८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी कार्टुनमा जुम्लाकाे स्याउ

विदेशी स्याउको कार्टुनमा प्याकिङ गरिराखेको जुम्ली स्याउ। तस्बिर : डिबी/नागरिक

जुम्ला - जुम्ली स्याउ विदेशी कार्टुनमा निर्यात हुन थालेपछि यसको बजार र पहिचान गुम्ने खतरा बढेको छ । जुम्लाकै पहिचान दिने कार्टुन हुनुपर्नेमा विदेशीमा निर्यात हुँदा बजार र पहिचान गुम्ने खतरा भएको किसान बताउँछन्।

पहिले जुम्ली स्याउलाई अनुदानको कार्टुन आउँथ्यो । स्थानीय तह सञ्चालनसँगै योपटक कार्टुनको व्यवस्था नहुँदा गोलभेंडा र फलफूलका कार्टुनमा स्याउ निर्यात गरिएको छ।

विदेशी स्याउको कार्टुनमा निर्यात हुँदा जुम्लाको हो या विदेशी छुट्ट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन् । विदेशी कार्टुनमा लगेको जुम्ली स्याउ बिक्री गर्न समस्या हुने गरेको व्यापारी गुनासो गर्छन् । ‘विदेशी कार्टुनको स्याउलाई जुम्ली भनेर कसैले विश्वास गर्दैन,’ स्याउ व्यापारी जयबहादुर शाहीले भने, ‘जुम्ली स्याउ लेखिएका कार्टुन किसानसम्म पुग्दैनन् । विदेशी कार्टुनमा हाल्दा व्यापारी र उपभोक्ताले विश्वास गर्दैनन् ।’ कतिपय उपभोक्ताले विदेशी कार्टुनमा जुम्लाको अर्गानिक स्याउ हुन नसक्ने भन्दै फिर्ता गर्ने गरेको गुनासो स्याउ व्यापारीको छ।

वर्षा याममा सुर्खेत, नेपालगन्जबाट केरा, गोलभेंडा, अनार, सुन्तला, काउली, खुर्सानी प्याक भएर आउने भारतीय र चिनियाँ स्याउका कार्टुनमा जुम्लाको स्याउ ढुवानी भइरहेको छ । कृषि कार्यालयले जुम्ली अर्गानिक स्याउको लोगो र कृषि कार्यालयको नाम उल्लेख भएको कार्टुन दिने गरेकोमा यो पटक दिएको छैन । गत वर्ष १६ हजार कार्टुन ७५ प्रतिशत अनुदानमा ल्याए पनि वास्तविक स्याउ किसानसम्म पुगेको थिएन । यो वर्ष कार्टुन नै आएन।

कृषि कार्यालय जुम्लाले कृषि सहकारी, कृषक समूह र जिल्ला सहकारी संघलाई आफ्नै कार्टुन बनाउन सुझाव दिएको थियो । विदेशी स्याउको कार्टुन ५० रुपैयाँ गोटामा खरिद गरेको किसान बताउँछन् । कार्टुन नहुँदा कतिपय किसानले चिनी र चामलका बोरामा हालेर स्याउ निर्यात गर्नुपरेको गुनासो गरेका छन्।

उनका अनुसार विगतमा पनि बगैंचा नहुनेको घरमा सरकारी कार्टुन पुग्ने वास्तविक किसानले नपाउने समस्या थियो । उनले भने, ‘यसपटक कार्टुनै आएन । विदेशी कार्टुनमा जुम्ली अर्गानिक स्याउ निर्यात हुँदा गुणस्तर र पहिचानमा शंका उब्जन थालेको छ।’

यहाँका व्यापारीले जुम्ली स्याउको चित्र अंकित कार्टुन बनाउन सकेका छैनन् । ‘कृषि विकास कार्यालय जुम्लाले किसानलाई स्थानीय स्याउको पहिचान र गुणस्तरका विषयमा सुम्झाउन सकेको छैन,’ स्याउ व्यापारी जीवनबहादुर बुढाले भने।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी बालकराम देवकोटा यसपटक अनुदानका कार्यक्रम नभएकाले किसानलाई कार्टुन उपलब्ध गराउन नसकिएको बताउँछन् । उनका अनुसार चन्दननाथ नगरपालिका क्षेत्रमा फाट्टफुट्ट अर्गानिक स्याउ अंकित लोगो भएको कार्टुन छापिए पनि अधिकांश व्यापारी र किसानले विदेशी स्याउको कार्टुन प्रयोग गरिराखेका छन्।

यस विषयमा कृषि कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय तहमा स्थापना भएका कृषि शाखाले समेत कार्टुन बनाउने पहल गरेका छैनन् । दुई महिनाअघिदेखि जुम्ली स्याउको पहिचान नगुम्ने गरी कार्टुन बनाउन निर्देशन गरे पनि कसैले नटेरेको बताइन्छ । देवकोटा भन्छन्, ‘पहिले सरकारी कार्टुन सबै किसानलाई पुग्दैनथ्यो । नपुगेको खण्डमा विदेशी कार्टुनमै जुम्ली स्याउ लेखेर निर्यात गर्न भन्थ्यौंं । तर किसानले मनपरी ढुवानी गरे।’

अहिले जुम्लाको स्याउ नेपालगन्ज, सुर्खेत, बुटवल र काठमाडौंका सहरसम्म मात्रै पुगेको छ।

जुम्ली आर्गनिक स्याउको महत्व प्रचार भइरहँदा रासायनिक विषादीले फलाइएका स्याउ बिक्री गर्ने प्रयोजनका लागि बनाइएका विदेशी कार्टुनमा प्याक गर्नुपर्ने बाध्यता रहेको किसान बताउँछन् । शीत भण्डारको व्यवस्था नहुँदा लामो समयसम्म स्याउ सुरक्षित राख्न सकिँदैन । जुम्लालाई अर्गानिक स्याउ उत्पादन गर्ने पकेट क्षेत्रको रुपमा लिइए पनि उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन । यो वर्ष ६ हजार टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ।

जुम्लामा रोयल, गोल्ड, रेड, जनाथन जातको स्याउ उत्पादन हुन्छ । अहिले देशका विभिन्न जिल्लाबाट स्याउ खरिदको लागि व्यापारी जुम्ला पुगेका छन् । स्थानीय तहले स्याउमा प्रतिकेजी ५० पैसा कर लिने गरे पनि स्याउको व्यवस्थापन र बजारीकरणमा खासै चासो दिएको पाइँदैन।

 

प्रकाशित: १९ भाद्र २०७५ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App