coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

‘कञ्चनपुरमा फेरि आन्दोलन’

काठमाडौं – प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा वास्तविक दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भएमा पुनःआन्दोलन उठ्ने भएकाले सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले घटनाको प्रारम्भदेखि नै प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नभएको देखिएको बताउँदै प्रहरीले छानबिनमा ढिलाइ गरेको र घटनालाई ढाकछोप गरेको परिवार र स्थानीयको गुनासो रहेको बताए।

घटनाको स्थलगत अध्ययनपछि राजधानी फर्केका उनले घटना विवरणबारे संसद्मा जानकारी गराएका हुन् । कांग्रेसले घटनाको वास्तविकता बुझ्न भन्दै बडूसहित केही सांसदलाई घटनास्थलमा भदौ १० र ११ गते पठाएको थियो । उनले कञ्चनपुरबाट फर्केर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर घटनाबारे जानकारी गराएका छन्।

बडूले प्रहरीको छानबिन ढिलो र फितलो भएको र घटनालाई हलुका ढंगले लिने काम भएकाले परिवार र स्थानीय बासिन्दा असन्तुष्ट भएको बताए । पछिल्लो अनुसन्धान टोलीले दोषी जस्तोसुकै पहुँचवाला भए पनि नछुट्ने गरी र निर्दोष कोही पनि नपर्ने गरी काम गरोस् भन्दै स्थानीयले आनदोलन रोकेको र घटनाका सत्यतथ्य ढाकछोप भए पुनः आन्दोलनमा जाने चेतावनी अध्ययनक्रममा स्थानीयले दिएको उनले बताए । सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखलाई निलम्बन गरी उच्चस्तरीय छानबिन समिति गठन गरेपछि भदौ ५ र ९ मा बसेको सर्वपक्षीय भेलामा आन्दोलन रोक्ने सहमति बनेको थियो।

 

प्रकाशित: १९ भाद्र २०७५ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App