coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी दबाबमा जापानले तेल आयात रोक्ने

टोकियो – जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग ब्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्ध घोषणा गरेका थिए।

इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्ध आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ । जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भए पनि त्यो सम्भव नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

परिणामस्वरुप, जापानी तेल कम्पनी इरानी कच्चा तेलको आयात रोक्ने तयारीमा लागेका हुन् । उनीहरु बजारको मागलाई सम्बोधन गर्न नयाँ गन्तव्यको खोजीमा लागेका छन् । व्यापार मन्त्रालयका एकजना अधिकारीले इरानी तेल खरिद गर्नेबारे अमेरिकासँग छलफल गरेको तर कुनै प्रगति हुन नसकेको बताए । ‘हामीले सरकारको निर्णयको प्रतिक्षा गरेका थियौं, तर अहिल्यै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा हामी छैनौं,’ तेलको थोकबिक्रेता कम्पनी शोवा शेल सेकियूका प्रवक्ताले बताए।

जापानमा तेलको आयात मुख्यरुपमा मध्यपूर्वबाट हुने गरेको छ । गत वर्ष जापानको कूल आयातको ५.३ प्रतिशत कच्चा तेल इरानबाट आयात भएको थियो।

 

प्रकाशित: १९ भाद्र २०७५ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App