coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भिआइपीको भ्रमणले लुम्बिनीमा उत्साह

लुम्बिनी – लुम्बनीमा विभिन्न देशका विशिष्ट पाहुनाले भ्रमण गरेपछि पर्यटकीय हिसाबले उत्साह थपिएको छ । पछिल्लो समयमा यसै साता श्रीलंकाली राष्ट्रप्रमुख मैत्रीपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्ट बिम्स्टेक सम्मेलनका लागि काठमाडौं आएका बेला लुम्बिनी भ्रमण गरेका थिए।

भ्रमणटोलीमा ती देशका उच्चस्तरीय सरकारी आधिकारी तथा मिडिया पनि सहभागी थिए । दुवै देशका राष्ट्र प्रमुखले बुद्ध जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले आफ्ना देशका नागरिकले जीवनकालमा एकपटक लुम्बिनी आउन चाहेको धारणा व्यक्त गरे।

यसअघि गत फागुनमा भुटानका एकजना राजकुमारीसहित राजघरानाका १५ सदस्यीय टोली लुम्बिनी आएको थियो । टोली कपिलवस्तुको तिलौराकोट पुगेर फर्किएको थियो । गत फागुनमा स्पेनको म्याड्रिड सहरका उपमेयर लुइस कार्लोस क्युटो पाँच सदस्यीय टोलीसहित लुम्बिनी आए । शान्ति प्रिय लाग्नेका लागि लुम्बिनी विश्वकै उत्कृष्ट ध्यान केन्द्र बन्न सक्ने धारणा मड्रिडका उपमेयर लुइसले राखेको कोषका पदाधिकारी बताउँछन्।

भियतनामको उच्च अदालातका मुख्य न्यायाधीश ग्वुएन अन तानसहित अन्य दुई न्यायधीश र राजदूतसहितको टोलीले पनि गत पुसमा लुम्बिनीको भ्रमण गरेको थियो । जेठ दोस्रो साता थाइल्याणको जनरल आर्मीको उच्च पदस्थ अधिकारी सहितको एक टोली लुम्बिनी आएको थियो भने कोरियाका धार्मिक मामिला तथा संस्कृतिमन्त्री जाङ् सुप सिमको टोलीले पुष अन्तिम साता लुम्बिनीको भ्रमण गरेको थियो।

चार–पाँच वर्षअघि सम्म लुम्बिनीमै आयोजना हुने विशेष कार्यक्रममा भाग लिनेबाहेक विदेशी राष्ट्रका उच्च पदस्थ अधिकारीको आगमन बिरलै हुन्थ्यो । तर केही वर्षयता लुम्बिनीमा विदेशी राष्ट्र प्रमुख कूटनीतिज्ञ तथा उच्चपदस्थ व्यक्तिको आगमन बढेको छ । विशिष्ट व्यक्तिहरूका ती भ्रमणले लुम्बिनीमा उत्साह थपिएको छ।

लुम्विनी विकास कोषका अनुसार पछिल्लो एक वर्षको अवधिमा विदेशी राष्ट्रका मन्त्री, राजपरिवार, उच्च पदस्थ अधिकारी, न्यायालयका सर्वोच्च व्यक्ति, कूटनीतिज्ञ, अर्थविद् तथा सुरक्षा अंगका प्रमुखसहितको दजर्नभन्दा बढी टोली लुम्बिनी आएको छ । लुम्बिनी भ्रमणमा आएका विशिष्ट पाहुनाले मायादेवी मन्दिरको अवलोकन गरी ध्यानमा सरिक हुने गरेको कोषले जनाएको छ । उच्चस्तरीय भ्रमण टोलीका पाहुनाले लुम्बिनीमा अलौकिक शान्तिको महसुस गरेको प्रतिक्रिया दिने गरेको कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बताए।

सभा सम्मेलन तथा कुटनीतिक कामकालागि नेपाल आउने विशिष्ट व्यक्तिको लुम्बिनी भ्रमणले तत्काल ठुलै आर्थिक लाभ वा उपलब्धि नदेखिए पनि पर्यटन प्रबद्र्धनमा दिर्घकालीन महत्व राख्ने बताउँछन् कोषका योजना प्रमुख सरोज भट्टराई । विशिष्ट व्यक्तिको भ्रमणमा ती राष्ट्रका सञ्चारमाध्यम सँगै हुने भएकाले अन्तराष्ट्रिय जगतमा लुम्बिनीको प्रचारमा टेवा पुग्ने योजना प्रमुख भट्टराईले बताए । आफ्नो मुलुकका राष्ट्र प्रमुख पुगेको स्थानमा पुग्ने रहर सबैमा हुने भएकाले विशिष्ट व्यक्तिको आगमनपछि ती देशका पर्यटक संख्या बढेको कोषका सूचना अधिकारी राइले बताए ।

गुणस्तरीय पर्यटक भित्र्याउन बढी जोड दिनुपर्ने सवाल उठिरहेका बेला लुम्बिनीमा भइरहेको पर्यटक आगमनको क्रमले निजी क्षेत्र उत्साही भएको बताउँछन पर्यटन व्यवसायी मिथुनमान श्रेष्ठ । ‘जुन जुन देशका राष्ट्र प्रमुख वा भिआइपीको आगमन भएको छ , ती राष्ट्रका उच्च घरानाका पर्यटक आउने क्रम केही बढेको छ,’ सिद्धार्थ होटल व्यवसायी संघ लुम्बिनी च्याप्टरका अध्यक्ष श्रेष्ठले भने।

विशिष्ट व्यक्तिको भ्रमणले स्वदेशी पर्यटकको संख्या वृद्धि गर्नसमेत मद्दत पुग्ने बताउँछन् होटल बुद्धमाया गार्डेन लुम्बिनीका म्यानेजर जोनाथन मेन्डिज । ‘विदेशी विशिष्ट व्यक्ति श्रद्धाले लुम्बिनी पुग्दा हामी किन नजाने ? यसपाली लुम्बिनी जाँउ एक–दुइ रात बिताउँ भनेर घुम्न आउने नेपाली पाहुना पनि थुप्रै हुनुहुन्छ,’ मेण्डिजले भने । पछिल्लो समय विशेषगरी भारत र नेपालकै पनि ठूला उद्योगी, व्यवसायी, उच्च घराना तथा उच्च अधिकारीको पारिवारिक भ्रमण बढेको म्यानेजर मेन्डिजले बताए । पर्यटकको आकर्षण बढे पनि लुम्बिनीमा उनीहरूको बसाइँ भने निकै छोटो हुँदा निजी क्षेत्रले सोचेजस्तो लाभ भने लिन नसकेको होटल व्यवसायी श्रेष्ठको भनाइ छ।

लुम्बिनीमा आन्तरिक तथा बाह्य गरी वार्षिक ८ लाख पर्यटक आउँछन् । १६ वर्षअघि सन २००२ मा ९ हजार विदेशी आएको लुम्बिनीमा आएका थियो । पछिल्लो एक वर्षमा डेढ लाखभन्दा बढी विदेशी लुम्बिनी आएका छन् । लुम्बिनी आउने भारतीयको सख्या पनि डेढलाख कै हाराहारीमा छ । वार्षिक साढे ५ लाखको हाराहारीमा स्वदेशी पर्यटक लुम्बिनी आउँछन् । पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रमा लगानी पनि बढेको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App