७ वैशाख २०८१ शुक्रबार
विचार

तक्माका ताबेदार

असल काम गर्नेलाई राज्यले पनि सम्मान गर्छ । राष्ट्रिय दिवस वा यस्तै कुनै महत्वपूर्ण अवसर पारी तिनलाई सम्मानले सुसज्जित गरिन्छ । सम्मानले पात्रता खोज्छ । सुपात्रका हातमा पर्दा सम्मान पनि सम्मानित हुन्छ । कुपात्रका हातमा परेको सम्मान श्रापित हुन्छ । असलका हातमा राखिएको यस्तो सम्मानले मुलुकलाई प्रेरणा दिन्छ । प्रत्येक नागरिकले त्यस्ता उदाहरणीय व्यक्तित्वजस्तै बन्न आफूलाई प्रेरित गर्छन् । ठूलो मानिस बन्नुभन्दा असल बन्नुलाई यसैकारण महत्व दिइएको हो । ठूलो पद नभए पनि सामान्य काम गरी राष्ट्रिय जीवनमा उल्लेख्य काम गर्ने व्यक्ति नै राजकीय सम्मानका असली हकदार हुन्छन् । राज्यको उपल्ला पदमा सबै पुग्न सक्दैनन् । तर, ती पदमा नपुगे पनि गर्नेले असल काम गरिरहन्छन् । यस्ता असल काम गर्नेहरूलाई राज्यले आफैँ सम्मान गर्छ । यस्तै सम्मानका निम्ति भनेर वर्षेनि राज्यले सुपात्रको खोजी गर्छ । यसरी खोजी गरिएका व्यक्ति विवादास्पद नहोऊन् भनेर सतर्कता अपनाइन्छ । असल चालचलन भएका, बृहत्तर उद्देश्य बोकेका र राष्ट्रिय जीवनमा भिजेका यस्ता व्यक्तिको छनोट गरी मुुलुकको महŒवपूर्ण दिवस पारेर तिनको नाम घोषणा हुन्छ । यसरी घोषणा भएका नामले राष्ट्रिय सञ्चारमाध्यमलाई समेत पुलकित तुल्याउँछ । तिनका यश र कीर्तिको पुनः चर्चापरिचर्चा हुन्छ । ससाना स्कुले नानीहरूसमेत यस्ता महान् व्यक्तित्वका बारेमा सुनेर भविष्यमा आफू पनि त्यस्तै बन्ने सपना देख्छन्।

हाम्रो देशमा पदक पाउने भन्दा नपाउनेको बढ्ता सम्मान छ । पदक वितरणको मान्य विधिविधान नबनाइएका कारण ‘आफ्नै हात जगन्नाथ’को अवस्था छ ।

हाम्रो मुलुकमा भने अवस्था ठीक उल्टो छ । तक्मा त्यसैले पाउँछ जसले दाताहरूलाई प्रभावित गर्न सक्छ । उसले पाएको तक्माले राष्ट्रिय सम्मान पाउन सक्दैन । तर, बढुवा हुन वा आफ्ना वरिपरिका व्यक्तिका अगाडि धाक देखाउन भने काम लाग्छ । अगाडि मानिसले तक्मा पाएकामा बधाइको देखावटी प्रदर्शन गरे पनि हृृदयतलबाट यसका निम्ति सम्मान देखिँदैन । हाम्रो मुलुकमा प्रत्येक वर्ष तक्माको घोषणा हुँदा होस् वा सुशोभन समारोहपछि नकारात्मक धारणा मात्र निःसृत भइरहन्छन् । अचेल तक्मा तिनैले पाउँछन् जो सत्तारूढ दलको नजिक छन् । त्यसमा पनि तक्मा पाउने सबैभन्दा ठूलो हिस्सा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका व्यक्तिले ओगटेका हुन्छन् । सबैभन्दा माथिल्ला पदक तिनैले पाउँछन् जो माथिल्ला पदमा पुगेर अवकास लिँदैछन् । आफ्नो नियमित कामका निम्ति पदक दिइदिनुको कुनै अर्थ हुँदैन । कसैले अत्यन्तै बहादुरीपूर्ण काम गरेमा, चमत्कारपूर्ण आविष्कार गरेमा वा देशको छवि अन्तर्राष्ट्रिय जगत्सम्म फैलाउने काम गरेमा मात्र पदकको भागीदार हुनुपर्ने हो । बेलाबेलामा पदक तथा अलंकार वितरण प्रक्रियामाथि आलोचना भएपछि त्यसमा सुधार गर्ने चर्चा चल्छन् । तर, त्यो यथार्थमा सुधारतिर जाँदैन । वर्षेनि उस्तै तरिकाले वितरण हुन्छ । छिमेकी भारत होस् वा अमेरिका त्यहाँ पदक पाउने व्यक्तिको नामकै अगाडि तिनले पाएको सम्मानको उल्लेख हुन्छ।

