८ वैशाख २०८१ शनिबार
खेल

रंगशालामा प्याराग्लाइडिङको पहिलो इन्ट्री

पोखरा रंगशालामा मंगलबार प्याराग्लाइडिङका उपाधि विजेता। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - पोखरा रंगशालाबाट प्याराग्लाइडिङ उडान हुने सराङकोट डाँडा करिब १० किलोमिटर मात्रै टाढा हो। फेवाताल किनारको अवतरणस्थल त झनै नजिक पर्छ। दूरीका हिसाबले प्याराग्लाइडिङ उडान हुने सराङकोट चुचुरो र खेलकुदका नियमित गतिविधि हुने रंगशाला खासै टाढा होइनन्।

दूरीका हिसाबले नजिक रहेका यी दुई क्षेत्र (रंगशाला र सराङकोट) एकअर्काका नजिक हुन भने झन्डै दुई दशक कुर्नुप-यो। त्यसको अर्थ दिनहुँ दृष्टि पर्ने नजिकैको डाँडामा उडान भइरहने प्याराग्लाइडिङले खेलकुदको मान्यता पाएर पोखरा रंगशालामा इन्ट्री पाउन झन्डै दुई दशक कुर्नुप-यो। यस अवधिमा रंगशालाले पनि प्याराग्लाइडिङलाई खेलकुदको रूपमा चिन्न सकेन वा सरकारले चिनाउने प्रयास नै गरेन। प्याराग्लाइडिङले पनि खेलकुदको गतिविधि हो भनेर आफूलाई चिनाउन ढिलाइ गर्दा रंगशालामा इन्ट्री पाउन झन्डै दुई दशक कुर्नुप-यो।

पोखरामा झन्डै २० वर्षअघि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले नै २० वर्षको अन्तरालमा एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएपछि बल्ल रंगशाला इन्ट्रीको बाटो खुलेको छ। त्यही पदक विजेता टोलीलाई मंगलबार यहाँ भव्य स्वागत गर्दै रंगशालामा भित्र्याइयो। मुलुकका लागि दुई दशक अन्तरालमा पदक दिलाएको प्याराग्लाइडिङले डेब्यु संस्करणमै इतिहास बनाएको हो।

‘व्यक्तिगत रूपमा हामी सबै जना रंगशाला छिरेका थियौं। तर प्याराग्लाइडिङलाई खेल गतिविधि मानेर प्याराग्लाइडिङ खेलाडीको रूपमा रंगशालामा इन्ट्री गराएको पहिलो पटक हो,’ प्याराग्लाइडिङको नेपाली टिमको नेतृत्व गर्दै एसियाली खेलकुदमा सहभागी भएका प्रशिक्षक योगेश भट्टराईले नागरिकसँग भने, ‘रंगशालाले पनि अहिलेसम्म हाम्रो खोजी गर्न सकेको थिएन। हामी आफैं यहाँसम्म आउन सफल भएका थिएनौं। बल्ल राज्यले हामीलाई खेलकुदको मान्यता दियो, अनि रंगशाला इन्ट्रीका लागि बाटो खुल्यो।’

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए) का अध्यक्षसमेत रहेका भट्टराईले प्याग्लाइडिङलाई राज्यले अहिलेसम्म चिन्न ढिलाइ गरेको बताए। ‘हामीलाई त व्यावसायिक कर्ममा मात्र जोडिएको थियो । साहसिक खेलगतिविधि हो भनेर हामीलाई चिन्न ढिलाइ गरेकै हो,’ उनले भने, ‘सरकारले साहसिक खेलकुदको गतिविधिका रूपमा प्याराग्लाइडिङको विकासमा सघाउने हो भने आगामी दिनमा हुने खेल गतिविधिमा पदकविहीन हुनबाट मुलुक नै जोगिनेछ।’

