७ वैशाख २०८१ शुक्रबार
समाज

अर्यालले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं– जोर्डनका लागि गैरआवासीय नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले त्यहाँका राजा अब्दुल्लाह द्वितीय इबान अल–हुसेनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । बसमान दरबारमा आयोजित विशेष समारोहमा उनले जोर्डनका राजासमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

ओहोदाको प्रमाणपत्र बुझाएपछि जोर्डनका राज अल–हुसेनले राजदूत अर्यालसँग संक्षेपमा कुराकानी गरेका थिए । कुराकानीका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश राजदूत अर्यालले सुनाएका थिए । शुभकामना सन्देशमा राष्ट्रपतिले जोर्डनको शान्ति तथा समृद्धि र राजाको सुस्वास्थ्यको कामना गरेकी थिइन् । जवाफमा जोर्डनका राजा अल–हुसेनले जोर्डनको पूर्ण सहयोगको प्रतिबद्धता जनाएका थिए ।

राजासँगको भेटघाटपछि राजदूत अर्यालले जोर्डनका श्रम मन्त्री समिर मुरादसँग भेट गरेका थिए । भेटमा राजदूत अर्यालले दुई देशबीच भएको श्रम सम्झौतालाई कडाइका साथ कार्यन्वयन गर्न आग्रह गरेका थिए । जवाफमा जोर्डनका श्रम मन्त्रीले सम्झौतालाई सरोकारवाल सबै निकायले पूर्ण पालना गरेको जनाएका थिए । जोर्डनका श्रम मन्त्रीले नेपालको समकक्षीलाई जोर्डन भ्रमणको निम्तोसमेत दिएका थिए ।

राजदूत अर्यालले जोर्डनको परराष्ट्र मन्त्रालयका महासचिव जइद अल–लोजीसँग पनि भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको इजिप्टको कायरोस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कायरोस्थित नेपाली दूतावासले जोर्डन पनि हेर्दै आएको छ ।

प्रकाशित: २० भाद्र २०७५ ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App