७ वैशाख २०८१ शुक्रबार
कला

जापानमा हाइकु सम्मेलन

काठमाडौं – चर्चित निबन्धकार शंकर लामिछानेबाट सुरु भएको नेपाली हाइकु परम्परालाई बिस्तार गर्दै आएको नेपाल हाइकु केन्द्रले जापानमा विश्व नेपाली हाइकु सम्मेलन गर्ने भएको छ । १५ वर्षअघि नेपालमा भएको उक्त सम्मेलन यसपटक हाइकुको जन्मस्थलमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी गराएका छन्।

सम्मेलनमा जापानका चर्चित हाइजिनले पनि नेपाली हाइजिनलाई साथ दिनेछन् । सम्मेलनमा भाग लिन नेपाल, युरोप, अमेरिका, अस्ट्रेलियामा नेपाली हाइकु लेखनमा सक्रिय कविहरूको उपस्थित हुने जनाइएको छ । कार्यक्रम जापानको राजधानी टोकियोमा हुने र त्यसको सम्पूर्ण तयारी भइसकेको जनाइएको छ। 

‘कायक्रमको सम्पूर्ण तयारी भइसकेको छ । नेपालसहित विश्वभरिका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्याक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले नागरिकसँग भने, ‘हाइकुको जन्मस्थल भएका नाताले यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु लेखकलाई जापानी हाइकु लेखकसँग अनुभव आदान प्रदान गर्न पनि सम्मेलन जापानमा गर्न लागिएको हो।’

कार्यक्रम नेपाल हाइकु केन्द्र र अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ । दुवै संस्थाको नेतृत्वमा रहेका कारण कार्यक्रमको संयोजकका रुपमा प्रकाश पौडेललाई तोकिएको पाडेँले जानकारी गराएका छन्। 

१३ वर्षदेखि जापानमा व्यवशाय गरिरहेका प्रकाश पौडेल नेपाली हाइकुका विकासकर्ता मानिन्छन् । उनी जापानी हाइनिज समूहमा प्रवेश पाउने पहिलो नेपाली हुन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ।

गैरआवासीय नेपाली संघको साहित्य फाँटका प्रमुख समेत रहेका पौडेल अन्तर्राष्ट्रिय साहित्य समाजमा प्रारम्भदेखि नै सक्रिय छन् ।  गएको महिना भएको अन्तर्राष्ट्रिय साहित्य समाजको बरिष्ठ उपाध्यक्षमा उनी निर्विरोध निर्वाचित भएका थिए । अन्तर्राष्ट्रिय साहित्य समाजमा विश्वभर छरिएर रहेका १ हजार २ सय भन्दा बढि सदस्यहरू सक्रिय छन्। 

प्रकाशित: १९ भाद्र २०७५ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App