाल शुक्रबार बिहान राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ अनर’ कार्यक्रममा सहभागी भए । त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गरेका थिए । शुक्रबार उनले भारतीय समकक्षीसँग चारपटक भेट गरेका थिए । पहिला वान अन वान, दोस्रो द्विपक्षीय बैठक, तेस्रो संयुक्त पत्रकार सम्मेलन र चौथो दिवाभोज । भारतीय प्रधानमन्त्रीले उनको सम्मानमा संयुक्त पत्रकार सम्मेलनपछि दिवाभोज आयोजना गरेका थिए ।

शुक्रबारै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गरेका थिए । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । सोही भेटमा राष्ट्रपति मुखर्जीलाई उनले नेपाल भ्रमणको निम्तो दिएका थिए । शुक्रबारै भारतीय अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुषमा स्वराजलगायतले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए ।

शुक्रबार नै भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी भ्रमण र भेटवार्ताका विषयमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव एस. जयशंकरले चालु परियोजना र भूकम्पपछिको पुनर्निर्माणमा दुई देशबीच गम्भीर छलफल भएको जनाए । उनले प्रधानमन्त्री दाहालको भ्रमणलाई ‘उपलब्धिमूलक’ भने । भूकम्पपछिको पुनर्निर्माणमा सघाउन भारत सकारात्मक रहेको उनले जनाए ।
आउँदो महिना नेपाल–भारत संयुक्त आयोगको बैठक (परराष्ट्रमन्त्रीस्तरीय) बस्ने जानकारी दिँदै विदेश सचिव जयशंकरले बैठकले विकास र पुनर्निर्माणका विषयमा थप छलफल गर्ने बताए ।

 

प्रकाशित: १ आश्विन २०७३ ००:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App