सरकारले ठूलो लगानी गरेर रंगशालाभित्र खेलाउँदै आएका खेलका अन्य विधा एसियाली खेलकुदमा रित्तो हात घर फर्किंदा पोखराको सराङकोट आसपासका डाँडामा मात्र सीमित रहेको प्याराग्लाइडिङको टिम भने पदक लिएर फर्किएको छ। यसले पोखराको त सान बढाएको छ नै नेपालको एसियाली खेलकुदमा सहभागितापछिको शिर ठाडो बनाएको उनले बताए। पोखरामा प्याराग्लाइडिङ उडान सुरु भएको २० वर्षअघि हो। यस अवधिमा प्याराग्लाइडिङलाई खेलगतिविधि मान्न सरकार तयार थिएन । यो पटक बडो मुस्किलसाथ सरकारले प्याराग्लाइडिङलाई खेल गतिविधिको मान्यता दिएर एसियाली खेलकुदमा सहभागी गराएको थियो। चुनौतीका बावजुद सरकारी मान्यता पाएर भाग लिएको प्याराग्लाइडिङको पुरुष टिमले क्रसकन्ट्री विधामा नेपालले पाँच राउन्डको समाप्तिमा  ऐतिहासिक पदक जितेको हो।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिवसमेत रहेका एसियाली खेलकुदका अफिसियल शैलेन्द्र रावत पनि प्याराग्लाइडिङलाई रंगशालाले स्विकार्न दुई दशक लागेको बताउँछन्। ‘प्याराग्लाइडिङ पनि खेल हो भनेर पोखरा रंगशालाले चिन्न झन्डै दुई दशक लाग्यो,’ रावतले भने, ‘यसमा रंगशालाको भन्दा पनि सरकारको कमजोरी थियो । सरकारले चिनेको भए रंगशालाले पनि चिन्थ्यो होला। किनकि सरकारले प्याराग्लाइडिङलाई खेलको रूपमा स्विकारेको थिएन। सराङकोटको डाँडाबाट विदेशी लिएर उड्ने गतिविधिको रूपमा मात्र हेरिएको थियो ।’ सरकारले प्याराग्लाइडिङलाई खेल हो भनेर स्विकार्न नसक्दा प्याराग्लाइडिङलाई रंगशाला प्रवेशमा अवरोधजस्तै रहेको उनले बताए।

रंगशालामा खेलकुदका गतिविधि हुने भए पनि चुचुरोमा हुने प्याराग्लाइडिङ उडानलाई अहिलेसम्म सबैले बेवास्ता गरेको उनले बताए। ‘सरकारले समयमा चिनेको भए सायद हाम्रो रंगशाला इन्ट्री पनि छिटै हुन्थ्यो। सरकारले नै हामीलाई व्यावसायिक गतिविधि भनेर चिनेको थियो,’ उनले भने, ‘हामीले त प्याराग्लाइडिङ पनि खेलको विधा हो । मात्र यो साहसिक छ भनेर भनेकै हौं। तर, राज्यले हामीलाई व्यापारिक नजरबाट मात्र हे-यो।’

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल पनि प्यराग्लाइडिङले खेलको मान्यता पाएर आधिकारिक रूपमा खेलाडीलाई रंगशालामा स्विकारेको पहिलो पटक भएको बताउँछन्। ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) त प्याराग्लाइडिङ आफंैमा खेल गतिविधि हो भनेर धेरै अगाडि ने स्विकारेको हो । तर, यो अवधिमा धेरै नै ग्याप रह्यो,’ बरालले भने, ‘सरकारी निकाय र प्याराग्लाइडिङबीचको तादात्म्यता नमिल्दा प्याराग्लाइडिङको रंगशाला प्रवेशमा झन्डै दुई दशक लागेकै हो।’ प्याराग्लाइडिङका खेलाडी व्यावसायिक उडानमा बढी व्यस्त हुनुपर्दाको समस्या पनि रहेको उनले बताए। ‘प्याराग्लाइडिङका खेलाडी (पाइलट) खेलमा भन्दा व्यावसायिक उडानमा बढी व्यस्त भए। किनकि उनीहरूले उडानमा दक्ष हुन ठूलो लगानी गरेका हुन्छन्,’ बरालले भने, ‘राज्यले त्यो लगानी देख्न नसक्दा पनि खेलाडी र सरकारी निकाय टाढाबाट एकअर्कालाई हेराहेर मात्र गरेर बसे। एसियाली खेलकुदले मात्र प्याराग्लाइडिङलाई सरकारसँग निकट बनाएको हो।’

सरकारले ठूलो लगानी गरेर रंगशालाभित्र खेलाउँदै आएका खेलका अन्य विधा एसियाली खेलकुदमा रित्तो हात घर फर्किंदा पोखराको सराङकोट आसपासका डाँडामा मात्र सीमित रहेको प्याराग्लाइडिङको टिम भने पदक लिएर फर्किएको छ।

प्रकाशित: २१ भाद्र २०७५ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App