नयाँ दिल्ली– भारतको दुइ दिने भ्रमणमा रहेका पूर्व मन्त्री एवं इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशिया-प्यासिफिकका अध्यक्ष एकनाथ ढकालले त्यहाँका सत्तारुढ तथा बिपक्षी दलका सांसदहरुसँग अन्तरक्रिया गरेका छन्।
नयाँ दिल्लीस्थित संसद भवनमा भएको छलफलमा भारतीय जनता पार्टी, इन्डियन राष्ट्रिय कांग्रेस लगायतका लोक सभा र राज्य सभाका करिब २ दर्जन सांसदहरु सहभागी थिए।
प्रमुख अतिथिको रुपमा आमन्त्रित ढकालले अन्तरक्रियामा बोल्दै नेपालको सफल शान्ति प्रक्रिया र निर्वाचित संविधान सभाबाट जारि संविधान आधुनिक विश्वको लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए। ढकालले नेपाल छिमेकी र सबै मित्र राष्ट्रहरुसँग अत्यन्त सुमधुर सम्बन्ध कायम राखी आर्थिक समृद्धिको बाटोमा अग्रसर हुन चाहेको पनि उल्लेख गरे।
पूर्व मन्त्री ढकालले पारस्परिक भलाई र विकासका खातिर क्षेत्रीय तथा अन्तराष्ट्रिय सहकार्यमा जोड दिए। नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छिमेकी मित्रराष्ट्रहरुसँगको सन्तुलित सम्बन्धलाई महत्वमा राखेको भन्दै वर्तमान सरकारको पालामा नेपालको भारत र चीनसँगको सम्बन्ध हतिहासमै सबभन्दा राम्रो रहेको पनि बताए।
प्रकाशित: १९ भाद्र २०७५ ०९:१२ मंगलबार