८ वैशाख २०८१ शनिबार
अर्थ

माथिल्लो चाकु खोला–ए अन्तिम चरणमा

सिन्धुपाल्चोक - जिल्लाको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु खोला–ए जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। सबैभन्दा जटिल संरचना सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएसँगै अन्तिम चरणमा पुगेको आयोजनाले आगामी कात्तिक भित्र उत्पादन थाल्ने तयारी समेत अघि बढाएको छ।

उत्तरी सीमावर्ती फूल्पिङकट्टी र मार्मिङमा निर्माणाधीन आयोजनाको २ हजार ९ सय मिटर लामो सुरुङ आइतबार ‘ब्रेक थ्रु’ भएको थियो। ‘निर्माण चरणमा पटक–पटक प्राकृतिक प्रकोपको चपेटामा पर्दै सुरुङ ‘ब्रेक थ्रु’ गर्न सक्नुलाई आयोजनाले ठूलो उपलब्धिको रुपमा लिएको छ,’ आयोजना निर्माणमा अगुवाइ गरिरहेको शिवश्री हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष उमेश कसजूले भने। 

अरनिको राजमार्ग लामो समय अवरुद्ध भइ निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आयोजना तीन वर्ष पछाडि धकेलिएर सम्पन्न हुने चरणमा पुगेको हो। २०७२ कात्तिकबाट उत्पादन थाल्ने आयोजनाको लक्ष्य थियो। तर त्यस अगावै वैशाख १२ को विनासकारी भूकम्पले झण्डै ९० प्रतिशत काम सम्पन्न भएको आयोजनामा नराम्ररी क्षति पुर्‍याएको थियो। २०७१ साउनको जुरे पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा आयोजनाको काम तीन महिनाभन्दा बढी समय रोकिएको थियो।२०७३ को भोटेकोसी बाढी, २०७४ मा लार्चापूलमा भएको क्षति तथा  राजमार्गमा आएको पहिरो र २०७५ मा खोर्सानीबारीको पुल बगाएको घटनाले आयोजना निर्माणमा लगातार बाधा पुगेकाे कसजूले बताए।

सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा बिभिन्न १२ वटा बैंक तथा वित्तिय संस्थाको ७० प्रतिशत ऋण तथा निजी लगानीकर्ताहरुको ३० प्रतिशत स्वपूँजीमा २०६९ श्रावण ३० बाट आयोजना निर्माण थालिएको थियो। आयोजनाको ४६ मिटर भर्टिकल टनेल, २२ सय ३ मिटर इन्क्लाईनेड टनेल, ८६ मिटर पेनस्टक टनेल तथा ९ सय ५० मिटर टनेल निर्माण भूकम्प अघि नै सकिएको थियो।

इनलेट टनेलबाट अडिटसम्मको करिव १ हजार ५ सय ५० मिटर सुरुड निर्माण हुँदाहुँदै भूकम्प आएपछि यो काम रोकिएको थियो। रोकिएको भागको निर्माण पूरा गरेपछि सुरुङ ब्रेक थ्रु भएको हो। ‘जटिल संरचना मानिएको सुरुङमार्ग ब्रेक थ्रु भएकाले आउँदो कात्तिकदेखि उत्पादनमा जाने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिएका छौँ,’ जलविद्युत प्रवर्धक समेत रहेका कसजूले बताए।

शिवश्रीका अनुसार आयोजनाको सिभिल संरचनाको निर्माण छ्योरोल्पा कन्स्ट्रक्सन प्रालि, जियोटेक पविता जेभी, कमला कन्स्ट्रक्सन, एसके निर्माण सेवा प्रालिद्वारा भइरहेको छ। त्यस्तै गेट्स, हेडरेस तथा पेनस्टक पाइपको जडान बेस स्ट्रकचर प्रालि, क्रिम हाइडेल प्रालि नेपाल तथा सिबिएम इन्जिनियरिङ वर्क्स यमुनानगर भारतले संयुक्त रुपमा गरिरहेका छन्।

उत्पादित बिद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आयोजनाले प्रशारण लाइनको समेत काम गरिरहेको छ। १ सय ३२ केभि क्षमताको २२ किमी लम्बाईको लामोसाँघु सवस्टेशन सम्मको प्रसारण लाइनको निर्माण उर्जा इन्टरनेशनल प्रालिले गरिरहेको छ।

आयोजनाको निर्माण लागत प्रतिमेगावाट करिव १८ करोड रुपैयाँ पुग्ने शिवश्रीका कार्यकारी अध्यक्ष कसजूले जानकारी दिए। आयोजना र विद्युत प्राधिकरणबीच २०६७ मा विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। आयोजनाले वार्षिक करिव ५९ करोड रुपैयाँ बराबरको विद्युत प्राधिकरणलाई बिक्री गर्ने अनुमान गरेको छ। आयोजनाले छिट्टै स्थानीयवासीका लागि १० तथा सर्वसाधारणका लागि १५ गरी २५ प्रतिशत शेयर जारी गर्ने प्रक्रिया सुरु गरेको कार्यकारी अध्यक्ष कसजूले बताए। 

प्रकाशित: १८ भाद्र २०७५ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App