६ वैशाख २०८१ बिहीबार
खेल

पदकविजेता टोलीलाई राखेपको सम्मान

एसियाली खेलकुदमा प्याराग्लाइडिङबाट रजत पदक प्राप्त गर्ने खेलाडीलाई सोमबार सम्मान गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनार ।    तस्बिरः दिनेश गोले/नागरिक

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपाललाई एक मात्र पदक रजत पदक दिलाउन सफल पाराग्लाइडिङ टोलीलाई नगदसहित सम्मान गरेको छ। 

विजेता खेलाडीले नगद ५ लाख रुपैयाँ, प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षकले १ लाख ५० हजार र प्याराग्लाडिङ संघले नगद ६ लाख रुपैयाँ प्राप्त गरे।

एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङलाई पहिलो पटक सहभागिता गराएको हो । पहिलो सहभागितामै पाराग्लाइडिङ टोलीले क्रसकन्ट्रीमा रजत पदक जित्न सफल भएको हो । एसियाली खेलकुदमा नेपालले टिम इभेन्ट्समा पदक जितेको यो पहिलो हो । प्याराग्लाडिङ टोलीमा विमल अधिकारी (कप्तान), विशाल थापा, सुशील गुरुङ, विजय गौतम तथा युकेश गुरुङ रहेका छन्।

खेलाडीहरूलाई बग्गीमा राखेर बाजागाजासहित राखेप त्रिपुरेश्वरबाट न्युरोड गेट, रत्नपार्क हुंँदै राष्ट्रिय सभागृह लगिएको थियो।

युवा तथा खेलकुदमन्त्री सुनारले एसियाली खेलकुदमा अपेक्षाकृत सफलता हात पार्न नसकेको र एक रजत पदकमै चित्त बुझाउनुपरेको भन्दै त्यसको समीक्षा गर्ने बताए । खेलकुदको हालको तयारी र पूर्वाधारमा खासै ठूलो उपलब्धि अपेक्षा नगरेको भन्दै जुन खेलबाट मेडलको आशा गरिएको थियो त्यसबाट विमुख हुनुपरेको बताए । पूर्वाधार र पर्याप्त लगानी नै उपलब्धिको आधार भएको मन्त्री सुनारले बताए। 

पाराग्लाइडिङमा राज्यको लगानी नभएको भन्ने गुनासोप्रति स्पष्ट पार्दै मन्त्री सुनारले मन्त्रालयको ध्यान यस खेलतर्फ गइसकेको बताए । खेलाडीहरूले जुन किसिमको उचित वातावरण प्राप्त गर्नुपर्ने हो त्यो उपलब्ध हुन नसकेको बताए । हाम्रो जस्तो विकसित देशलाई विश्वसामु चिनाउने एक मात्र माध्यम खेलकुद क्षेत्र भएको बताए।

प्रकाशित: १९ भाद्र २०७५ ००:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App