coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मौलिकता जोगाएर सिंहदरबार भवनको पुनर्निर्माण गरिने

भूकम्पबाट क्षतिग्रस्त सिंहदरबार भवनको पश्चिमी मोहडाको अवस्थाबारे जारी अध्ययन कार्य।    तस्बिर सौजन्यः एनआरए

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई मौलिकता कायम रहने गरी पुनर्निर्माण गरिने बताएका छन्।

सोमबार भवनको पश्चिमी मोहडामा जारी अध्ययन कार्यको निरीक्षण गर्दै उनले भवनको पुरातात्विक र ऐतिहासिक महत्वलाई जोगाउने प्रतिबद्धता जनाएका हुन् । पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणका क्रममा मौलिकता जोगाउने कार्यलाई प्राधिकरणले प्राथमिकतामा राखेको सिइओ ज्ञवालीको भनाइ छ। 

भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको पश्चिमी मोहडा प्रबलीकरण गर्ने वा भतकाएर पुनर्निर्माण गर्ने भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन । प्राधिकरणले परामर्शदातामार्फत उक्त भवन प्रबलीकरण गरेर जोगाउन सकिने÷नसकिनेबारे अध्ययन गरिरहेको छ । अध्ययनको जिम्मेवारी पाएको इन्फास्ट्रक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सलटेन्ट प्रालिले हाल उक्त काम गरिरहेको छ । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार कम्पनीले अबको १५ भित्र अध्ययन प्रतिवेदन तयार गरी प्राधिकरणलाई बुझाउनेछ।

निरीक्षणपछि सिइओ ज्ञवालीले अध्ययनको काममा ढिलाई नगर्न आग्रह गरे । उनले तोकिएको समयभित्रै प्रतिवेदन बुझाउन परामर्शदाता कम्पनीलाई निर्देशन दिए । ‘अध्ययनको कामलाई तीव्र बनाएर चाँडो प्रतिवेदन तयारीमा लाग्नुस्,’ सिइओ ज्ञवालीले भने, ‘प्रतिवेदन प्राप्त भएको एक हप्तामै निर्णय गरेर पुनर्निर्माणको काम अगाडि बढाउँछौं।’ 

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको पालामा निर्मित सिंहदरबारको पश्चिमी मोहडा २०३० सालको आगलागीबाट बचेको थियो । उक्त आगलागीबाट जलेर नष्ट भएको उत्तरी, पूर्वी र दक्षिणी भाग पछि पुनर्निर्माण गरिएको हो । भूकम्पबाट पुनः क्षति पुगेको ती भागको भने प्रबलीकरण कार्य सुरु भइसकेको छ । शर्मा एन्ड न्यू टेक्निकल जेभीले करिब तीन महिनाअघि सुरु गरेको प्रबलीकरण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । त्यसका लागि २४ करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App