coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अझै भएन स्थानान्तरण

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ हाकु ।    तस्बिरः हिमनाथ/नागरिक

रसुवा – भूकम्प गएको ३९ महिना बितिसकेको छ । भूकम्पका कारण असुरक्षित मानिएका क्षेत्रमा रहेका भूकम्पपीडित परिवारको अझै स्थानान्तरण हुन सकेको छैन । जिल्लामा अहिलेसम्म करिब ४३ प्रतिशत परिवारलाई मात्रै सुरक्षित स्थानमा सारिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जिल्लामा ८ सय ३६ परिवार पहिरोको उच्च जोखिममा छन् । तीमध्ये ३ सय ५७ परिवारको स्थानान्तरण भएको हो।

गोसाइँकुण्ड गाउँपालिकामा २० मध्ये १३ परिवार, कालिका गाउँपालिकामा २५ मध्ये १४ परिवार, नौकुण्ड गाउँपालिकामा एक सय २६ मध्ये १९, आमाछोदिङ्मो गाउँपालिकामा २ सय ७२ मध्ये १ सय २४ र उत्तरगया गाउँपालिकामा ४ सय ६३ मध्ये १ सय ८७ परिवारको स्थानान्तरण भएको छ।

जिल्लामा भिरालो जमिन रहेको र बस्ती स्थानान्तरणका लागि उपयुक्त जग्गा खोज्न कठिनाइ भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ।

भूकम्पपछि पहिरोको जोखिममा रहेका परिवारको स्थानान्तरण यो कार्यालयमार्फत् भइरहेको छ । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रसँगको सहकार्यमा जग्गा खोजी भइरहेको कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायले बताए । स्थानीय तहमा गठन भएका विपद् व्यवस्थापन समितिले जोखिमको नक्शांकन गर्नुका साथै विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । जोखिममा रहेका बस्ती पहिचान गरिएको भए पनि तत्काल स्थानान्तरणका लागि गाउँपालिकाहरूले प्रक्रिया अघि बढाएका छैनन्।

भूसंरक्षण तथा बनोट जटिल र कमजोर भएका कारणले जिल्लाको धेरै भाग पहिरोको जोखिममा रहेको देखिन्छ । विपद् जोखिम नक्शांकनअनुसार रसुवा जिल्ला बाढी, पहिरो, आगलागी तथा महामारीको जोखिममा छ । जिल्लाका पाँचवटै स्थानीय तहका विभिन्न क्षेत्र पहिरोको उच्च जोखिममा छन्।

जिल्लाको उत्तरगया गाउँपालिकाका तिरु, गोगने, सिरुचेत, मैलुङ, कटुन्जे, लयुङ र पहिरबेंसी क्षेत्र, गोसाइँकुण्ड गाउँपालिकाका दाहालफेदी, मेन्दो गाउँ, तार्सा, देश्या गाउँ, खोपाङभीर, लाङटाङ, मुन्डुप, सिन्धुम, लामा होटल र धुन्चेदेखि रसुवागढीसम्मका सडक क्षेत्र पहिरोको जोखिममा छन्।

कालिका गाउँपालिकाका गुम्चेत, प्राङसे र धोबी खोला क्षेत्र, नौकुण्डको साङ्गुल, बच्चा, दनुश्वारा, खाल्चेत र घोर्मु क्षेत्र तथा आमाछोदिङ्मो गाउँपालिकाका हाकुबेंसी, सानो हाकु, गोरसुङ्बा, पाजुङ र केराबारी क्षेत्र पहिरोको जोखिममा देखिन्छन् ।

प्रकाशित: १९ भाद्र २०७५ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App