भारतमा पद्मविभूषण, पद्मभूषण, पद्मश्रीजस्ता सम्मान पाउने व्यक्तिको समाजमा अलग्गै छवि हुन्छ । तिनका बारेमा चर्चा गर्नुपर्दा ती सम्मानको समेत सँगै उल्लेख हुन्छ।

हाम्रो देशमा पदक पाउने भन्दा नपाउनेको बढ्ता सम्मान छ । पदक वितरणको मान्य विधिविधान नबनाइएका कारण ‘आफ्ना हात जगन्नाथ’ को अवस्था छ । गृह मन्त्रालयको विभूषण शाखाले पदकमाथि काम गर्छ । तर, त्यहाँका हाकिमहरूले यसको सबैभन्दा बढ्ता दुरुपयोग गर्छन् । पदक सिफारिसमा त्यसैको नाम पर्छ जसले चाकड, चुक्ली र चाप्लुसी गर्छन् । मुलुकमा प्रजातन्त्र हुँदै लोकतन्त्रको युग आइसकेको छ । तर, तक्मा वितरणको पञ्चायती संस्कार उस्तै छ । आफ्ना अति प्रियका छातीमा झिल्मिलाएका पदक देखेर दाताहरूका मन रोमाञ्चित भइन्जेल सुधारको गुञ्जायस छैन।

प्रत्येक वर्ष पदक वितरणमा कुनै न कुनै नौटंकी देखिन्छ । यसपटक पनि त्यस्तै हुन पुगेको छ । बलात्कारको मुद्दा ढाकछोप गर्ने प्रहरी अधिकृत तक्माको हकदार भए । इटहरी तरहराकी १६ वर्षे किशोरी बलात्कार घटनालाई ‘गुपचुपमा मिलापत्र’ गराएका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले ‘प्रबल जनसेवाश्री’बाट सुशोभित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका करकमलबाट सुशोभित हुन पाउँदा यस्ता प्रहरीको इज्जत केही अवश्य बढेको हुनुपर्छ । तर, पदकको गरिमा घटेको छ । उमेर विवादमा परेर पदमुक्त भएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पनि पदकबाट सुशोभित भएका छन् । राज्यले यिनलाई जसरी पनि सम्मानित गर्नैपर्ने ठानेको हुनुपर्छ । तर, पूर्वमुख्य सचिव सोमलाल सुवेदीको पदक भने खोसिएको छ । उनको नाममा पदक घोषणा भए पनि सुशोभित हुने आमन्त्रण प्राप्त गर्न सकेनन् । पदक वितरणमा काखापाखाको यो एउटा उदाहरण हो । निःसन्देह प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि यसपटक पदक प्राप्त हुनु सुखद पक्ष हो । तर, प्रथम जननिर्वाचित प्रधानमन्त्रीदेखि बलात्कारको घटना गुपचुपमा मिलाउने प्रहरी अधिकृतसम्म एउटै डालोमा अटाउन सक्ने पदक प्रापकको सूचीप्रति सन्तुष्ट हुन सजिलो छैन । पदक तिनै व्यक्तिलाई दिनुपर्छ जसले मुलुकको श्रीवृद्धिमा योगदान गरेका छन् । कर्मचारी, प्रहरी र सेनालाई बढुवा हुन पनि यही पदकको प्रधानता हुने अहिलेको अवस्थामा सुधार हुनैपर्छ । पदक त्यसैले पाउनुपर्छ जो अत्यन्तै योग्य छन् । अहिलेजस्तो थोकको भाउमा पदक बाँड्नु पनि उचित छैन । यसको संख्या थोरै बनाउनुपर्छ र कठिन छनोटपछि सीमित व्यक्तिले पाउने व्यवस्था गर्नुपर्छ । यसो भयो भने पदक पाउनेको समाजमा इज्जत हुन्छ । जसले जसरी पनि प्रभाव पारेर लिने अहिलेको पदकको प्रभाव शून्यबराबर छ । तक्मा वास्तविक दाबेदारले पाउनुपर्छ न कि ताबेदारले।

प्रकाशित: २१ भाद्र २०७५ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App