coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आफ्नो बन्ध्याकरण आफैँ गर्ने डाक्टरलाई हेल्थ अवार्ड

काठमाडौं- यस वर्षको हेल्थ अवार्डबाट आफ्नो परिवार नियोजन आफैँ गर्ने एक डाक्टरसहित ७ व्यक्ति तथा संस्था सम्मानित भएका छन्। नेपालका ३० हजार भन्दा बढीको परिवार नियोजन गरेका डा टीकामान वैद्यसहित ७ लाई उत्कृष्ट काम गरेको भन्दै स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो।

स्वास्थ्य खबरपत्रिकाले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको हेल्थ अवार्ड पाउनेमा दुर्गम क्षेत्रमा सेवा गर्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी रहेका छन्। यो वर्ष उत्कृष्ट डाक्टरको अवार्ड सुदूरपश्चिममा सेवा दिएका डाक्टर हेमचन्द्र झाले पाएका छन्।

यस्तै तेह्रथुमकी नर्स सिर्जना श्रेष्ठले उत्कृष्ट नर्सको, हुम्लाका स्वास्थ्यकर्मी खडानन्द न्यौपानेले उत्कृष्ट स्वास्थ्यकर्मीको, मंगला मानन्धरलाई उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा अवार्ड प्रदान गरिएको छ।

परिवार नियोजनका क्षेत्रमा लामो समयदेखि योगदान दिएवापत डा वैद्यलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरीएको हो ।

यसैगरी, पोलियो उन्मुलनमा पुर्याएको योगदानका लागि रोटरी इन्टरनेशनलाई उत्कृष्ट सामाजिक संस्था र दुर्गम जिल्लामा रहेको अछाम जिल्ला अस्पताललाई उत्कृष्ट जिल्ला अस्पताल रुपमा अवार्ड प्रदान गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले उत्कृष्ट डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई अवार्डबाट सम्मानित गरेका हुन्। उनले सरकारी सेवा अन्तर्गत रहेर उत्कृष्ट काम गर्नेलाई अवार्ड प्रदान गरेर थप उर्जा प्रदान गरेको बताए।

आफ्नो मुख्य उद्देश्य गलत गर्नेलाई खबरदारी गर्ने भएपनि राम्रो गर्नेलाई  हौस्याउनका लागि अवार्ड दिने गरिएको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक अनिल न्यौपानेले बताए।

प्रकाशित: ३१ भाद्र २०७३ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App